सोमबार, भाद्र २२ २०८३

सोमबार, भाद्र २२ २०८३
  • २२ भाद्र २०८३ , सोमबार
  • September 7 2026

सन्तानेश्वरमा जारी महायज्ञमा १ करोड ६० लाख संकलन

सन्तानेश्वरमा जारी महायज्ञमा १ करोड ६० लाख संकलन


  • ढोरपाटन संवाददाता
  • भाद्र २२ २०८३, सोमबार

पोखरा/ पोखरा महानगरपालिका–५ प्रस्याङस्थित सन्तानेश्वर महादेव मन्दिर पुनःनिर्माणका लागि जारी श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञमा १ करोड ६० लाख रुपैयाँ संकलन भएको छ।

महायज्ञको छैटौँ दिन सोमबार करिब ७ लाख रुपैयाँ सहयोग संकलन भएको प्रस्याङ बगैँचा पार्क व्यवस्थापन समितिका सचिव लक्ष्मण कोइरालाले जानकारी दिए।
उनका अनुसार महायज्ञ सुरु हुनुअघि नै मन्दिर पुनःनिर्माणका लागि ७७ लाख रुपैयाँ संकलन भइसकेको थियो। महायज्ञ सुरु भएपछि भक्तजन तथा दानवीरको सहभागिता र सहयोग निरन्तर बढिरहेको आयोजकले जनाएको छ।

देशका विभिन्न क्षेत्रमा परेको प्राकृतिक विपद्का कारण महायज्ञको प्रारम्भिक दिनमा अपेक्षाकृत कम सहभागिता हुने आशंका गरिए पनि स्थानीयवासीले यसलाई धार्मिक अनुष्ठानसँगै सामाजिक अभियानका रूपमा अघि बढाएपछि भक्तजनको उत्साहजनक सहभागिता देखिएको छ।

वडा नं। ५ का विभिन्न टोल विकास संस्था, आमा समूह तथा स्थानीय समुदायसँगै छिमेकी वडाबाट समेत श्रद्धालु तथा दानवीरहरू महायज्ञमा सहभागी भइरहेका छन्।
महायज्ञ प्रचारप्रसार संयोजक लक्ष्मण बरालले धार्मिक आस्था, सामाजिक एकता र मानवीय सेवाको भावनालाई जोडेर महायज्ञ सञ्चालन गरिएको बताए।

उनका अनुसार संकलित रकममध्ये केही हिस्सा हालैको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको सहयोगमा प्रदान गरिनेछ। उनले मन्दिर पुनःनिर्माणको अभियानमा वडावासीको अभूतपूर्व एकता देखिएको र छिमेकी वडाबाट समेत सहयोगको क्रम बढिरहेको बताए।

महायज्ञमा पण्डित दीपकप्रसाद पौडेलले श्रीमद्भागवत कथा वाचन गरिरहेका छन्। भक्तजन कथा श्रवणसँगै भजन–कीर्तन, देवलिला तथा विभिन्न धार्मिक कार्यक्रममा सहभागी भइरहेका छन्। सोमबार अजा एकादशीसमेत परेकाले विशेष धार्मिक कार्यक्रमसहित महायज्ञ सञ्चालन गरिएको आयोजक समितिका अध्यक्ष शिवप्रसाद पराजुलीले बताए।

महायज्ञ भदौ २५ गतेसम्म सञ्चालन हुनेछ। महायज्ञबाट संकलित रकम सन्तानेश्वर महादेव मन्दिर पुनःनिर्माणमा प्रयोग गरिनेछ।

मन्दिरलाई चार ढोका र पञ्चमुखी शिवलिङ्गसहित आकर्षक शिवालयका रूपमा पुनःनिर्माण गरी धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।
सन्तानेश्वर महादेवलाई सन्तान प्राप्तिको वरदान दिने देवताका रूपमा पूजा गर्ने धार्मिक विश्वास छ। स्थानीय लीलाधर कोइरालाले करिब ९२ वर्षअघि मन्दिर स्थापना गरेका थिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->