पोखरा/विं सं. २०११ मा स्थापना भएको पोखरा उद्योग वाणिज्य संघले यस क्षेत्रको शैक्षिक, सामाजिक र विकासका केही काममा आगुवाइ ग¥यो; धेरै अभियानमा साथ दियो । ७ दशकभन्दा लामो इतिहास भएको संघ आफैं भने सधैं पुरुषकै नेतृत्वमा रह्यो ।
सोमबार संघको इतिहासमा नयाँ रेकर्ड बन्योः महिला अध्यक्ष । ३ पुरुष प्रतिस्पर्धीलाई पछि पार्दै संघको ७२ औं अधिवेशनबाट शोभा गौतम अध्यक्ष निर्वाचित भएकी हुन् । यसअघि विन्दु कोइराला र हीरा भट्टराईले अध्यक्षमा उम्मेदवारी दिए पनि जित निकाल्न सकेका थिएनन् ।
यसपालि शोभाले अर्जुन पोखरेल, उत्तममान बुद्धाचार्य र बलराम आचार्यलाई पछाडि पारिन् । उनले ७ सय ५१ मत पाउँदा पोखरेलले ६ सय ३७, बुद्धाचार्य ६ सय १ र आचार्यले २ सय ५३ मत पाए । पोखरेल तेस्रो पटक अध्यक्षमा पराजित बनेका हुन् ।
वरिष्ठ उपाध्यक्षमा दीनेशचन्द्र बास्तोलमा चुनिएका छन् । बास्तोलाले १४८१ मत पाउँदा उनका प्रतिस्पर्धी टीकाराम सुवेदीले ७६० मत पाए । उपाध्यक्ष उद्योगमा १२७१ सहित सौगात थापा चुनिए । उनका प्रतिस्पर्धी ललितबहादुर कुँवरले ९७३ मतमा चित्त बुझाए । उपाध्यक्ष (वाणिज्य) तर्फ मनोजकुमार श्रेष्ठ १०६५ मतसहित विजयी बने । उनका प्रतिस्पर्धी भीम गौतम ९१९ मा सीमित भए ।
संघको महासचिव सुदीप प्रधानांग चुनिए । उनले १२०२ मत पाउँदा प्रतिस्पर्धी तारानाथ ढुंगानाको भागमा १०४२ मत प¥यो । संघको कोषाध्क्षमा देवेन्द्र प्रजु चुनिए । प्रजुले १४३९ मत पाउँदा प्रतिस्पर्धी जीवनप्रकाश श्रेष्ठले ७७५ मत पाए ।
उपमहासचिवमा प्रदीपराज भण्डारी (११५३) विजयी हुँदा उनका प्रतिस्पर्धी यादवप्रसाद पोखरेलले ६५८ र रामचन्द्र तिमिल्सिनाले ४३३ मत पाए । कार्यसमितिमा उद्योगतर्फका सदस्य पीताम्बर अधिकारी निर्विरोध भएका थिए । कार्यसमिति सदस्यमा दुर्गा बराल (१७४८), अमृत पोखरेल (१७३१), निर्मला चापागाईँ (१५८०), गोविन्दबहादुर केसी (१४८७), रामेश्वर अधिकारी (१४७७), मनोहरि पौडेल (१४७६) र भानुभक्त अधिकारी (१४५२) मतसहित निर्वाचित भएका छन् ।
कार्यसमिति सदस्यमा पराजित दिलीपकुमार श्रेष्ठ (१४४७), रामप्रसाद कँडेल (१४३५), कमलबहादुर सुनार (१४२४), नवीन नापित (१३४३), हरिप्रसाद अधिकारी (१३४३) र सूर्यराज घिमिरे (१३०३) मत पाएका छन् ।
अहिले महासचिवको कार्यकाल सकेकी गौतमले अब संघको बागडोर सम्हाल्ने छिन् । उनी कार्यसमिति सदस्य, उपमहासचिव हुँदै महासचिव बनेकी थिइन् ।चिया पसलबाट व्यावसायिक यात्रा थालेकी उनी कृषि र पर्यटन प्रवर्धन, युवा उद्यमशीलता विकास र महिला उद्यमीको सशक्तीकरणलाई अघि बढाउने बताउँछिन् ।उनी भन्छिन्, ‘मेरो परिचय एउटा उम्मेदवारका रूपमा मात्र नभई हजारौं संघर्षशील महिला उद्यमीको प्रतिनिधि आवाज हो ।’
आइतबार भएको मतदानमा २ हजार ७ सय ३१ मतदाता रहेकोमा अध्यक्षका लागि २ हजार २ सय ७४ मत र सदस्यतर्फ २ हजार १ सय ८ मत खसेको थियो । संघको २ वर्षे कार्यकालका लागि अध्यक्षमा २ प्यानलसहित ४ जना मैदानमा थिए ।





