हरेक वर्ष मनसुन सुरु हुनासाथ नेपालमा डेंगु नियन्त्रणका गतिविधि तीव्र हुन्छन् । स्वास्थ्यकर्मी र स्थानीय तहका कर्मचारी घरघरमा पुग्छन्, पानी जम्ने ठाउँ पहिचान गर्छन्, टायर र भाँडाकुँडा सफा गर्छन् र “खोज तथा नष्ट” अभियान सञ्चालन गर्छन् । समुदायका मानिसहरू पनि आफ्नो घर वरपर सफा राख्न र पानी जम्न नदिन सचेत हुन्छन् ।
यी प्रयास आवश्यक छन् । तर दुई दशकको अनुभवले हामीलाई अर्को प्रश्न पनि सोध्न बाध्य बनाएको छ । यस्ता प्रयासलाई अझ प्रभावकारी र दिगो कसरी बनाउन सकिन्छ ? नेपालमा डेंगुको अवस्था पछिल्ला वर्षमा धेरै परिवर्तन भएको छ । त्यसैले नियन्त्रणको हाम्रो दृष्टिकोण पनि त्यहीअनुसार विकसित हुन आवश्यक देखिन्छ ।
दुई दशकमा बद्लिएको डेंगुको तस्बिर
नेपालमा डेंगुको पहिलो केस सन् २००४ मा चितवनमा पहिचान भएको थियो । त्यसपछि डेंगु क्रमशः देशका विभिन्न भागमा फैलिँदै गयो । अहिले यो नेपालका लागि स्थापित (Pendemic) रोगका रूपमा देखा परेको छ । सन् २०२२ मा नेपालले अहिलेसम्मकै ठूलो डेंगु प्रकोप अनुभव गर्यो । ५४ हजार ७ सय ८४ संक्रमण र ८८ मृत्यु रिपोर्ट भए तथा सबै ७७ जिल्लामा संक्रमण देखियो । सन् २०२३ मा ५१ जार २ सय ४३ संक्रमण र २० मृत्यु तथा सन् २०२४ मा ४१ जार ८ सय ६५ संक्रमण र १५ मृत्यु रिपोर्ट भए । २०२४ मा ७६ जिल्लामा संक्रमण देखिएको थियो । सन् २०२५ मा महामारी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा ८ हजार २ सय ६२ जना डेंगु संक्रमित भएका थिए र ६ जनाको मृत्यु भएको थियो ।
यी तथ्यांकले एउटा महत्वपूर्ण कुरा देखाउँछन् । डेंगु अब केही वर्षमा मात्र देखिने अस्थायी समस्या होइन । यो निरन्तर निगरानी, तयारी र दीर्घकालीन जनस्वास्थ्य प्रयास आवश्यक पर्ने समस्या बनेको छ ।

डेंगुको महामारीशास्त्र (Epidemiology) पनि परिवर्तन हुँदैछ
डेंगु Aedes aegypti र Aedes albopictus लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो । नेपालमा डेंगु भाइरसका विभिन्न serotype पहिचान भइसकेका छन् । एकपटक एउटा serotype बाट संक्रमण भएपछि त्यसविरुद्ध प्रतिरक्षा (immunity) बन्न सक्छ । तर अर्को serotype बाट पुनः संक्रमण हुँदा केही व्यक्तिमा गम्भीर डेंगुको जोखिम बढ्न सक्छ । त्यसैले रोगको नियमित निगरानीसँगै circulating serotype को निगरानी पनि महत्वपूर्ण हुन्छ । डेंगुको भौगोलिक वितरणमा पनि परिवर्तन देखिएको छ । विगतमा तराई र तल्लो भूभागमा बढी केन्द्रित रहेको संक्रमण अहिले काठमाडौं उपत्यका तथा अन्य पहाडी क्षेत्रमा पनि देखिन्छ । काठमाडौं उपत्यका समुद्री सतहबाट करिब १ हजार ४ सय मिटरको उचाइमा रहेपनि यहाँ dengue transmission देखिनुले रोगको बदलिँदो भौगोलिक अवस्थालाई देखाउँछ ।
यस परिवर्तनका धेरै कारण छन् । तापक्रम र वर्षाको ढाँचा, शहरीकरण, मानिसको आवागमन, पानी भण्डारण, फोहोर व्यवस्थापन र लामखुट्टेको बासस्थान सबैले भूमिका खेल्न सक्छन् । जलवायु परिवर्तनले पनि यी परिस्थितिलाई प्रभावित गर्न सक्छ । तर डेंगुको विस्तारलाई केवल जलवायु परिवर्तनको परिणामका रूपमा बुझ्नु पर्याप्त हुँदैन । यो वातावरणीय, सामाजिक, व्यवहारिक र स्वास्थ्य प्रणालीसँग सम्बन्धित धेरै कारणको संयुक्त परिणाम हो ।
“खोज र नष्ट” आवश्यक छ, तर पर्याप्त नहुन सक्छ
“खोज र नष्ट” अभियान डेंगु नियन्त्रणको महत्वपूर्ण उपाय हो । Aedes लामखुट्टेले घर र वरपरका साना पानीका भाँडामा पनि प्रजनन गर्न सक्ने भएकाले यस्ता प्रजननस्थल हटाउनु आवश्यक हुन्छ । नेपालको राष्ट्रिय vector–control guidelines ले पनि larval source management लगायतका उपायलाई vector control को महत्वपूर्ण भागका रूपमा राखेको छ । तर चुनौती यसको निरन्तरतामा छ ।
एउटा ठाउँको पानी हटाएपछि अर्को ठाउँमा केही दिनमै पानी जम्मा हुन सक्छ । घर सफा भए पनि छिमेकीको घर, निर्माणस्थल, सडकको खाल्डो वा सार्वजनिक स्थानमा प्रजनन स्थल रहन सक्छ । यसैले व्यक्तिगत घरको सरसफाइसँगै समुदाय र शहरको वातावरण पनि व्यवस्थापन गर्नुपर्छ । “खोज र नष्ट” लाई असफल रणनीति भन्नुभन्दा यसलाई ठूलो र वर्षभरि सञ्चालन हुने dengue control strategy को एउटा महत्वपूर्ण हिस्साका रूपमा हेर्नु बढी उपयोगी हुन्छ । नेपालमा गरिएको vector–control सम्बन्धी अनुभवले पनि समुदायस्तरको अभियानसँगै निरन्तर र व्यवस्थित vector management आवश्यक रहेको देखाउँछ ।

हामीले ध्यान दिनुपर्ने पाँच क्षेत्र
१. प्रकोपअघि तयारी
डेंगुको प्रतिक्रिया बिरामीको संख्या बढेपछि मात्र तीव्र बनाउनेभन्दा जोखिमको मौसम सुरु हुनुअघि नै तयारी गर्नु उपयोगी हुन्छ । कुन क्षेत्रमा विगतमा धेरै संक्रमण भएको थियो ? कहाँ Aedes को breeding बढी छ ? वर्षा र तापक्रमको अवस्था कस्तो छ ? स्वास्थ्य संस्थामा बिरामीको चाप बढेमा पर्याप्त जनशक्ति र सेवा क्षमता छ कि छैन ? यस्ता प्रश्नको नियमित मूल्यांकनले outbreak आउनुअघि तयारी गर्न सहयोग गर्न सक्छ । नेपालको राष्ट्रिय dengue guideline ले surveillance, preparedness, vector control र case management लाई एकीकृत रूपमा अघि बढाउनुपर्नेमा जोड दिन्छ ।
२. शहरी वातावरणमा ध्यान
डेंगु नियन्त्रण स्वास्थ्य क्षेत्रको मात्र जिम्मेवारी होइन । पानी आपूर्ति, फोहोर व्यवस्थापन, drainage, निर्माणस्थल व्यवस्थापन र शहरी योजना सबै यससँग सम्बन्धित छन् । खुला पानीका ट्याङ्की, फालिएका प्लास्टिकका सामग्री, निर्माणस्थलमा जमेको पानी र अवरुद्ध नालाजस्ता ठाउँहरू लामखुट्टेको प्रजननका सम्भावित स्थान बन्न सक्छन् । नेपालमा डेंगुको बढ्दो जोखिममा शहरीकरण र वातावरणीय परिवर्तनको भूमिकाबारे अध्ययनहरूले पनि ध्यान आकर्षित गरेका छन् । त्यसैले स्थानीय तहले डेंगु नियन्त्रणलाई स्वास्थ्य कार्यक्रमसँगै शहरी व्यवस्थापनको विषयका रूपमा पनि हेर्न सक्छन् । यसका लागि स्वास्थ्य, खानेपानी, सरसफाइ, वातावरण, पूर्वाधार र शहरी विकाससँग सम्बन्धित निकायबीच नियमित समन्वय उपयोगी हुन्छ ।
३. वर्षभरि निगरानी
डेंगु नियन्त्रणको अर्को महत्वपूर्ण पक्ष surveillance हो । बिरामीको संख्या मात्र हेरेर जोखिम बुझ्न कठिन हुन्छ । कुन क्षेत्रमा Aedes लामखुट्टेको संख्या बढ्दैछ, कहाँ प्रजनन स्थल धेरै छन् र मौसमले त्यसलाई कसरी प्रभावित गरिरहेको छ भन्ने जानकारी पनि उपयोगी हुन्छ ।
Integrated Vector Management को अवधारणाले vector surveillance र उपयुक्त vector–control लाई एकीकृत रूपमा अघि बढाउन जोड दिन्छ । Entomological surveillance, disease surveillance र मौसमसम्बन्धी तथ्यांकलाई एकसाथ प्रयोग गर्न सकेमा जोखिम पहिल्यै पहिचान गर्न सहयोग पुग्न सक्छ । यसले स्वास्थ्य प्रणालीलाई “बिरामी बढेपछि प्रतिक्रिया दिने” अवस्थाबाट “जोखिम बढ्दै गर्दा तयारी गर्ने” दिशातर्फ लैजान सक्छ ।

४. नयाँ प्रविधिलाई प्रमाणका आधारमा परीक्षण
Wolbachia जस्ता biological control technologies ले विश्वका विभिन्न स्थानमा dengue transmission घटाउने सम्भावना देखाएका छन् । नेपालमा पनि यस्ता प्रविधिबारे अध्ययन र सम्भाव्यता मूल्यांकन गर्न सकिन्छ । तर नयाँ प्रविधि प्रयोग गर्दा स्थानीय वातावरण, लागत, समुदायको स्वीकार्यता, नियामक पक्ष र प्रभावकारितालाई ध्यान दिनुपर्छ । विशेष गरी उच्च जोखिम भएका क्षेत्रमा carefully designed pilot study सञ्चालन गरेर त्यसको परिणाम मूल्यांकन गर्नु एउटा सम्भावित बाटो हुन सक्छ । नयाँ प्रविधिलाई तुरुन्तै ठूलो स्तरमा विस्तार गर्नेभन्दा पहिले नेपालमा यसको प्रभावकारिता र सम्भाव्यता सम्बन्धी प्रमाण निर्माण गर्नु उपयुक्त हुन्छ । नेपालसम्बन्धी हालैको policy analysis ले पनि Wolbachia लगायतका innovative approaches लाई सम्भावित विकल्पका रूपमा छलफल गरेको छ, तर यसको कार्यान्वयनमा प्राविधिक क्षमता, नियामक स्वीकृति र समुदायको स्वीकार्यता जस्ता विषयलाई ध्यान दिनुपर्ने उल्लेख गरेको छ ।
५. समुदायलाई साझेदार बनाउने
डेंगु नियन्त्रणमा समुदायको भूमिका अत्यन्त महत्वपूर्ण छ । तर समुदायलाई केवल “घर सफा राख्नुहोस्” भनेर जिम्मेवारी दिनुभन्दा आवश्यक सहयोग र सुविधा उपलब्ध गराउनु पनि उत्तिकै महत्वपूर्ण हुन्छ । यदि नियमित फोहोर संकलन हुँदैन, पानी आपूर्ति अनियमित छ वा सार्वजनिक ठाउँमा पानी जमिरहन्छ भने व्यक्तिले मात्र समस्या समाधान गर्न कठिन हुन्छ । त्यसैले समुदायलाई दोष दिनेभन्दा समुदायसँग मिलेर समाधान खोज्ने दृष्टिकोण बढी प्रभावकारी हुन सक्छ । विद्यालय, महिला स्वास्थ्य स्वयंसेविका, वडा स्वास्थ्य समिति, टोल संस्था, सञ्चारमाध्यम र स्थानीय नेतृत्वलाई वर्षभरि जोड्न सकिन्छ । नेपालमा dengue prevention मा community engagement लाई महत्वपूर्ण पक्षका रूपमा विभिन्न कार्यक्रम र नीतिगत दस्तावेजहरूले जोड दिएका छन् ।
स्वास्थ्य प्रणालीको तयारी पनि उत्तिकै महत्वपूर्ण छ
डेंगु नियन्त्रणको सफलता संक्रमण रोक्न सक्नुमा मात्र निर्भर हुँदैन । गम्भीर बिरामीलाई समयमै पहिचान र उपचार गर्न सक्नु पनि उत्तिकै महत्वपूर्ण छ । स्वास्थ्य संस्थामा पर्याप्त clinical capacity, laboratory support, triage, referral र आवश्यक सामग्रीको उपलब्धता हुनुपर्छ । सन् २०२२ को ठूलो प्रकोपले छोटो समयमा ठूलो संख्यामा डेंगु बिरामी व्यवस्थापन गर्नुपर्ने अवस्था देखाएको थियो । त्यसबाट भविष्यका लागि surge preparedness को महत्व बुझ्न सकिन्छ । त्यसैले dengue preparedness को अर्थ केवल लामखुट्टे नियन्त्रण होइन । रोगी बढेमा स्वास्थ्य प्रणालीले त्यसलाई सम्हाल्न सक्ने क्षमता बनाउनु पनि यसको हिस्सा हो ।
तथ्यांकलाई अझ उपयोगी बनाउने अवसर
नेपालमा मभलनगभ सम्बन्धी routine surveillance भइरहेको छ । तर स्वास्थ्य संस्थामा नपुगेका हल्का वा लक्षणरहित संक्रमणहरू routine reporting मा समेटिँदैनन् । यस कारण सरकारी तथ्यांकले वास्तविक संक्रमणको सम्पूर्ण तस्वीर नदेखाउन सक्छ । त्यसैले नियमित case reporting सँगै sentinel surveillance, laboratory surveillance, entomological surveillance र climate data लाई जोडेर हेर्ने प्रणाली उपयोगी हुन सक्छ । अर्को महत्वपूर्ण कुरा भनेको तथ्यांक स्थानीय तहसम्म फर्काउनु हो । स्थानीय तहले आफ्नो क्षेत्रको जोखिम बुझ्न र योजना बनाउन सक्ने गरी तथ्यांक उपलब्ध हुनु आवश्यक छ ।
सीमा र मानिसको आवागमन
नेपाल र भारतबीचको खुला सीमा तथा देशभित्रको ठूलो जनआवागमनले डेंगु भाइरसको movement लाई प्रभाव पार्न सक्छ । मानिसको आवागमन र बढ्दो transportation networks लाई नेपालमा dengue को विस्तारसँग सम्बन्धित सम्भावित कारकमध्ये एकका रूपमा अध्ययनहरूले चर्चा गरेका छन् । तर यसलाई dengue को एकमात्र कारणका रूपमा हेर्नु उचित हुँदैन । मानिसको आवागमन, लामखुट्टेको ecology, urbanization, climate, पानी भण्डारण र स्थानीय वातावरण सबै मिलेर transmission को अवस्था बनाउँछन् । यसैले सीमा बन्द गर्नेभन्दा cross–border information sharing, surveillance र समन्वयलाई बलियो बनाउनु बढी व्यवहारिक उपाय हुन सक्छ ।
अबको बाटो कस्तो हुन सक्छ ?
नेपालमा डेंगु नियन्त्रणका लागि नयाँ सुरुवात गर्नुभन्दा पहिले अहिलेसम्म भएका प्रयासबाट सिक्नु आवश्यक छ । “खोज तथा नष्ट” अभियानलाई निरन्तरता दिनुपर्छ । तर यसलाई वर्षभरि सञ्चालन हुने एकीकृत भेक्टर व्यवस्थापनको एउटा भागका रूपमा राख्न सकिन्छ ।
यससँगैः
–नियमित कीटसम्बन्धी निगरानी
– प्रकोप (CL3) सम्बन्धी पूर्व–सूचना÷पूर्व–तयारी
–स्थानीय तहको प्राविधिक क्षमता विकास
–पानी र फोहोर व्यवस्थापनमा सुधार
–जलवायु–सचेत योजना तर्जुमा
–स्वास्थ्य संस्थाको वृद्वि तयारी
–समुदायसँग निरन्तर संवाद
–आवश्यक ठाउँमा नयाँ रोगबाहक नियन्त्रण प्रविधिको अध्ययन
–संघ, प्रदेश र स्थानीय तहबीच स्पष्ट समन्वय
जस्ता उपायलाई एकीकृत गर्न सकिन्छ ।
यसका लागि सबै काम एकैपटक गर्नुपर्छ भन्ने होइन । स्थानीय अवस्था र उपलब्ध स्रोतका आधारमा प्राथमिकता निर्धारण गर्दै क्रमशः सुधार गर्न सकिन्छ ।
डेंगुबाट हामीले सिक्नुपर्ने ठूलो पाठ
नेपालमा डेंगु नियन्त्रणमा स्वास्थ्यकर्मी, स्थानीय तह, समुदाय र अन्य निकायले पछिल्ला वर्षमा महत्वपूर्ण प्रयास गरेका छन् । हरेक वर्ष घरघर पुगेर प्रजनन स्थल हटाउनेदेखि अस्पतालमा बिरामीको उपचार गर्ने कामसम्म ठूलो जनशक्ति संलग्न छ । तर रोगको स्वरूप परिवर्तन हुँदै जाँदा हाम्रो रणनीतिमा पनि परिवर्तन आवश्यक हुन्छ ।
२००४ मा नेपालमा डेंगु नयाँ समस्या थियो । अहिले यो देशको स्थापित जनस्वास्थ्य चुनौती हो । त्यसैले आजको आवश्यकता केवल अर्को “खोज तथा नष्ट” अभियान सञ्चालन गर्नु मात्र होइन । त्यस्ता अभियानलाई अझ प्रभावकारी बनाउँदै त्यससँग निगरानी, वातावरणीय व्यवस्थापन, जलवायुसम्बन्धी पूर्वतयारी, सामुदायिक सहभागिता÷ स्वास्थ्य प्रणालीको पूर्वतयारी जोड्नु हो ।
डेंगु नियन्त्रण कुनै एक मन्त्रालय, एक कार्यालय वा एक समुदायले मात्र गर्न सक्ने काम होइन। यो स्वास्थ्य, वातावरण, पानी, सरसफाइ, शहरी योजना, शिक्षा र स्थानीय शासनसँग जोडिएको साझा विषय हो । हामीले लामखुट्टे मात्र नियन्त्रण गर्ने प्रयासबाट अगाडि बढेर डेंगु फैलिन अनुकूल वातावरणलाई नै कम गर्ने दिशामा सोच्नुपर्ने समय आएको छ ।
(लेखक शर्मा र घिमिरे प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङमा जनस्वास्थ्य अधिकृतको रुपमा कार्यरत छन् ।)
सन्दर्भ सामग्री
- Situation update of Dengue 2022 (As of 11 Oct,2022) [Internet]. Epidemiology and Diseases Control Division. Available from: https://edcd.gov.np/uploads/news/pdf/6347833a92f00.pdf
- Situation update of Dengue 2022 (As of 31th Dec,2022). Epidemiology and Disease Control Division. doi:https://edcd.gov.np/uploads/news/pdf/63c63d4f8257e.pdf
- Situation Report of Dengue in Nepal-2023. Epidemiology and Disease Control Division. doi:https://edcd.gov.np/uploads/news/pdf/657e90834a34c.pdf
- Situation Report on COVID-19 and Dengue. doi:https://www.edcd.gov.np/uploads/news/pdf/69368daf91946.pdf
- National Guidelines on Prevention, Management and Control of Dengue in Nepal [Internet]. Teku, Kathmandu: Epidemiology and Disease Control Division; 2019. Available from: https://edcd.gov.np/uploads/resource/5dd5042654f67.pdf
- Bijukchhe SM, Hill M, Adhikari B, Shrestha A, Shrestha S. Nepal’s worst dengue outbreak is a wake-up call for action. J Travel Med. 2023 Nov 18;30(7):taad112. doi:10.1093/jtm/taad112
- Pokharel P, Khanal S, Ghimire S, Pokhrel KM, Shrestha AB. Frequent outbreaks of dengue in Nepal – causes and solutions: a narrative review. Int J Surg Glob Health. 2023 Sep;6(5). doi:10.1097/GH9.0000000000000351
- National Guidelines on Integrated Vector Management [Internet]. Epidemiology and Disease Control Division; 2020. Available from: https://www.edcd.gov.np/uploads/resource/5efc4fb3564cf.pdf
- Thakur CK, Adhikari S, Dhimal M. Climate-driven dengue fever outbreaks in Nepal: Trends, challenges, and strategies. World J Virol. 2024 Dec 25;13(4). doi:10.5501/wjv.v13.i4.95450
10.Policy brief on Stopping Dengue in its Tracks:Prevention and Control in Nepal [Internet]. [cited 2026 Aug 23]. Available from: https://elibrary.nhrc.gov.np/bitstream/20.500.14356/2758/1/RES01218_NHRC_2025.pdf
11.Bijukchhe SM, Hill M, Adhikari B, Shrestha A, Shrestha S. Nepal’s worst dengue outbreak is a wake-up call for action. J Travel Med. 2023 Nov 18;30(7):taad112. doi:10.1093/jtm/taad112




