बागलुङ,११ जेठ – धौलागिरी क्षेत्रकै ठूलो पुरस्कार राशीको डम्बर संस्कृति राष्ट्रिय पुरस्कार कास्कीका संस्कृति बिद् डा. जगमान गुरुङलाई दिइने भएको छ । बागलुङ स्थित राधाकृष्ण मन्दिर सेवा समितिका संस्थापक अध्यक्ष डम्बरबहादुर श्रेष्ठको स्मृतिमा स्थापित कोषबाट गुरुङलाई पुरस्कृत गर्न लागिएको हो ।
कोषमा श्रेष्ठका परिवारले ७ लाख रुपैयाँ जम्मा गरिएको छ । उक्त कोषमा वर्तमान र यस अघिका कार्यसमितिहरुले जम्मा गरेको ५ लाख गरी १२ लाख रुपैयाँको कोष बनेको राधाकृष्ण मन्दिर सेवा समितिका अध्यक्ष रमेशकुमार राजभण्डारीले बताए । उक्त पुरस्कार समर्पणका लागि राजभण्डारीकै अध्यक्षतामा रहेको एक छनौट समितिले गुरुङको नाम सिफारिस गरेको हो । समितिमा हरिप्रसाद उपाध्याय, देवबहादुर श्रेष्ठ र प्रेम छोटा रहेका छन् ।
गुरुङले नेपाली कला र संस्कृतिको क्षेत्रमा बिशेष योगदान दिएका छन् । कास्कीको याङ्गजाकोटमा २००३ सालमा जन्मेका उनले भारतको कोलकताबाट ज्योतिष अध्ययन गरिसकेपछि गण्डकी प्रदेशको गुरुङहरुमा प्रचलित चिनिया, तिब्बती ज्योतिष शाष्त्र बिषयमा बिद्यावारिधी गरेका थिए । उनले २०२४ सालमा मुखिया पदमा जागिर खाएका उनले सह प्राध्यापक र संस्कृति बिज्ञको उपाधि पाएका छन् । विभिन्न संघ संस्थाबाट सयौं पुरस्कार पाएका छन् । धेरै लेख रचना पनि लेखेका गुरुङलाई ७५ हजार राशीको उक्त पुरस्कार दिइने भएको हो । हरेक दुइदुइ बर्षमा वितरण गर्ने गरी यो पुरस्कारको कार्यविधि बनाउने क्रममा रहेको राजभण्डारीले बताए ।





