काठमाडौं, १९ असोज – बलात्कार प्रयास गरेको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलाशले महरालाई पक्राउ गर्न अनुमति दिएको हो। प्रहरीले जिल्ला अदालत काठमाडौंमा पक्राउ पूर्जी जारी गर्न आइतबार दिउँसो निवेदन दिएको थियो। काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले अदालतबाट पक्राउ पूर्जी जारी गर्नका लागि कानुनी प्रक्रिया पूरा भएको बताए। ‘पक्राउ पूर्जी लिन काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ’, सुवेदीले भने। महराविरुद्ध संसद् सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीले शुक्रबार बलात्कार प्रयास गरेको अभियोगसहित प्रहरीमा किटानी जाहेरी दिएकी थिइन । यससँगै निवर्तमान सभामुख महरालाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेको छ । तर पक्राउ गर्नुअघि संसदले निलम्बनको प्रक्रिया पुरा गर्नुपर्नेछ ।
यस्तो छ घटनापछिको अवस्था
महरामाथि १२ असोजको साँझ संसद सचिवालयकी महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको आरोप छ । पीडित महिलाले सुरुमा दिएको बयानअनुसार महरा त्यो दिन साँझ उनको कोठामा आएका थिए । आफूले श्रीमान छैनन् भन्दाभन्दै आएको र बलात्कार प्रयास गरेको उनको दाबी छ । आफूले प्रतिवाद गर्दा कुटपिट गरेको उनको दाबी छ । घटना लगतै उनले प्रहरी कन्ट्रोलको १०० मा फोन गरेर गुहार मागेकी पनि थिइन् । उनको फोनका आधारमा महानगरीय प्रहरी वृत्त, बानेश्वरको टोली उनको कोठामा पुगेको थियो । त्यसको भोलिपल्ट यो घटना बाहिर आयो ।
महरा र उनको सचिवालयले भने आरोप अस्वीकार गरेको थियो । त्यसवेला महराले कर्मचारी समायोजनमा परेपछि आफूमाथि रिस पोखिएको दाबी गरेका थिए । तर महरा र पीडित महिलाको कल डिटेल रेकर्ड (सीडीआर), सीसी टीभी फुटेज लगायतको विश्लेषणबाट प्रहरीले महरा त्यो दिन सुविधानगरस्थित महिलाको घरमा पुगेको निष्कर्ष निकालेको थियो । १४ गते बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले उनलाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन सुझाएको थियो । लगतै महराले सभामुख पदबाट राजीनामा दिए । यद्यपि सांसद पदबाट भने राजीनामा दिएका छैनन् ।उनको राजीनामा आएको केहीबेरमा पीडित महिलाको भिडियो सार्वजनिक भयो, जसमा बोली फेर्दै उनले महरा आफ्नो कोठामा आउँदै नआएको दाबी गरिन् ।
उनी उजुरीका लागि प्रहरी कहाँ र स्वास्थ्य परीक्षणका लागि अस्पताल पनि गइनन् । बरु १५ असोजमा बानेश्वर प्रहरीमा गएर ‘आफू डिप्रेसनको शिकार भएको र के बोलेँ थाहा नभएको’ भन्दै निवेदन दिएकी थिइन् । पीडित महिला र उनका पतिबीच सम्बन्ध विच्छेद गर्ने निर्णय भएको १६ साउनमा सार्वजनिक भयो । तर घटनाले त्यसबेला फेरि यू-टर्न लियो, जब पीडित महिलाले शुक्रबार महराविरुद्ध किटानी जाहरी दिइन् ।





