पर्वत, २६ भदौ – पर्वत स् पर्वतको कुस्मा नगरपालिका ३ दुर्लुङमा श्रृङखलाबद्ध रुपमा चोरीका घट्ना भएपछि स्थानीयले चिन्ता प्रकट गरेका छन् । दुर्लुङका वडाध्यक्ष तेजप्रसाद पाध्याका अनुसार गत २३ गते राती दुर्लुङको कोटथरका केशबहादुर क्षेत्रीको घरबाट २ तोला तौल भएको एउटा सुनको औँठी र ८५ हजार रुपैयाँ नगद चोरी भएको छ । रातीको समयमा घरको ढोका फुटाएर घरबाट चोरी भएको हो । यस्तै, २४ गते राती पनि क्षेत्रीको घरभन्दा केही तल रहेको धनमाया गुरुङको घरको ढोका फुटाइएको भेटीएको छ । धनमाया पोखरामा रहेको छोरीको घरमा बस्न गएकोले घरमा कोही पनि नभएको मौका पारेर ढोका फुटाएको भेटीएको हो । वडाध्यक्ष पाध्याका अनुसार धनमाया गाउँमा नआइपुगन्जेल उनको घरबाट के कति चोरी भएको हो भन्नेबारेमा केही पनि खुलेको छैन् । जिल्ला प्रहरी कार्यालय पर्वतबाट गएको प्रहरी टोलीले चोरीको बिषयमा मुचुल्का तयार पार्नुको साथै गस्ती र निगरानीलाई बढाएको प्रहरीलाई उद्धृत गर्दै वडाध्यक्ष पाध्याले जानकारी दिनुभयो । गाउँमा चोरको बिगबिगी हुँदै जान थालेपछि आज मात्रै वडा कार्यालयमा जनप्रतिनिधि र स्थानीय यूवाहरुको बीचमा छलफल पनि भएको छ । चोरीका घट्ना बढ्न नदीनको लागि स्थानीय यूवाहरुले सक्रियता बढाउने र दिउसो तथा राती दुवै समयमा घरहरुमा निगरानी गर्ने निर्णय भएको छ ।





