सोमबार, भाद्र २२ २०८३

सोमबार, भाद्र २२ २०८३
  • २२ भाद्र २०८३ , सोमबार
  • September 7 2026

कसरी भरिएलान् गण्डकीका गाउँ

कसरी भरिएलान् गण्डकीका गाउँ

देश नै बसाइँसराइको मारमा रहेका बेला गण्डकीले ल्याएको ‘गाउँ फर्क’लाई पञ्चायतकालिन चश्माले नहेरी अहिलेको आवश्यकताका रुपमा बुझ्न जरुरी छ ।


  • चेतन अधिकारी
  • भाद्र २२ २०८३, सोमबार

गण्डकी सरकारले चालु वर्षको नीति तथा कार्यक्रममा रोेचक एवम् दूरगामी महŒवको कार्यक्रम समावेश ग¥यो । त्यो होः रिटर्न टु भिलेज । यो कार्यक्रमको नेपाली अनुवाद गर्दा पञ्चायतकालीन ‘गाउँ फर्क अभियान’सँग मिल्दो हुन जान्छ । ‘गाउँ फर्क राष्ट्रिय अभियान’ राजा महेन्द्रले सत्ताको बागडोर लिएको सात वर्षपछि २०२४ सालमा घोषणा भएको थिए ।

अहिलेको अभियानको नाम मिल्दो हो । यद्यपि ‘गाउँ फर्क’को उद्देश्य नितान्त फरक छ । गणतन्त्रकालीन संघीयतामा केन्द्रमुखी नभई थातथलो फर्काउनु प्रदेशको मूल उद्देश्य हो । गाउँबाट भइरहेको बाह्य बसाइँसराइ, जनसङ्ख्या संकुचन, गाउँमा घट्दो आर्थिक गतिविधिलाई पूर्ववत् अवस्थामा फर्काउन यो कार्यक्रम अघि सारिएको देखिन्छ । गण्डकीका बासिन्दा प्रदेशको सामरिक सहजताका सहर पोखरा, चितवन, बुटवल, नवलपुर वा मधेसतिर झरेका छन् । झर्ने क्रम जारी छ । जब गाउँ खाली हुँदै गयो; प्रदेश सरकारले समस्या भोग्न थाल्यो ।

लेखक

यो आर्थिक वर्ष सुरुवातसँगै कार्यक्रम कार्यान्वयनमा ल्याउने तयारीमा रहेको प्रदेश सरकारको उपादेयता र भविष्य के हो, त्यो कार्यक्रमको परिणामले पुष्टि गर्ने छ । कर्णप्रिय सुनिने यो ‘रिटर्न टु भिलेज’ अंग्रेजी शब्दावलीले एकैचोटि धेरै अर्थ बोकेको छ । पहिलो अर्थ प्रदेशका गाउँबाट बाह्य बसाँसराइँ ठूलो मात्रामा हुने गरेको छ । यसैपालि बसाँइसराइका क्रममा गाउँबाट मानिस सहर छिरेका होइनन् । वर्षौंदेखिको थातथलो छोडेर हिड्नेहरुको असरलाई नीतिमा सम्बोधन गरिएको हो ।

प्रदेशका गाउँहरू खाली भए, घर रित्ता भए । खेतबारी बाँझा भए । अन्न किनेर ल्याउनुपर्ने बाध्यता आइलाग्यो । यही कुरा रोक्नका लागि अर्थात् खाद्यान्न किन्ने पैसा जोगाएर पर्यटन, विद्युत लगायत अरु उत्पादनमूलक कार्यमा लगाउनका लागि प्रदेश सरकारले आफ्ना बासिन्दा वा पूर्व बासिन्दासँग हार गुहार ग¥योः ‘कृपया गाउँ फर्कनुहोस् !’

लाहुर र पुनर्वासबाट सुरु भयो रित्तिने क्रम
नेपालमा बसाइँसराइको इतिहास लामो छ । मानव विकासको इतिहास जति लामो छ, त्यत्तिकै लामो यसको इतिहास छ । प्राचीन कालमा मानिस शिकार गर्नका लागि बसाइँ सर्थे । कृषि युगमा खेतिपाती गर्न थातथातो सर्थे । आधुनिक युगमा सहज जीवनयापन, शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता आधारभूत कारण देखाएर मानिस नयाँ ठाउँप्रति आकर्षित भएका छन् । एउटै शब्दमा भन्दा अवसरका लागि बसाइँ सर्ने क्रम तीव्र छ ।

स्वभावैले अवसरहरू सहरमा छन् । सहर विदेशतिर छन् । अवसर तराइतिर केन्द्रित छन् । त्यसैले मानिसले तिनै गन्तव्य पछ्याएका छन् । गाउँ गाउँ पुगेका सडकले बसाइँसराइलाई रोक्न सकेनन्, बरु सहज बनाइदिने माध्यम भए । सडकसँगै उत्पादन र रोजगारी गाउँतिर गएन । तिनै कुराको खोजीमा मानिस झन् भौतारिएर हिड्न थाले । जब गाउँका गाउँ खाली गराएर मानिस अवसर छोप्न दौडिए; त्यसपछि प्रदेश सरकारले भन्यो ‘रिटर्न टु भिलेज !’

आधुनिक गण्डकी प्रदेशको बसाइँसराइको मेलो रोचक छ । अन्यत्रका मानिस डोको, नाम्लो, ढकार तोक्मा बोकी पैदल हिडेर बसाइँ सर्थे । यहाँका बासिन्दालाई पुनर्वास कार्यक्रममा चितवनमा निःशुल्क जग्गा दिएर सारिएको थियो । उनीहरु पोखराबाट जहाज चढेर चितवन बसाइँ सर्थे । त्यही दृष्यलाई कवि भूपी शेरचनले २०२२ सालतिर कवितामा लेखेका छन्ः
‘डोको, मधुस र हलो बोकेर
चितवनमा जग्गा खोज्न जान लागेको
माछापुच्छ«ेका सन्तानहरु बोकेर
जहाज आइरहेछन्
जहाज गइरहे छन् ।’

नेपालकै पहिलो पुनर्वास कार्यक्रम लागू भएको चितवनको राप्तीदुन उपत्यकामा ‘माछापुच्छे«का सन्तानहरू’ जहाजबाट गएका थिए । साबिक धौलागिरि, गोरखा, लमजुङ जस्ता पहाडी र हिमाली जिल्लाबाट धेरै मानिसलाई चितवनमा २ बिगाहासम्म जग्गा निःशुल्क दिएर लगिएको थियो । त्यसै बेलादेखि गण्डकीका गाउँबाट मानिसहरु बसाइँ सरिरहेका छन् ।

बसाइँसराइको विगत खोतल्दा पहिलो र दोस्रो विश्वयुद्धसँग नाता जोडिन्छ । विश्वयुद्धमा लड्नका लागि बेलायती सेनामा भर्ना हुने युवामा साबिक गण्डकी र धौलागिरिका मगर, गुरुङको बाहुल्य थियो । उनीहरु सिधै बेलायत, सिंगापुर, ब्रुनाइ जस्ता देशमा पुगे । युद्धमा कतिले ज्यान गुमाए । उताको सरकारी सुविधाका कारण ठूलो सङ्ख्यामा पूर्वलाहुरेको परिवार विदेशतिरै सरे । यो गण्डकीका गाउँ खाली गराउने अर्को माध्यम बन्यो ।

८ जिल्ला र ६६ पालिका रित्तिदै
गण्डकीमा ११ जिल्ला र ८५ स्थानीय तह छन् । त्यसमध्ये पोखरा महानगरसहित २७ नगरपालिका र ५८ गाउँपालिका छन् । प्रदेशमा २४,६६,४२७ जनाको बसोबास छ । गण्डकीको रोचक तथ्य के हो भने ठूलो भूगोल, धेरै स्थानीय तह भए पनि जनसङ्ख्या सानो क्षेत्रमा बढी छ । जसले गर्दा धेरै गाउँ खाली छन् । २०७८ को जनगणना अनुसार प्रदेशका १७ नगरपालिकाको जनसङ्ख्या हरेक वर्ष घट्दो छ । ४९ वटा गाउँपालिकामा पनि मानिस घटिरहेका छन् । यस हिसाबले १० नगरपालिका र ९ गाउँपालिकाको मात्र जनसङ्ख्या वृद्धिदर सकारात्मक छ ।

प्रदेशको जनसङ्ख्यामध्ये कास्की जिल्लामा एक चौथाइको बसोबास देखिन्छ । ६ लाख ५१ मानिसको बसोबास कास्कीमा छ । कास्कीको जनसङ्ख्याको ८६ प्रतिशत पोखरामा बस्छन् । यो तथ्यले गण्डकीको जनसङ्ख्या सीमित स्थानीय तहतिर केन्द्रित हुँदै गएको देखाउँछ । गण्डकीमा यसै पनि न्यून जनसङ्ख्या वृद्धिदर छ । २०६८–०७८ मा देशको जनसङ्ख्या वृद्धिदर ०.९३ प्रतिशत भए पनि गण्डकीमा ०.२५ प्रतिशतमात्र छ । कास्की (१.९०), नवलपुर (१.८६) र मुस्ताङ (०.६९) बाहेकका आठ जिल्लाले निरन्तर जनसङ्ख्या क्षति व्योहोरिरहेका छन् । जसमा गोरखा (–०.७४), मनाङ (–१.३९) म्याग्दी (–०.५७), लमजुङ (–०.७०), तनहुँ (–०.०६), स्याङजा (–१.२८), पर्वत (–१.०९) र बागलुङ (–०.७२) छन् ।

गण्डकीका गाउँहरू मानववीहिन हुँदै जाँदा उराठिला बनेका छन्; सम्भावनाहरू मर्न थालेका छन् । बचेखुचेका मानिसका आशामा पनि तुषारापात भएको देखिन्छ । देशमै सबैभन्दा बढी मानिसले घर छोडेको प्रदेश हो गण्डकी । नेपालका १५ प्रतिशत मानिस घर बाहिर छन् । गण्डकीमा मात्रै २६ प्रतिशत मानिस घरबाहिर छन् । त्यसमध्ये नेपालबाहिर हुने करिब ७.५ प्रतिशत छन् । गण्डकीका ११.६ प्रतिशत मानिस विदेश छन् । गण्डकी प्रदेशमा रहेका ८ लाखमध्ये ६१ हजार खाली छन् ।

अनौठो जनसङ्ख्यिक ग्राफ
जनसङ्ख्यिक संरचनाको हिसाबले गण्डकीले केही अनौठा विशेषता बोकेको छ । राष्ट्रिय औषतमा बालबालिकाको जनसङ्ख्या (०–१४ वर्ष) २७.८ छ भने गण्डकीमा त्यो भन्दा निकै कम अर्थात २३.९ छ । जसरी गण्डकीमा बालबालिकाको सङ्ख्या न्यून छ, त्यसैगरी ज्येष्ठ नागरिकको सङ्ख्या अधिक छ । राष्ट्रिय औषतमा ज्येष्ठ नागरिक १०.२ प्रतिशत हुँदा गण्डकीमा त्योभन्दा निकै माथि अर्थात १३.३ प्रतिशत छ । यसले के देखाउँछ भने देशभन्दा छिटो गण्डकी प्रदेश बुढो हुँदै छ ।

तथापि गण्डकीमा आशाका चम्किला किरण पनि छरिएका छन् । जनसङ्ख्याको करिब ६७ प्रतिशत मानिस काम गरेर खान सक्ने उमेरका (१५–६४ वर्ष) छन् । राष्ट्रिय तथ्यांक कार्यालयको प्रक्षेपण अनुसार गण्डकीमा सन् २०५१ सम्म नै यो अनुपात कायम हुने देखिन्छ । सन् २०२६ मा यहाँको सक्रिय जनसङ्ख्या ६७.२ प्रतिशत छ । सन् २०३१ मा पनि यो दर कायमै हुने देखिन्छ र सन् २०५१ मा पनि गण्डकीको जनसङ्ख्याको आकार घटे पनि सक्रिय उमेर समूहको जनसङ्ख्या करिब अहिलेकै स्थिति (६६.०८ प्रतिशत) कायम हुने देखिन्छ ।

प्रदेशमा देखिएको अर्को तथ्य हो सानो परिवारमा रमाउने । यहाँका परिवारमा औसत चार सदस्य पनि छैनन् । प्रदेशको परिवारको औषत आकार ३.७२ जना देखिन्छ । अघिल्लो दशकमा गण्डकीमा एउटा परिवारमा चार जनाभन्दा बढी सदस्य बस्ने गरेका थिए । यसले गण्डकीमा प्रजनन् दर पनि घटिरहेको देखाउँछ । सरदर नेपालका २३ प्रतिशत घरबाट परिवारकासदस्य विदेशतिर छन् । तर गण्डकीमा त्यो भन्दा निकै धेरै अर्थात ३१.४ प्रतिशत घरका मान्छे रोजगारी, अध्ययन वा आश्रित भएर विदेशतिर छन् ।

मध्यपूर्व र भारत बाहेकमा घर छोडेर जानेमा पुरुषभन्दा महिलाको सङ्ख्या ठूलो छ । जनगणना २०७८ को प्रादेशिक प्रतिवेदन अनुसार एसियाली मुलुकमा गण्डकीबाट गएकामध्ये ९.७ प्रतिशत पुरुष हुँदा २४.७ प्रतिशत महिला छन् । युरोपेली मुलुकमा ४.८ प्रतिशत पुरुष जाँदा १०.५ प्रतिशत महिला छन् । उत्तर अमेरिका जानेमा पनि पुरुषभन्दा महिलाको सङ्ख्या तीन दोब्बर बढी छ । ३.५ प्रतिशत पुरुष उत्तर अमेरिका जाँदा १०.४ प्रतिशत महिला त्यहाँ गएका छन् ।

तथापि गण्डकीका घर–घरमा ‘मातृसत्ता’ कायमै छ । देशका करिब २२ प्रतिशत घरको मुली महिला छन्, तर गण्डकीका ४१ प्रतिशत घरको मुली महिला छन् । ०६८ को दशकमा ३१.६ प्रतिशत घरमा महिला मुली थिए । एक दशकमा १० प्रतिशतभन्दा बढी घरको सत्ता महिलाको हातमा पुगेको छ । देशको जनसङ्ख्याको करिब ७.५ प्रतिशत पुरुष बैदेशिक रोजगारीमा हुँदा गण्डकीको ११ प्रतिशत छ ।

यतिखेर गण्डकीको जनसङ्ख्या केलाउँदा तन्नेरी प्रदेश नै लेख्ने रहर हो । प्रदेश अझसम्म तन्नेरी नै छ । तर माथिको तथ्याङ्कले भने जस्तै यो देशभन्दा छिटो बुढो भइरहेको प्रदेश हो गण्डकी । त्यसैले हरहालतमा यस प्रदेशले बुढो हुनुभन्दा पहिले नै समृद्धि हाँसिल गर्नु छ । त्यसका लागि तत्परता चाहिएको छ, प्रदेश र स्थानीय सरकारको । यो अथाह आर्थिक गतिविधिको सम्भावनाले भरिएको प्रदेश हो ।

त्यसका लागि मानव स्रोत अति महत्वपूर्ण छ । त्यो स्रोत गण्डकीमा अझै प्रशस्त छ । लाहुरे संस्कृति बहुल यस क्षेत्रका युवा अझै पनि गोरखा पल्टनमा भर्ना हुने दर उच्च छ । गोरखा पल्टनमा भएकाहरु बेलायतले दिएको आवासीय भिसाको सुविधामा त्यतै पलायन भएका छन् । यहाँ बाबुले कतारबाट रेमिट्यान्स पठाउने; छोराछोरी त्यही लिएर युरोप, अमेरिका जाने प्रवृत्ति छन् । त्यसैले कतिपय अवस्थामा रेमिट्यान्सका लागि नेपाल ट्रान्जिटमात्र बनेको देखिन्छ ।

गण्डकीका गाउँ युथलेस एन्ड टुथलेस
देश अहिले जनसाङ्ख्यिक लाभांशमा छ । तर लाभ अरुले नै लिइरहेका छन् । गण्डकी पनि जनसंख्यिक लाभांशमै छ । यो लाभको समानुपातिक वितरण भएको छैन । प्रदेशभित्र पनि जनसङ्ख्यिक लाभको फाइदा पोखरा जस्तो ठूलो सहरले मात्रै लिएको होला । पर्वतले लिन सकेको छैन । गोरखाले लिएको छैन । जनसङ्ख्याको सबैभन्दा ठूलो हिस्सा जिल्ला बाहिर (स्वदेश तथा विदेश)मा भएको जिल्ला गोरखा हो । यहाँका ४१ प्रतिशत मानिस जिल्ला बाहिर छन् । जब कि देशको औषतमा १५ प्रतिशत मानिस बसोबास थलोभन्दा बाहिर छन् ।

यो प्रदेशको सुरक्षा, रोजगारी, शिक्षा, उपभोग, स्वास्थ्य, उद्योग तथा समग्र विकासको रणनीतिसँग जोडिएको हुन्छ । त्यसैले बुढ्यौलीतिर ढल्कन लागेको गण्डकीमा अझै पनि वयस्क जनशक्ति छ । त्यो जनशक्तिलाई उपयोग गर्ने इच्छाशक्ति संघीय, प्रदेश र स्थानीय सरकारमा आवश्यक छ । यो लाभलाई गण्डकीले समयमा नै उपयोग गर्न सकेन भने जसरी कालीगण्डकीको शालिग्राम खेर गइरहेको छ; त्यसैगरी युवाको सृजनशीलता र बौद्धिकता खेर जाने छ ।

‘गाउँ फर्क अभियान’लाई गण्डकीले देखावटी कार्यक्रमका रुपमा मात्र अघि सारेको हो कि कार्यान्वयनमा लैजान्छ ? हेर्नै बाँकी छ । सहर वा तराइ पसेका मानिसलाई गाउँ फर्क भनेरमात्र हुँदैन । गाउँ फर्कने वातावरण बनाउने जिम्मा प्रदेश र स्थानीय सरकारको हो । किन मानिसले गाउँ छोडे भन्ने निक्र्यौल नगरी उनीहरुलाई जबरजस्ती फर्काउन सकिँदैन । सरकारले अब गाउँमा आकर्षण तŒवहरु वृद्धि गर्नुपर्दछ । त्यसका लागि के कारणले मानिस विकर्षित भए, त्यसको खोजी गरी हाल्नुपर्छ । देश नै बसाइँसराइको मारमा रहेका बेला गण्डकीले ल्याएको ‘गाउँ फर्क’लाई पञ्चायतकालिन चश्माले नहेरी अहिलेको आवश्यकताका रुपमा बुझ्न जरुरी छ ।

(पत्रकार अधिकारी नेपालको जनसङ्ख्यासम्बन्धी अध्येतासमेत हुन् ।)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->