काठमाडौं /। प्रधानमन्त्री बालेन्द्र शाहले साधन स्रोतको सीमितताबिच जलविद्युत् आयोजनाका सुरुङमा उद्धार जारी रहेको बताएका छन् । सोमबार फेसबुकमार्फत विपद् व्यवस्थापन तथा उद्धारका विवरण सार्वजनिक गर्दै उनले सुरुङमा भइरहेका उद्धार प्रयासबारे जानकारी दिएका हुन् ।
”आयोजना क्षेत्रहरूबाट पनि मानिसहरू सम्पर्कविहीन भएकाले हामीले सुरुवातदेखि हालसम्म खोज तथा उद्धार कार्य जारी राखेका छौँ,” प्रधानमन्त्रीले भनेका छन् । उद्धार कार्यलाई अन्तिम समयसम्म जारी राख्ने उनको भनाइ छ ।
रसुवागढी जलविद्युत् आयोजना
प्रधानमन्त्री बालेनका अनुसार रसुवागढी जलविद्युत् आयोजनामा हालसम्म हेलिकप्टर ल्यान्ड हुन नसक्दा उद्धारका सामाग्री पठाउन कठिनाइ भयो । यद्यपि सुरुङको २७५ मिटरसम्म नेपाली सेना पुगेको उनले बताए । हाल हेलिकप्टरबाट मिनी एक्स्काभेटर झारेर त्यस क्षेत्रमा खोजी जारी रहेको उनले बताएका छन् ।
लाङटाङ जलविद्युत् आयोजना
लाङटाङमा ग्यास वेल्डिङमार्फत प्वाल पारेर उद्धारको प्रयास गर्दा दुई शव फेला परेको प्रधानमन्त्रीको भनाइ छ । उक्त आयोजनामा पनि उद्धार प्रयास जारी रहेको उनको भनाइ छ ।
चिलिमे जलविद्युत् आयोजना
दलदलका कारण उद्धारमा कठिनाइ भएको चिलिमे जलविद्युत् आयोजनामा भारतबाट आएको विशेषज्ञ टोलीको रेकीपछि भदौ १४ गते उद्धार प्रारम्भ भएको उनले बताए । सुरुङबाट ९० मिटरभित्र प्रवेश गर्दा दुई शव भेटिएको प्रधानमन्त्रीको भनाइ छ ।
माथिल्लो त्रिशूली १ आयोजना
माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजना क्षेत्रमा पनि भदौ १० बाट खोज कार्य सुरु भएको प्रधानमन्त्रीको विवरणमा उल्लेख छ । भदौ १४ गतेबाट नेपाली सेना र चिनियाँ विशेषज्ञको टोलीले खोज कार्य सुरु गरेकोमा २०० मिटर भित्रसम्म प्रवेश गर्दा ताल देखियो प्रधानमन्त्रीले बताएका छन् । तालमा थर्मल ड्रोनको प्रयोग गरी खोजी कार्य गरेकोमा तीन शव फेला परेको र एकजनालाई जीवितै उद्धार गरिएको प्रधानमन्त्रीको भनाइ छ ।
त्रिशूली ३ ए, आयोजना
त्रिशूली ३ एमा भदौ १३ गते उद्धार सुरु भएको उनले बताएका छन् । ६ वटा एक्स्काभेटर प्रयोग गरी २५ मिटर खनेपछि बिजुलीको तारका लागि प्रयोग हुने सुरुङ पत्ता लागेको उनले बताएका छन् । उक्त सुरुङबाट उद्धार टोली प्रवेश गरेको र उनले बताए । त्यहाँ थर्मल इमेजिङ, इन्फ्रारेड क्यामेरा प्रयोग गरी खोजी जारी राखेको उनको भनाइ छ ।
त्रिशूली ३ बी आयोजना
त्रिशूली ३ बी मा अडिट सुरुङको १.७ किलोमिटर भित्र उद्धार टोली प्रवेश गरेको बताएका छन् । त्यसपछि सुरुङभित्र एउटा गाडी फेला परेको उनको विवरणमा भनिएको छ । खोजी कार्यका लागि थप उपकरण लग्ने क्रम जारी रहेको उनले बताएका छन् । आयोजनाको ६ वटा आवासीय र १ कार्यालय भवन बाढीका कारण पुरिएका छन्। ती संरचना पत्ता लगाउन १५ मिटर गहिराइसम्म उत्खनन भइसकेको प्रधानमन्त्रीको भनाइ छ ।





