म्याग्दी २८ बैशाख – धेरैजसो मानिसले बुढ्यौलीलाई अभिशाप ठान्छन् । सक्रिय जीवन विताउन चाहदैनन् । ६० वर्ष काटेपछि अब मैले के गर्न सक्छु र ? भन्ने हिनताबोधले ग्रसित भएर छोराछोरी र परिवारको भर पर्छन् । तर म्याग्दीका ७० वर्षिय एक वृद्धले छोराछोरी र आफन्तहरुको कुनै आस नगरी तीन हजारको लगानीबाट शुरु गरेको व्यावसायले अहिले मासिक रु ७५ हजार भन्दा बढि कमाएर दुनियाँलाई दङ्ग पारिदिएका छन् ।
विहान उज्यालो भएदेखि राती १० बजेसम्म चनाचटपटे बनाउन भ्याइ नभ्याई हुन्छ म्याग्दीका ७० वर्षिय लालबहादुर पुर्जा र उनकी श्रीमती ६५ वर्षिया लिलामति पुर्जालाई ।
बेनी बजारको मंगलाघाटमा २०६७ सालदेखि चनाचटेपटेको व्यावसाय शुरु गरेका पुर्जा दम्पतिले चनाचटपटेसंगै कुखुराको टाउको र खुट्टा फ्राइ गरेर विक्री गर्दै आएका छन। अमिलो,पिरो र स्वादिलो चनाचटपटेसंगै कुखुराको टाउको र खुट्टाको परिकार बेचेर नै मासिक रुपमा रु ७५ हजार भन्दा बढी कमाइ हुने बताउने पुर्जा दम्पत्तिको संसार अनि सम्पत्ति दुवै बनेको छ चटपटे व्यावसाय ।
‘मैले जिन्दगीमा खानुसम्मको हण्डर खाएँ,केही सीप नलागेर आत्महत्या गर्ने सम्मको विचार गरें’ आफ्नो अतितलाई सम्झदै सफलताको कुटुरो फुकाउन शुरु गरे हसिँँला र रसिला पुर्जाले । आफ्नो विगतको विरसिला कुराहरु सुनाइरहँदा पुर्जाकी श्रीमती लिलामति आडैमा बसेर आँसु पुछिरहेकी थिइन ।
१७ वर्षको उमेरमा आफ्नो गाउँ म्याग्दीको कुहूँ थाइबाङबाट गरिबीका कारण लखेटिएर भारतका विभिन्न शहरहरुमा चौकीदारी र मजदुरी गर्दा पनि परिवार पाल्न नसकेपछि आत्महत्या गर्ने मनस्थितिमा पुगेकाका पुर्जाको जीवन अहिले रहरलाग्दो बनेको छ ।
परिवार पाल्न पुग्ने कमाइ नभएपछि नेपाल फर्केका पुर्जाले बेनी बजारकै एउटा निजी विद्यालयमा गेटपालेको काम गर्दागर्दै त्यहाँबाट पनि सन्तुष्ट हुन नसकेपछि शुरु गरेका हुन चनाचटपटे व्यावसाय ।
‘मैले वोर्डिङका संचालकलाई ५ सय रुपैयाँ तलब बढाइदिन भनें ’ चनाचटपटे व्यावसाय शुरु गर्दाका दिनहरु सम्झदै पुर्जाले भने ‘बोर्डिङ संचालकले नबढाइदिए पछि त्यसैको झोकमा आफन्तसंग ३ हजार रुपैयाँ सापटी लिएर यो व्यावसाय शुरु गरेको हुँ ।’ यसरी ३ हजार रुपैयाँबाट शुरु गरेको व्यावसायले अहिले मासिक रु ७५ हजार भन्दा बढि कमाइ गर्न सफल भएका छन पुर्जा ।
पुर्जालाई उनका ग्राहाकहरुले ‘चटपटे बाजे’ भनेर सम्बोधन गर्छन् ।
‘बाजे नमस्कार’ भन्दै पसलमा आउने ग्राहाकहरुलाई नमस्कार फर्काउदै चनाचटपटे बनाउन व्यस्त हुन्छन पुर्जा ।श्रीमती लिलामति कुखुराको टाउको र खुट्टा फ्राइ गर्न थाल्छिन । ग्राहाकलाई देख्ने वित्तिकै उनीहरुलाई के चाहिन्छ भन्ने कुरा बुझिसक्के पुर्जाले फटाफट चटपटे बनाएर प्लेटमा राखिदिदै पैसा उठाउन थाल्छन । मुख र हात संगसंगै चलाउने पुर्जाका कुरा सुन्दै हास्दै ग्राहाकहरुले खानथाल्छन् स्वादिलो चटपटे र कुखुराको परिकार ।
म्ांगलाघाटमा एउटा घरको सटर भाडामा लिएर पुर्जाले चना चटपटेको पसल चलाएका छन। मासिक रुपमा रु ३ हजार भाडा तिरेर संचालन गरेको सो पसलमा विहानदेखि राती १० बजेसम्म ग्राहाकहरुको भीड लाग्छ । वस्ने ठाउँ भरिएपछि कतिपय ग्राहाकहरुले उठीउठी नै खाने गर्छन भने आधा घण्टासम्म पालो कुर्नुपर्छ ।
चनाचटपटे किन्नका लागि आधा घण्टाभन्दा बढि प्रतिक्षा गरिरहेकी जमुना श्रीषले यहाँको जत्तिको स्वादिलो अरु कुनै ठाउँको पनि नहुने भएकाले पालो कुरेर बसेको बताइन । पुर्जाले आलु,प्याज,धनियाँ, कागती,खुर्जानी,भुजा,पेस्ता र बदाम मिलाएर चटपटे बनाउने गर्छन। अरु ठाउँको भन्दा बेग्लै स्वाद र धेरै पनि पाइने भएकोले यहाँ दिनुहँ ग्राहाकहरुको भीड लाग्ने स्थानीय धनु वानियाँले बताए।
पुर्जाले रु २० देखि १ सय ५० सम्मको प्रतिप्लेट चटपटे बेच्छन । सामान्य चटपटे प्रतिप्लेट रु २० मा पाइन्छ भने कुखुराको खुट्टा र टाउको संगैको चटपटेलाई १ सय ५० रुपैयाँ लिने गर्छन ।
१० वर्ष अघि बिहान खाए साँझ के खाउँ भन्ने अवस्थाका पूर्जा यो १० वर्षको अवधिमा चनाचटपटे बेचेरनै लाखौं सम्पत्तिको मालिक बनेका छन । ४ तोला सुनका औंठी र सिक्री झल्काउँदै फटापट चटपटे बनाउने पुर्जाको कमाइ देखेर कतिपय मानिसहरु हेरको हे¥यौ हुने गर्छन् । बेनीका वैंक तथा वित्तिय संस्थाहरुमा वचत गर्नुका साथै सारो गाह्रो परेकाहरुलाई आर्थिक सहयोग समेत गर्दैै आएका छन।
तीन छोरा र दुई छोरीका बुबा पुर्जाले कहिल्यै पनि छोराछोरीको आश नगरेको बताए । उनले भने ‘हातखुट्टा चलुन्जेलसम्म यही व्यावसाय गर्छु,मलाई यसैमा मस्ती छ ।’





