बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

डोको बुनेर छाक टार्दै दृष्टिविहिन खिमप्रसाद

डोको बुनेर छाक टार्दै दृष्टिविहिन खिमप्रसाद


  • ध्रुबसागर शर्मा
  • चैत्र १० २०७५, आइतबार

म्याग्दी, १० चैत –दुःखीको घरमा मात्र तेरो वास हुने भए,

                      हे ईश्वर दया राखी मलाई अझ दुःख दे ।। यो कविताको हरफसंग ठ्याक्कै मेल खान्छ रघुगंगा गाउँपालिका वडा नं ६ ठाडाखानीका जन्मजात दृष्टिविहिन खिमप्रसाद छन्त्यालको जीवन ।
नजन्मदै आँखाको दृष्टि गुमाएका छन्त्यालले जन्मेपछि सानै उमेरमा बुबाआमा पनि गुमाउनुभयो । बाबुआमाको मृत्युपछि रोजगारीको खोजीमा भारत पसेका दाजु पनि उतै बेपत्ता भए । एउटी बहिनी थिइन् ती पनि दृष्टिविहिन । दिदीले गाउँकै युवकसंग विवाह गरेपछि घरमा दुई दृष्टिविहीन दाजु बहिनीमात्र ।
समयसंगै निकै परिवर्तनहरु भए । कति शिशिर आए गए । तर, खिमप्रसादको जीवनमा कहिल्यै वसन्त आएन । खुसीको स्वाद कस्तो हुन्छ छन्त्यालले कहिल्यै अनुभव गर्न पाएनन् । करिब ५५ वर्षिय खिमप्रसाद छन्त्यालले दुई दशक अघिदेखि जीवन गुजार्नको लागि बाँसको चोयाँलाई रोजे र डोको बुन्न थाले । चोँयालाई बटार्दै र मिलाउँदै डोको बुन्ने गरेका छन्त्यालले जीवन पनि चोयासंगै चिरिदै र भाटासंग मिसिदै रित्तो डोको जस्तै बनेको छ ।
जिल्लाको विकट क्षेत्रमा पर्ने ठाडाखानीमा दृष्टिविहिन भएकै कारण बाच्ने आधार केही नभएपछि उनले जीवनलाई सधैका लागि विश्राम दिने प्रयास पनि नगरेका होइनन् । गाउँमै विवाह गरेकी दिदी, आफन्तको सहयोगमा विहानबेलुकी छाक टार्ने गरेका छन्त्यालले सधै मागेर गुजारा चलाउनुपर्ने अवस्थालाई अन्त्य गर्न आफ्नै हातको सीपलाई खर्चिएर डोको बुनेर गुजारा चलाउँदै आएका छन् ।
हातको साहराले डोको बुन्ने गरेका छन् । आफन्तको सहयोगमा आवश्यक साम्रागी जुटाएपछि छन्त्यालले बुनेको डोकोालाई स्थानीयले समेत खदिर गर्ने गरेका छन् । ‘घरमा एक्लै छन्,गाउँमा धेरै दुख पाउनेमा उनका नाम अगाडी आउँछ’ वडा सदस्य टेकजीत छन्त्यालले भन्नुभयोे ।
सदस्य छन्त्यालका अनुसार घरमै सहयोग गर्ने सदस्य नहुदाँ विवाह गरेर गएकी दिदी, आफन्त र गाउँलेको सहयोगमा दिन विताउनुपरेको छ । ‘गाउँमा अभावको अर्को नाममै खिमप्रसाद हो’ छन्त्यालले भन्नुभयो ‘कतैबाट आर्थिक सहयोग भए उनलाई जीवन चलाउन निकै सहज हुने थियो ।’
वडाबाट समान्य सहयोग गर्न सकिने भएपनि गाउँमा आर्थिक अवस्था कमजोर भएका धेरै भएकाले आगामी बजेटमा प्रस्ताव गर्ने सदस्य छन्त्यालले बताउनुभयो । बिहानबेलुकी हातमुख जोड्न, लत्ताकपडा सहित औषधी उपचारका लागि सहयोगको आवश्यकता रहेको उहाँको भनाइ छ ।
सम्पत्तीको नाममा सानो घर, केही जग्गाजमिन रहेपनि दृष्टिविहिन भएकै कारण प्रयोग गर्न तथा ज्यालामजदुरी गर्न नसक्ने भएकाले डोको बुन्न थालेको छन्त्यालले बताउनुभयो । ‘दुईहातले छामछुम गरेरै भएपनि सकेसम्म डोको बुन्छु, धेरै पीडा हुदाँ समेत आँसु आउँदैन्, भएको आँसु बगेर गइसक्यो’ दृष्टिविहिन छन्त्यालले भन्नुभयो ।
बाँच्ने आधारनै यही डोको बुन्ने पेशा भएकोले नमरुन्जेलसम्म हातले डोको बुन्ने उहाँको भनाइ थियो । डोको सहित आवश्यक साम्रागी बनाउन बाँसको चोया काट्ने क्रममा धेरैपटक हसिँयाले हातमा चोट लागेपनि त्यसको वास्ता नगरी डोको बुनिरहेको उहाँले बताउनुभयो । छन्त्यालले बुनेका डोका गाउँमा नै खपत हुने गरेका छन् ।
म्याग्दीका ग्रामिण क्षेत्रमा दृष्टिविहिन भएकै कारण न्यूनतम आवश्यकताबाट समेत बन्चित भएकालाई स्थानीय जनप्रतिनिधि तथा निकायबाट समेत सहयोग हुने गरेको छैन् । दृष्टिविहिनले हातमुख जोड्न गिटी कुट्ने लगाएत जटिल काम समेत गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->