पोखरा,२९ बैशाख -‘कोरियनहरु खाएर, पिएर रमाइलो गर्न चाहन्छन्, नाच्नुपर्छ, केटी पनि नजिकै चाहिन्छ’ ६४ वर्षीय कोरियन बूढाले आफ्ना चिम्सा आँखा झिम्क्याउँदै करिब चार वर्षअघि भनेका थिए ‘ गोजीमा ल्याएको पैसा सक्नु प¥यो नि, गोजीमा पैसा छ तर सक्ने ठाउँ छैन ।’
कोरियन फोटोग्राफी एसोसियसन ( हान्गुक साजिन छाक्का हेफ्फे ) सँग आवद्ध किम साङ युन थिए, उनी । ४० जना कोरियाली फोटो पत्रकार लिएर नेपाल आएका उनीहरु कास्कीको हेम्जाकोट, सराङकोट र फेवाताल क्षेत्रका सुन्दर दृष्यहरुलाई क्यामेरामा कैद गरी पोखराको लेकसाइडमा सुस्ताउँदै थिए ।
पोखरामा रहेका कोरियन रेष्टुरेण्टमा परम्परागत ‘किम्ची’को स्वाद लिएपछि उनको टोली रात्रिकालीन गतिविधिमा रमाउन चाहन्थ्यो । छोरासहित आएका प्रोफेसर नै चम्केपछि अरुको के कुरा ? तर, जाने ठाउँ थिएन । ‘पोखरामा रात्रिकालीन मनोरञ्जन छैन भनेपछि उनीहरु खिस्रिक्क परे । नेपाल आउन चाहनेलाई सजिलोसँग हवाई टिकटको उपलब्धता, विश्वभर प्रचार र मनोरञ्जनका गतिबिधि थप्न सुझाए अनि चुरोटको धुँवासँगै आफ्नो टिमका साथीहरुलाई आफ्नै भाषामा केही कुरा भने ।
२०७४ सालतिर जनार्दन शर्मा गृहमन्त्री थिए । उनले ८४ बुँदे गृह सुधार योजना अगाडि सारे । त्यो योजनाको २४ औँ बुँदामा पर्यटकीय क्षेत्रहरु २४ सै घण्टा खुलाउने प्रतिवद्धता व्यक्त गरिएको थियो । गृहमन्त्रीको प्रस्तावसँगै गृहमन्त्रालयले प्रहरी प्रधान कार्यालय र जिल्ला प्रशासन कार्यालयहरुलाई पत्राचार ग¥यो । २४ सै घण्टा खुल्ला राख्ने क्षेत्रमध्ये पोखराको लेकसाइड पनि छनौट भयो । कास्कीका तत्कालीन एसपी घनश्याम अर्यालले लेकसाइड १२ सै घण्टा खोल्न दिने तयारी गरेको घोषणा पनि गरे । मन्त्री फेरिए, एसपी फेरिए । लेकसाइड भने रातभर खुल्ने गरी फेरिएन । सामान्यतया ः मध्यरातमा बन्द हुन्छ । लाउन्ज बार र डिस्को भने २ बजेसम्म खुल्ला रहन्छन् ।
‘हामीले अदालतबाटै २ बजे बिहानसम्म खोल्नको लागि परमादेश लिएका डिस्कोसहितका केही बारहरुलाई सुरक्षा दिएका छौँ’, बैदाम प्रहरीचौकीका डिएसपी कोमल शाहले भने,‘ अहिले लेकसाइड रातभर खुल्दैन, कतिपय अवस्थामा राति हल्ला भएको उजुरी पनि आउने गरेको छ ।’
उनले राज्यले नै २४ सै घण्टा खोल्ने निर्णय गरेमा त्यसको सुरक्षा दिन प्रहरी सक्षम भएको दावी पनि गरे । उनले रातभर खुल्ला राख्ने व्यवसायीहरुले पनि सुरक्षा व्यवस्था दरिलो बनाउन सहयोग गर्नुपर्नेमा जोड समेत दिए ।
डिएसपी शाहले यसो भनिरहँदा २ बजेसम्म डिस्को र लाउञ्ज बार खोल्ने अनुमति पाएकाहरुसँग पनि प्रहरी÷प्रशासन त्यति खुसी चाहिँ छैन । डिस्को भित्र त ठीकै होला तर बाहिर निस्केपछि समस्या ! कहिले प्रहरीको दुब्र्यवहार त कहिले होटलसम्म पुग्नै समस्या ! ‘रात्रिकालीन गतिबिधि नहुँदा पर्यटकहरु मन खुम्च्याएर होटलकै कोठमा थन्किन बाध्य छन्’, लेकसाइडमा रात्रिकालीन व्यवसाय गर्दै आएका एक व्यवसायीले भने,‘ हामीले ग्राहकसँगै प्रहरी पनि रिझाउनुपर्ने बाध्यता छ ।’
प्रदेश सरकारका कानूनमन्त्री विकास लम्सालले पोखरामा छुट्टै मनोरञ्जन क्षेत्र बनाउने, रातभर खुल्ला राख्ने र थप पर्यटकीय गतिबिधि बढाउने घोषणा गरिरहँदा यहाँको प्रशासन÷प्रहरी भने आफ्नै तालले बस्तुस्थितिको अध्ययन गरिरहेको बताउँछ । अहिले पनि जिल्लाको सुरक्षाको जिम्मा प्रमु्ख जिल्ला अधिकारीलाई नै छ । उसले चाहेर पनि आफूखुसी सुरक्षाकर्मी परिचालन गर्न सक्दैन । न त, सिडियो र प्रहरीका हाकिम नै गृहलाई नसोधी केही गर्न सक्ने अवस्थामा छन् ।
त्यसैले पर्यटनमन्त्रीको भाषण तत्काल कार्यान्वयनमा आउँछ भन्ने पर्यटन व्यवसायीलाई विश्वास छैन । ‘राति ११ बजेपछि आउने पर्यटकले बास नपाउने अवस्था छ, राति अबेरसम्म खोल्न दिन्छौँ भन्ने आश्वासन पूरा भएको छैन, यस्तोमा कहिले इन्जोय जोन बन्ने र कहिले हामी त्यहाँ सर्ने ?’, एक पर्यटन व्यवसायीले प्रश्नसँगै व्यङ्ग्य गरे,‘सायद हाम्रा मन्त्रीज्यू ( पर्यटनमन्त्री विकास लम्साल ) हालसालै थाइल्याण्ड गएको हुनुपर्छ, उहाँले त्यहाँको उज्यालो नभुल्दासम्म यो हल्ला चल्छ र पछि लेकसाइडको अध्याँरोमा हराउँछ ।’
फाइल फोटो ः कास्कीको उत्तरी गाउँ हेम्जाकोट पुगेपछि सामूहिक तस्वीर खिचाउँदै कोरियन फोटोग्राफर एसोसियनमा आवद्ध पर्यटकहरु । उनीहरु नेपालको प्राकृतिक दृष्य तथा मानवीय गतिविधीको तस्वीर खिच्नको लागि नेपाल आएका हुन् ।





