बागलुङ/रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परेर बेपत्ता हुने बागलुङेहरुको सूचि बढ्दै गएको छ । बुधबारसम्म पश्चिम बागलुङमा पर्ने तमानखोला ९ र ढोरपाटन नगरपालिकाका १ गरी १० जना बेपत्ता भएको खबरहरु प्राप्त भएका थिए ।
जिल्ला प्रहरी कार्यालय बागलुङले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार, भोटेकोशी बाढीमा परेर बेपत्ता हुने बागलुङेहरुको सूचि बढेर १६ जना पुगिसकेको छ । प्रहरीले सूचना जारी गर्दै बेपत्ताहरुको बारेमा जानकारी दिन सर्वसाधारणलाई आग्रह गरेको थियो ।
रोजगार, व्यापार तथा अन्य कामका सिलसिलामा रसुवा र नुवाकोट गएका बागलुङका १६ जना व्यक्तिसँग सम्पर्क विच्छेद भएको प्रहरीले जनाएको छ । प्रहरी नायव उपरिक्षक रामेश्वर त्वातीका अनुसार, बेपत्ता हुनेहरुमा २ बालबालिका, एक महिला र १३ पुरुष छन् ।
‘‘बेपत्ताहरूको सम्बन्धित स्थानमा समन्वय गरी खोजतलास कार्य भइरहेको छ’’ त्वातीले भने, ‘‘बेपत्तामध्ये १२ जना रसुवामा र ४ जना नुवाकोट क्षेत्रमा हुनुहुन्छ ।’’
बेपत्ता हुनेहरुमा तमानखोला गाउँपालिकाका वडा नं. १ बोङ्गादोभान हिजाका ३७ वर्षिय पदमबहादुर घर्तीमगर, सोही ठाउँका ३२ वर्षिया इन्द्रकुमार बिक, रिक्लाङ्कका २२ वर्षिय विष्णु घर्तीमगर, यस्तै वडा नं. २ बोंगाखानीका ३७ वर्षिय भिमबहादुर छन्त्याल, ५२ वर्षिय खड्ग छन्त्याल, वडा नं. ३ तमानका २२ वर्षिय संजय शिर्पाली, ५० वर्षिय दलप्रसाद बुढा, वडा नं. ४ लाम्मेलाका ५८ वर्षिय लाता कामी र ४७ वर्षिय भिमबहादुर बिक छन् ।
बेपत्ता ९ जना नै अपर त्रिशुली जलविद्युत हाइड्रोपावरको ड्याम साइड हाकुवेशीमा कार्यरत रहेको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले जानकारी दिए ।
बाढीमा परेर पश्चिम बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ९ बोबाङका २० वर्षिय तुलबहादुर बिक बेपत्ता छन् । बिकले भने ५ वर्षदेखि रसुवाको स्याप्रुबेसी बजारस्थित एक होटलमा काम गर्दै आएको परिवारका सदस्यले बताएका छन् । यस्तै ढोरपाटन–४ सिमिकाका २३ वर्षिय विजेन्द्र घर्ति र गलकोट नगरपालिका वडा नं. २ नरेठाँटीका २७ वर्षिय रमेश सुनार पनि बाढीमा बेपत्ता भएको त्वातीले जानकारी दिए ।
नुवाकोट क्षेत्रको बाढीमा परेर बागलुङ नगरपालिका वडा नं. ९ तित्याङको साल्बोटको एकै परिवारका ४ जना बेपत्ता छन् । प्रहरीका अनुसार, ३३ वर्षिय इन्जिनियर राजेश शर्मा पौडेल, उनकी ३१ वर्षिय श्रीमती इन्जिनियर प्रमिला पाठक, उनीहरुका ५ वर्षिय जुम्ल्याहा छोराछोरी आदित्य र अदिती शर्मा पौडेल बाढी परेर बेपत्ता छन् ।





