आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

प्रेन्सा रेग्मीलाई सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार

प्रेन्सा रेग्मीलाई सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार


  • Dhorpatan News
  • कार्तिक २२ २०८३, आइतबार

पोखरा बाल सामाजिक अभियन्ता प्रेन्सा रेग्मीलाई सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार प्रदान गरिएको छ ।

पचास हजार रुपैयाँ नगद राशि तथा सम्मानपत्रसहित शनिबार पोखरामा आयोजित समारोहमा पोखरा महानगरका प्रमुख धनराज आचार्य, अग्रज साहित्यकार सरुभक्त र पशुपति क्षेत्र विकास समितिका सदस्य सचिव तीर्थ श्रेष्ठले रेग्मीलाई सो पुरस्कार प्रदान गरे ।

वि. सं. २०६९ साल फागुन ६ गते म्याग्दी जिल्लाको मङ्गला गाउँपालिका नम्बर ७ मा जन्मिएकी रेग्मी हाल कक्षा ९ मा पढ्छिन् । सानै उमेरदेखि सामाजिक सेवामा सक्रिय उनले समुदायका विभिन्न समस्या समाधानका लागि प्रयास गर्दै आएकी छन् ।

कोभिड–१९ महामारीका बेला मास्क तथा सेनिटाइजर वितरण, विपन्न परिवारका लागि खाद्यान्न व्यवस्थापन र कपडा उपलब्ध गराउनेलगायतका मानवीय कार्य उनले गरेकी थिइन् । । लुगा बैङ्क स्थापना गरी विपन्न बालबालिकालाई सहयोग गर्ने, शैक्षिक सामग्री वितरण गर्ने र बालिका तथा महिलामाथि हुने हिंसाविरुद्ध आवाज उठाउने काममा पनि उनी सक्रिय छिन् ।

१६ वर्ष मुनिका बालप्रतिभालाई प्रदान गरिने यो पुरस्कार २०५७ सालमा स्थापित भएको हो । यसअघि यो पुरस्कार तेम्बाछिरी शेर्पा, ज्योति थापा, ऋतु लामा, शिखा कटुवाल, करुणा गुरुङ, सिपोरा गुरुङ, कुशल केसी, निमा छ्याङदी शेर्पा र सुप्रिम मल्ल ठकुरी पुरस्कृत भइसकेका छन् ।

कार्यक्रममा नगर प्रमुख आचार्यले बालबालिकालाई आफ्नो इच्छा अनुसार काम गर्न दिनुपर्ने भनाइ राखे । साहित्यकार सरुभक्तले अन्य क्षेत्रमा प्रशस्त पुरस्कार भए पनि बालबालिकाका क्षेत्रमा कम भएकै कारण केन्द्रले यो थालनी गरेको उल्लेख गरे ।

सरुभक्त केन्द्रका अध्यक्ष महेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पशुपति विकास कोषका सदस्य सचिव तीर्थ श्रेष्ठ, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्राडा कुसुमाकर न्यौपाने, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति सरस्वती प्रतीक्षा, पुरस्कार छनोट समिति संयोजक डा ईश्वरमणि अधिकारी, उपेन्द्र पौडेललगायतले बोलेका थिए ।्

सम्मानित व्यक्तित्व रेग्मीले परिवर्तनका लागि उमेर, पद वा ठूलो सम्पत्तिभन्दा पनि इच्छाशक्ति जरुरी हुनेमा जोड दिइन् । रेग्मीले भनिन्, æहामीले समाजमा विद्यमान धेरै चुनौती देखिरहेका छौं । सहयोगको वास्तविक अर्थ कसैलाई आफ्नो छायाँमा राख्नु होइन, प्रत्येकलाई आफ्नो खुट्टामा आफैँ उभिन दिन सक्ने अवसर प्रदान गर्नु हो ।Æ

पुरस्कारले आगामी दिनमा बालअधिकार, महिला अधिकार र हिंसामुक्त समाज निर्माणका लागि अझै जिम्मेवार भएर लाग्ने प्रेरणा थपेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->