बागलुङ÷बागलुङका युवाहरुले कला र संस्कृतिको जगेर्नासँगै नृत्य प्रशिक्षणका लागि ताण्डव डान्स एकेडेमी खुलाएका छन् । यहाँका साजन नेपाली र साहिल नेपालीको प्रयासमा उक्त एकेडेमी सञ्चालनमा आएको हो ।
आइतबार एक कार्यक्रमका बीच जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले एकेडेमीको उद्घाटन गरे । उनले यो एकेडेमीले नृत्य प्रशिक्षण केन्द्र मात्र नभइ उत्कृष्ट कला र संस्कृति जगेर्ना गर्ने केन्द्र बन्ने पनि बताए । शर्माले महादेवको ताण्डव नृत्यको उल्लेख गर्दै शिवको जस्तो शक्ति प्राप्त गर्न पनि युवालाई प्रेरणा मिल्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा ‘अबिरल’, युवा नेता विशोष पराजुली, प्रेम थापा, सुशिल काउचालगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रम एकेडेमी सञ्चालक साजन नेपालीको अध्यक्षता, सुनिल बिजीको सञ्चालन र पत्रकार दिलिप प्रतेलको स्वागतमा सम्पन्न भएको थियो । व्यवसायिक कार्य भएपनि यो सांस्कृतिक क्षेत्रको सम्मान गर्ने संस्था भएको, कला र नृत्यको व्यवसायिक एकेडेमी सञ्चालन गरेर जिविकोपार्जन गर्न सकिन्छ भन्ने उदाहरण दिन लागेको सञ्चालकले बताए ।





