पोखरा,२३ भदौ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपाका कार्यकर्ता चिनीपानी झैँ घोलिनुपर्ने बताएका छन् । नेकपाका गण्डकी प्रदेश इन्चार्ज समेत रहेका गुरुङले तत्कालिन एमाले र माओवादी विच अझै घुलमिल हुन बाँकी रहेको भन्दै त्यस्तो बताएका हुन् ।
‘झापा आन्दोलनका कुरा गर्दा एकथरी एकातिर फर्कने, माओवादी जनयुद्धका कुरा गर्दा अर्कोथरी अर्कातिर फर्कने नमिल्ने जस्तो देखियो, उनले भने, अब पार्टी एकता भइसकेपछि यस्तो हुनुहुँदैन, चिनीपानी झैँ घोलिनुपर्छ ।’
माओवादी जनयुद्धका क्रममा शहिद भएका सुरेश वाग्ले वासु तथा भीमसेन पोखरेल वैरागीको सम्मानमा आयोजित स्मृति सभामा बोल्दै मुख्यमन्त्री गुरुङले उक्त कुरा बताएका हुन् । हिजो एमाले र माओवादी अलग अलग ठाउँमा रहेर लडेपनि उदेश्य नयाँ जनवादी क्रान्ति गर्नु रहेको भन्दै एउटै शक्तिशाली कम्युनिष्ट पार्टी बनाउन पार्टी एकता गरेको बताए ।
उनले शान्ति प्रक्रियाका बाँकी काम छिटो सक्नुपर्ने धारणा राखे । सत्य निरुपण तथा बेपत्ता आयोग र बेपत्ता छानविन आयोग चाँडै गठन गरेर शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्न सरकार र पार्टीको ध्यान जानुपर्ने बताए ।
गण्डकी प्रदेशका शहिद तथा बेपत्ता परिवारलाई राहत पुग्ने गरी कार्यक्रम ल्याउन प्रदेश सरकार प्रतिवद्ध रहेको उनले बताए । गण्डकी प्रदेशमा विभिन्न चरणमा शहिद भएका परिवारको अवस्था र बेपत्ता परिवारको अवस्था खोजविन गरेर यथार्थ ल्याइने भन्दै उनीहरुलाई शिक्षा र जिविकोपार्जनका लागि योजना बनाउन समेत उनले आग्रह गरेका छन् ।
शहिदले देखेको सपना पुरा गरेर मात्र उनीहरु प्रति सच्चा सम्मान रहने उनको भनाई छ । जुन सिद्धान्त र दर्शनमा प्रतिवद्ध भएर शहिद भएका छन्, उनीहरुको सपना पुरा गर्ने जिम्मेवारी हामी बाँच्नेहरुमा छ, मुख्यमन्त्री गुरुङले भने, शहिदले देश र जनताका लागि गरेको बलिदान प्रति इमान्दार छौँ कि छैनौं आत्मसमिक्षा गर्नुपर्छ ।
अर्ध औपनिवेशिक र सामन्ती राज्यसत्ताका विरुद्ध संघर्ष गर्न पार्टी बनाएको स्मरण गर्दै उनले अहिले पुँजीवादी चरणमा प्रवेश गरेको बताए । अहिलेको सफलता एउटा खुट्किलो मात्र हो, उनले भने, हामी अब समाजवादी क्रान्तिको चरणमा प्रवेश गर्नुछ ।
राज्यसत्ताको प्रयोग गरेर आमुल परिवर्तन गर्नुपर्ने भन्दै उनले पार्टी र सरकारको जिम्मेवारीमा रहेकाहरुलाई इमान्दार बन्न आग्रह गरे । पार्टीको सिद्धान्त एकातिर व्यवहार अर्कैतिर देखिएको छ उनले भने, सिद्धान्त अनुसार व्यवहार भए मात्र शहिदको सपना पुरा गर्ने बाटोमा लागिन्छ ।
नेकपा गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा स्थायी कमिटी सदस्य सोमनाथ प्यासी, शहिद परिवार दुर्गा पहारी, बेपत्ता परिवार तेजकुमारी पौडेल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा शहिदद्धयका बारेमा नेकपाका केन्द्रिय राजकाजी गुरुङ करणले जानकारी दिएका थिए ।





