मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

बाढीपीडित बालबालिकाको पिडा, ‘तिमी रोयौ त्यता, हामी पनि रोएका छौँ यता’

बाढीपीडित बालबालिकाको पिडा, ‘तिमी रोयौ त्यता, हामी पनि रोएका छौँ यता’

बालबालिकाले जम्मा गरेको रकम ठुलो नभए पनि विपत्तिमा परेका अर्को व्यक्तिको आँसु पुछ्न उनीहरूले आफ्नो खाजा खर्च घटाएर मानवीय संवेदनाप्रति गम्भीर बन्नु आफैँमा मानवीय संवेदनाको उदाहरण बनेको छ ।


  • स‌जय रेग्मी
  • भाद्र २३ २०८३, मंगलबार

पर्वत/  भोटेकोशीमा आएको विनाशकारी बाढीले ठुलो मानवीय क्षति पु¥याएपछि त्यसको पीडा पर्वतका बालबालिकाको मनसम्म पनि पुगेको छ ।

बाढीले घर, परिवार र आफन्त गुमाएका बालबालिकाको पीडालाई आफ्नै पीडाजस्तै महसुस गर्दै विद्यार्थीले पनि आफ्नो खाजा खर्च कटौती गरेर विपद्मा परेकाहरूका लागि आर्थिक सहयोग सङ्कलन अभियान सञ्चालन गरिरहेका छन् । विद्यालय जाँदा दैनिक खाजाका लागि अभिभावकबाट पाउने थोरै रकममध्ये एक दिनको खाजा नखाएर भए पनि बाढीपीडित बालबालिकालाई सहयोग गर्ने उद्देश्यले उनीहरूले विद्यालयमै आर्थिक सहयोग सङ्कलन अभियान सञ्चालन गरिरहेका छन् । बालबालिकाले जम्मा गरेको रकम ठुलो नभए पनि विपत्तिमा परेका अर्को व्यक्तिको आँसु पुछ्न उनीहरूले आफ्नो खाजा खर्च घटाएर मानवीय संवेदनाप्रति गम्भीर बन्नु आफैँमा मानवीय संवेदनाको उदाहरण बनेको छ ।

यही सिलसिलामा नारायण माध्यमिक विद्यालय, कुश्माका विद्यार्थी पनि खाजा खर्चबाटै झन्डै १४ हजार रुपैयाँ सङ्कलन गरेका छन् । खाजा खान ल्याएको रकममध्ये एक दिनको खर्चसमेत कटाएर सहयोग सङ्कलन अभियान उनीहरूले चलाइरहेका छन् । रकम सङ्कलन गर्दा उनीहरूले कसैले ठुलो रकम देला भन्ने अपेक्षा गरेका छैनन्, बरु आफूले सकेको सानो सहयोगबाट विपत्तिमा परेका साथीहरूको पीडामा मलहम लगाउन सकिन्छ भन्ने विश्वास साथीहरूलाई बताउँछन् र सहयोगको अपिल गर्दछन् ।

कक्षाकोठामा किताब र कापी बोकेर बस्ने हातहरू नै राहतका लागि सहयोग सङ्कलन गर्न अघि बढेका छन् भने साना बालबालिकाहरूले आफ्ना उमेरका पीडित बालबालिकाका लागि मानवीयताको पाठ सिकाइरहेका छन् । नारायण माध्यमिक विद्यालयकी छात्रा सुप्रिमा चापागाईँका लागि रसुवाका वा भोटेकोशी क्षेत्रका विद्यार्थी र कुश्माका विद्यार्थीबिच कुनै फरक छैन । विपत्तिमा परेका बालबालिकाको पीडा आफ्नै पीडाजस्तो लाग्ने बताउँदै उनी भन्छिन्,‘उहाँहरू उता रुँदा हामीहरू यता रोइरहेको महसुस हुन्छ । आफूले खाजा खाने पैसा कटाएर भए पनि पीडित बालबालिकालाई सहयोग गर्न पाउँदा खुसी लागेको छ । पैसाले र खाने कुराले त हामी कसैलाई कहिल्यै पनि पुग्दैन नै’, उनले भनिन्, ‘यो बेलामा सबैलाई सक्दो सहयोग गर्नुपर्छ । उहाँहरूले विपद्मा परेर पीडा भोग्नुभएको छ, हामीलाई त्यसलाई महसुस गरेर पीडा भोगिरहेका छौँ । आखिर पिडा त उता र यता उही त हो ।’

बालबालिकाको यो अभियानले राहत भनेको ठुला संस्था, सरकार वा आर्थिक रूपमा सम्पन्न व्यक्तिहरूको जिम्मेवारी मात्र होइन भन्ने सन्देश पनि दिएको छ । आफ्नो खल्तीमा भएको थोरै रकमबाट समेत कसैको जीवनमा आशाको ज्योति बाल्न सकिन्छ भन्ने उदाहरण उनीहरूले प्रस्तुत गरेका छन् । एक दिन खाजा नखाँदा उनीहरूलाई सामान्य असहजता होला, तर त्यही रकम कुनै विपत्तिमा परेका बालबालिकाका लागि कापी–कलम, खाना वा आवश्यक सामग्री जुटाउने माध्यम बन्न सक्छ भन्ने सोचले उनीहरूलाई सहयोगका लागि प्रेरित गरेको छ । त्यसैले उनीहरूले दिएको सहयोगको मूल्य रकममा भन्दा भावनामा ठुलो छ ।

पर्वतका अन्य सामुदायिक तथा निजी विद्यालयहरूले पनि आ–आफ्ना विद्यालयमा बाढीपीडितका लागि आर्थिक सहायता सङ्कलन अभियान सञ्चालन गरिरहेका छन् । कतिपय विद्यालयमा विद्यार्थी, शिक्षक तथा अभिभावकबाट सहयोग सङ्कलन भइरहेको छ भने कतिपय विद्यालयका बालबालिकाले आफ्नै खाजा खर्च कटाएर सहयोग गर्ने अभियान थालेका छन् । विपत्तिको खबर सुनेर टाढाबाट चिन्ता मात्र व्यक्त गर्नेभन्दा आफूले सक्ने सहयोग गर्नुपर्छ भन्ने भावना विद्यालय तहबाटै विकास हुँदै गएको छ । यसले बालबालिकामा सामाजिक उत्तरदायित्व, सहानुभूति र सहयोगी संस्कारको विकास गराउनुका साथै विपद्को समयमा समाज एकजुट हुनुपर्ने महत्त्वपूर्ण सन्देश पनि दिएको छ ।

यस्तै, कुश्मामा रहेको प्रगति संस्कार बाल क्लबका भाइबहिनीहरूले भोटेकोशी विपत्तिमा ज्यान गुमाएका सम्पूर्णप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक दीप प्रज्वलन गरेका छन् । उनीहरूले विपत्तिमा ज्यान गुमाएका नागरिकप्रतिको सम्मान र बेपत्ता भएकाहरू सकुशल भेटिउन् भन्ने सामूहिक कामना गरेका छन् । बाल क्लबका बालबालिकाले दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै बेपत्ता सबैको सकुशल खोजीको कामना गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->