नेपालका पहाडी तथा दुर्गम हिमाली क्षेत्रमा हेलिकप्टर आफैंमा आशाको प्रतीक बन्ने गर्छ। हेलिकप्टर उडिरहेको देख्नेबित्तिकै धेरैलाई लाग्छ- कतै आपत त परेन ? यस्तै दुर्घटनामा परेका मानिसहरुको उद्धार गर्न नेपाली आकाशमा उडान भर्दै आएकी महिला हेलिकप्टर पाइलट हुन् प्रिया अधिकारी।
पितृसत्तात्मक समाजमा महिला हेलिकप्टर पाइलट कहाँ हुन सक्छ भन्नेका लागि एक उदाहारण हुन् उनी। हेलिकप्टरको ककपिटमा देखिने प्रिया यतिखेर रसुवा भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा फसेकाहरुको निरन्तर उद्धारमा लागिरहेकी छन्।
तल सडक छैन। पुलहरू बाढीले बगाइसकेका छन्। पहाडका भिरहरू पहिरोले चिरिएका छन्। चारैतिर पानी, हिलो, ढुंगा र भग्नावशेष छन्। जमिनबाट उद्धार गर्ने बाटो लगभग बन्द छ। त्यही भयावह दृश्यबीच आकाशबाट थुप्रै हेलिकप्टर निरन्तर ओहोरदोहोर गरिरहेको छ, जहाँ एक हेलिकप्टरको उडान भर्नेमा प्रिया पनि छिन्।
रसुवाको टिमुरेलगायत क्षेत्रमा फसेका सयौँ मानिसलाई सुरक्षित स्थानमा सार्न हेलिकप्टरहरू नै प्रमुख माध्यम बने। हरेक उडान एउटा उडानमात्र होइन। हरेक उडानको पछाडि कसैको जीवन, कसैको परिवार र कसैको प्रतीक्षा जोडिएको हुन्छ। तिनका लागि हेलिकप्टर भगवान् हो जसले जीवन बचाउँछ।
सीएनएनका पत्रकार एन्डरसन कुपरसँगको कुराकानीमा अधिकारीले आफूहरूको टोलीले टिमुरेबाट मात्रै २०० भन्दा बढी मानिसको उद्धार गरेको बताएकी छन्। उनले भनिन्, ‘आफूले उद्धार गरेको क्षेत्रमा पाँचवटा जलविद्युत् आयोजना तथा पूरै गाउँ बाढीले बगाएको थियो।’
उनले करिब १०० उद्धार उडान गरिसकेकी छन्। टिमुरे क्षेत्रबाट भने उनको टोलीले २०० भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारेको थियो।

क्याप्टेन अधिकारीले सीएनएनसँगको कुराकानीमा एउटै क्षेत्रमा करिब २० वटा हेलिकप्टर सञ्चालन हुँदा पाइलटहरूले रेडियोमार्फत निरन्तर समन्वय गर्नुपर्ने अवस्था रहेको बताएकी थिइन्। कतिपय ठाउँमा पाँच-छ वटा हेलिकप्टरले एउटै क्षेत्रबाट मानिसलाई उद्धार गर्नुपर्ने अवस्था पनि थियो।
यस्तो अवस्थामा हेलिकप्टर उडाउनु मात्र पर्याप्त हुँदैन। कहाँ अवतरण गर्ने, जमिन कति स्थिर छ, अर्को हेलिकप्टर कहाँ छ र कहिले उडान भर्ने- यी सबै निर्णय केही सेकेन्डमै गर्नुपर्ने हुन्छ।
‘हामीमध्ये धेरैजना निरन्तर उडान गरिरहेकाले निकै थाकिसकेका छौँ। हामीलाई यसैका लागि तालिम दिइएको हो,’उनले उद्धार अभियानका क्रममा सिएनएनसँग भनेकी थिइन्, ‘मलाई थाहा छैन, उनीहरू कसरी बाँचे ?’
क्याप्टेन अधिकारीले भनेकी छन्, ‘२०१५ को भूकम्प सम्झाउने, तर आफ्नै किसिमको कठिन विपत्ति हो रसुवा भोटेकोशीको बाढी।’
हिमाली क्षेत्रमा हुने विपद् उद्धारमा लामो अनुभव भएकी प्रियाका लागि पनि २०२६ को बाढी र पहिरो असाधारण चुनौती बन्यो।
उनले यसपटकको अवस्था सन् २०१५ को भूकम्पमा भन्दा पनि केही हिसाबले कठिन महसुस भएको बताएकी छन्।
भूकम्पपछि ठूलो भूभागमा क्षति फैलिएको थियो भने अहिलेको विनाश साँघुरा हिमाली उपत्यकाभित्र केन्द्रित थियो। सीमित ठाउँमा धेरै मानिस फसेका थिए र त्यही क्षेत्रमा धेरै हेलिकप्टरले लगातार काम गर्नुपरेको थियो।
त्यसैगरी उनले एनडीटीभी इन्डियालाई भनेकी छन्- ‘हावाबाट देखिएको विनाश आफैंमा अर्को मानसिक परीक्षा थियो। तर जीवित मानिसहरूले उद्धारको आशामा हात हल्लाएको दृश्यले फेरि उडान भर्न प्रेरित गर्छ।’
तेन्जिङ हिलारी खोज तथा उद्दार पुरस्कार जितेकी अधिकारी हेलिकप्टरबाट नेपाली आकाशमा निरन्तर उडान भर्नेमा पर्छिन्। बाढीले सबैथोक गुमाएका मानिसहरू हेलिकप्टर देखेर हात हल्लाउँदै सुरक्षित ठाउँतर्फ निस्किएको दृश्यले आफूलाई ऊर्जा दिने अधिकारीले बताएकी छन्।
भोटेकोशीको विनाशबीच उनको साहसिक भूमिका अहिले नेपालभित्र मात्र होइन, अन्तर्राष्ट्रिय मिडियामा समेत चर्चाको विषय बनेको छ। एक नेपाली महिला पाइलटले विपद्को बीचमा देखाएको यो साहसले नेपालको उद्धार क्षमतासँगै नेपाली महिलाको दक्षता र आत्मविश्वासलाई पनि विश्वसामु चिनाएको छ। र उनको सहासिक उडानको जग भने निकै गम्भीर र रोमाञ्चक मोड छ।
वातावरण विज्ञानमा स्नातक र एमबिए अध्ययन गरेकी अधिकारी बुद्ध एयरलाइन्सको हेलिकप्टरमा क्याबिन क्रुका रूपमा काम गर्थिन्।
त्यही क्रममा हेलिकप्टरमा गरिएको एउटा ‘जोयराइड’ले उनको जीवनको दिशा बदलिदियो। उनले एक कार्यक्रममा भनेकी छन्- ‘पहिलोपटक हेलिकप्टरमा बसेर जब पृथ्वीलाई आफ्नै आँखाले देखें अनि लाग्यो संसार अर्कै अनुभूत गरें । अझ हेलिको अगाडि सिसा हुन्छ । त्यहाँबाट हेर्दा तल कस्तो होला भन्ने जिज्ञासाले मलाई क्याप्टेन पढ्ने रुची जगायो।’
उनी हेलिकप्टर तालिमका लागि फिलिपिन्स पुगिन्। त्यहाँबाट तालिम लिएर जब नेपाल आइन् तब थप संघर्ष गर्नु पर्यो। हेलिकप्टर उडान पढे पनि नेपालको सन्दर्भमा भने कमर्सियल हेलकप्टर चालकका रूपमा लाइसेन्स निकाल्न जरुरी थियो। ६ महिनाको अन्तरालमा परीक्षा खुल्ने गर्थ्यो। ‘मलाई हाम्रा बुवाआमाले अनेक दु:ख गरेर पढाउनु भयो।
पछि क्याप्टेन बन्नका लागि ऋण गर्नु पर्यो। पैसा नै ५०-६० लाख माथि लाग्दोरहेछ । र पनि पढें। तर नेपालमा व्यवसायिक हेलिकप्टर चलाउन लाइसेन्स निकाल्नु पर्दोरहेछ। पहिलो चरण नै बिग्रियो। अनि म निराश भएर अष्ट्रेलिया गएँ,’ उनले भनेकी छन् ‘२०११ नेपाल फर्किएँ र परीक्षा दिएँ। पास भएँ।’
त्यसयता उनले निरन्तर हेलिकप्टरको उडान भरेकी छन्। नेपालमा पहिलो महिला क्याप्टनका रुपमा सोनी राणा, अनुष्का उदासका नाम अग्रपंक्तिमा आए पनि ‘रेस्क्यु’ मिसनमा भने प्रियाको नाम अग्रपंक्तिमा आउँछ।
६ हजार २ सय मिटरको उचाइमा हेलिकप्टर ल्याण्ड गर्ने पाइलट हुन प्रिया। पुरुषप्रधान क्षेत्रमा केवल महिला भएकै कारण स्थापित भएकी प्रिया कठिन उडान र उद्धार मिसनमा आफ्नो क्षमता प्रमाणित गर्दै अघि बढिरहेकी छन्।
नेपालमा हाइ अल्टिच्युट रेस्क्यु मिसनमा उडान भर्ने प्रिया पहिलो महिला क्याप्टेन हुन्।
हेलिकप्टर पाइलटको पेशा लामो समयदेखि पुरुषको बाहुल्य रहेको क्षेत्र हो। त्यसैले निरन्तरता पाइरहेको समयमा प्रिया एक अपबाद हुन्। प्रियाले आफ्नो अनुभव सुनाउँदै आफूलाई तालिम दिनेहरू पुरुष भए पनि अन्ततः हेलिकप्टर उडाउने र निर्णय लिने जिम्मेवारी आफ्नै भएको बताएकी छन्।
२०१७ मा पहिलो महिला हेलिकप्टर क्याप्टेन बनेपछि उनको काम सामान्य उडानमा मात्र सीमित रहेन। उनी उच्च हिमाली क्षेत्रमा खोज तथा उद्धार गर्ने पाइलटका रूपमा स्थापित हुँदै गइन्।
प्रियाको अनुभव मोडलिङ र मिस नेपालसम्मको छ। काठमाडौँमा खाइखेली हुर्किएकी प्रिया सौन्दर्यका हिसाबले पनि उनी अगाडि छन्। उनी सन् २००८ मा मिस नेपाल प्रतियोगितामा सहभागी भएकी थिइन्।
विभिन्न अन्तर्वार्तामा उनले आफू आमाको चाहनामा प्रतियोगितामा सहभागी भएको र त्यसबाट धेरै कुरा सिकेको बताएकी छन्। उनले टे अभिनय पनि गरिसकेकी छन्।
उनको वास्तविक यात्रा त्यसपछि अझ फरक दिशामा गयो। सौन्दर्य प्रतियोगिताको मञ्चदेखि ककपिटसम्म, क्याबिन क्रुबाट पाइलटसम्म, सामान्य उडानबाट उच्च हिमाली उद्धारसम्म-प्रियाको करिअरले पटक-पटक नयाँ मोड लियो।
सुरुवातीको मोड भने उनैको आमाको साथ र सहयोग थियो। उनकी आमा मिस नेपाल बनाउन चाहन्थिन्। उनको जीवनमा आमाको महत्वपूर्ण भूमिका रहेको छ। यो कुरा उनले एक अन्तरवार्तामा भनेकी पनि छन्- ‘समाजका केही मानिसहरू घरमा आएर भन्ने गर्थे- ‘छोरीहरूलाई किन पढाउनुहुन्छ ? उनीहरू त विवाह गरेर अर्काको घर जाने हुन्।’
तर उनकी आमाले त्यस्तो सोचलाई स्वीकार गरिनन्। छोरीहरूलाई छोरासरह शिक्षा दिनुपर्छ भन्ने विश्वासमा उनी अडिग रहिन्। त्यसैले उनको चाहेको पढ्नमा कुनै अवरोध आएन।
प्रिया पाँच दिदीबहिनीमध्ये एक हुन्। आमाको सकारात्मक सोचका कारण आफूहरू सबैले समान शिक्षा पाउने अवसर पाएको उनले बताउँदै आएकी छन्। प्रियाका अनुसार आफू कमजोर विद्यार्थी थिइन् र पनि उनले प्लस टु पछि विज्ञान पढिन्।
किन त ?
उनले भनेकी छन्- विज्ञान पढे भनेपछि डाक्टर या नर्स पढ्ने बाटो खुल्ने छ।
यो क्षेत्रमा कसरी आइन् भन्ने कुरा पनि उनले खुलाएकी छन्- ‘कान्छी बहिनीले एकदिन मलाई विज्ञापन देखाइन्, जसमा एयरहोस्टेजको विज्ञापन थियो। एयरहोस्टेजको रूपमा २००६ नाम निकालें। यसरी बुद्ध एयरको क्याबिन क्रु (फ्लाइट एटेन्डेन्ट) को रूपमा काम गरेपछि म फिलिपिन्स पढ्न गएकी हुँ।’
हिमालसँग प्रियाको सम्बन्ध काममा मात्र सीमित छैन। हिमाली भूगोल, मौसम र उचाइका चुनौतीसँग वर्षौं काम गरेकी उनी नेपालका दुर्गम क्षेत्रमा हुने उद्धार अभियानको महत्त्वपूर्ण हिस्सा बनेकी छन्।
उच्च उचाइमा हेलिकप्टर उडाउनु आफैंमा जोखिमपूर्ण हुन्छ। मौसम एकाएक बदलिन सक्छ। साँघुरा उपत्यकामा हावाको अवस्था फरक हुन सक्छ। अवतरण गर्ने ठाउँ सीमित हुन्छ। त्यसमाथि उद्धार गर्नुपर्ने मानिसको अवस्था तत्काल निर्णय लिनुपर्ने किसिमको हुन्छ।
त्यसैले उद्धार पाइलटको काम केवल ‘उडान’ होइन-उडान, भूगोल, मौसम, मानवीय अवस्था र जोखिमलाई एकैपटक पढ्ने कला पनि हो।
प्रियाको पुरानो उद्धार अनुभवमा पनि यस्ता क्षण आएका छन्, जहाँ मिसन अधुरै छोडेर फर्किनुपर्ने अवस्था बनेको थियो। तर खोजी जारी राख्दा उद्धार गर्नुपर्ने व्यक्ति भेटिएको र उनलाई सुरक्षित निकाल्न सफल भएको अनुभव उनले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग सुनाएकी छन्।
उनका लागि सफल उद्धारको सबैभन्दा ठूलो पुरस्कार कुनै पदक होइन। ‘जब एउटा मिसन पूरा हुन्छ र कसैको जीवन बचाउन सकिन्छ, त्यो क्षणले शरीरभरि रोमाञ्च पैदा गर्छ,’ उनले एबिसी न्युजमा भनेकी छन्।
जोखिम अरूलाई मात्र नआउँदो रहेछ भन्ने कुरा प्रियाले आफ्नै जीवनमा पनि भोगेकी छन्। २०७९ सालमा धौलागिरि हिमालको आधार शिविर क्षेत्रमा हेलिकप्टर अवतरणका क्रममा उनी दुर्घटनामा परेकी थिइन्। उक्त घटनामा मानवीय क्षति नभए पनि त्यस्तो अनुभव आफैंमा पाइलटका लागि ठूलो परीक्षा थियो। त्यसपछि पनि उनले उडान छोडिनन्। बरू हिमाली उद्धार र उडानप्रतिको आफ्नो यात्रालाई निरन्तरता दिइरहिन्।
प्रियाको एउटा इच्छा अझ सरल छ- उनी उमेरले साथ दिइन्जेल हेलिकप्टर पाइलटको रूपमा काम गरिरहन चाहन्छिन्।
यो पेशा उनका लागि केवल रोजगारी होइन। यो उनको पहिचान बनेको छ।
कुनै दिन हेलिकप्टरको ककपिटबाट टाढिनुपरे पनि उनले आफ्नो यात्रामा एउटा यस्तो बाटो बनाइसकेकी छन्, जहाँ उनीभन्दा पछि आउने नेपाली महिलालाई ‘महिलाले सक्छन् कि सक्दैनन् ?’ भनेर फेरि सुरुदेखि प्रमाणित गर्नुपर्ने छैन। यति हुँदाहुँदै पनि उनले एक टेलिभिजनसँगको कुराकानीमा आफूले चक्कु साथमा नछुटाउने कुरा गरेकी छन्, किन ?
उनका अनुसार यात्राका क्रममा सुरक्षाका लागि चक्कु बोक्ने गरेको हो। यो सर्भाइभर किटकै एउटा हिस्सा हो।
प्रियाको सम्बन्ध हिमालसँग उद्धार र उडानमा मात्र छैन। हिमालमा जाने हरेक मानिसले आफ्नो जिम्मेवारी पनि सम्झनुपर्छ भन्ने उनको धारणा छ।
विशेषगरी गोसाइँकुण्ड जस्ता धार्मिक तीर्थस्थलहरु र हिमाली क्षेत्रमा मानिसहरूले फोहोर नछोडून् भन्ने उनको आग्रह रहँदै आएको छ। उनी भनेकी छन्- आफ्नो फोहोर आफैं लिएर फर्किनुपर्छ।
समाजले छोरीका लागि बनाएको सीमाभन्दा बाहिर निस्किएर उनले ककपिट रोजिन्। ककपिटबाट उनले हिमाल रोजिन्। हिमालबाट उनले उद्धार रोजिन्। र उद्धारमार्फत उनले अरूको जीवनसँग आफ्नो जीवन जोडिन्।
आज उनको हेलिकप्टर आकाशमा देखिँदा त्यो केवल एउटा यन्त्र उडिरहेको दृश्य होइन। कतै सडक छैन भने पनि बाटो बाँकी छ भन्ने संकेत हो।





