म्याग्दी/बेनी नगरपालिका–२ खबराकी ७४ वर्षीया मनकुमारी घिमिरेको हत्या गरेको आरोपमा प्रहरीले २५ वर्षीय नाती आशिष बरुवाललाई बेनी नगरपालिका–२ हाडेभिरस्थित भाग्दै गरेको अवस्थामा पक्राउ गरेको छ ।
आरोपितले भदौ २२ गते घरायशी विवाद भएपछि धारिलो हतियार (दाव) प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीको डिएसपी राजन कार्कीले जानकारी दिए ।
बरुवाल अमेरिका गएको र ३ वर्ष कैद सजाय भुक्तान गरेपछि अमेरिकाले डिपोर्ट गरेर नेपाल आएका थिए । उनी जनैपुर्णिमाको दिन मामाघर आएको र सोमबार घर जाने तयारी रहेको समयमा एक्कासी हजुरआमालाई धारिलो हतियारले आक्रमण गरेकोमा घटनास्थलमै मृत्यु भएको पत्रकार सम्मेलनमा डिएसपी कार्कीले जानकारी दिए ।
बरुवाल सन् २०२१ मा अमेरिका गएको र त्यहाँ आफूले काम गर्ने रेष्टुरेन्टमा आगजनी गरेको अभियोगमा दोषी ठहर भई तीन वर्ष सजाय भुक्तान गरेर नेपाल फर्काइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उनी अमेरिकाबाट फर्किएपछि परिवारसँगको सम्बन्ध र पछिल्ला गतिविधिका विषयमा समेत प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
डिएसपी कार्कीले बरुवालको व्यवहार र गतिविधि सामान्य अवस्थाको जस्तो नदेखिएको बताए । यद्यपि उनको मानसिक अवस्थाबारे कुनै निष्कर्षमा पुग्नुअघि थप अनुसन्धान आवश्यक रहेको प्रहरीले जनाएको छ ।
घटना लगत्तै प्रहरी निरीक्षक सागर तिमिल्सिनाको नेतृत्वमा १५ जनाको प्रहरी टोली परिचालन गरिएको थियो । टोलीले घटनास्थलको मुचुल्का, प्रारम्भिक प्रमाण संकलन तथा अभियुक्तको खोजी गरी अनुसन्धान अघि बढाएको हो ।
पक्राउ परेका बरुवाललाई प्रहरीले कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाउन जिल्ला अदालत म्याग्दीबाट ५ दिनको म्याद थप गरेको जनाएको छ । घटनाको वास्तविक कारण र अन्य पक्षबारे थप अनुसन्धानपछि मात्रै विस्तृत विवरण खुल्ने प्रहरीको भनाइ छ ।





