पर्वत,२८ कात्तिक – हरेक मानिसले पिडा पर्दा भगवानलाई पुकार्ने गर्छन् । पिडाबाट मुक्ति दिलाउने अन्तिम आसा भगवानसँग गरिएको हुन्छ । तर कहिलेकाहीँ तिनै भगवानले पनि न्याय नगरेका हुन की ? भन्ने कतिपयलाई लाग्छ । जो मान्छे समस्यामा परेको हुन्छ उसैमाथि समस्याको झनै बर्षा भएपछि भगवानाले अन्याय गरेको अनुभुति हुनु पनि स्वभाविकै हो । पर्वतको कुश्माकी सबितालाई पनि अहिले त्यस्तै लागेको छ ।
कुस्मा नगरपालिका ४ जिरो किलोमिटरकी सबिता परियार काखमा नाबालिका बच्चा लिँदै सदरमुकाम कुश्माका बिभिन्न विद्यालयहरुमा डुलिरहेकी छिन् । उनले भेटेका र सहयोगको आसा गरेकाहरुलाई काखमा लिएकी १२ दिने छोरी र दुवै मृगौला फेल भएपछि पोखरामा आई.सि.यू मा राखिएकी तिनै छोरीकी आमा बिसकालाई बचाउन सहयोग गर्न अनुरोध गरिरहेकी छिन् ।
सहयोग माग्ने सिलसिलामा सबिता सदरमुकाम कुश्मामा रहेको नारायण माध्यमिक विद्यालमा पुगिन । विद्यालयमा गठित जुनियर रेडक्रस सर्कलमा आबद्ध विद्यार्थीहरूले शिक्षक र विद्यार्थी समक्ष पुगेर घट्नाको बारेमा जानकारी गराउँदै ८ हजार रुपैयाँ सहयोग सङ्कलन गरे । मानवीय संवेदना बुभ्mदै विद्यार्थीहरूले खाजा खानको लागि ल्याएको पैसाबाट थोरै भए पनि सहयोग गरेका हुन् ।
गत कात्तिक ६ गते सबिताकी देउरानी बिसकाको जिल्ला अस्पताल पर्वतमा गर्भ परीक्षण भयो । कुस्मामा बच्चा जन्माउनको लागि शल्यक्रियाको सुविधा नभएकोले धौलागिरी अंचल अस्पताल बागलुङमा रिफर भयो । त्यो अवस्थामा चिकित्सकले बच्चा जन्माउनको लागि दिएको मिति कटिसकेको थियो । यही कारण बागलुङ अस्पतालले शल्यक्रिया मार्पmत बच्चा निकाल्न सुझाव दिँदै पोखरा पठायो। कात्तिक १७ गते पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान स्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल गण्डकी हस्पिटलमा शल्यक्रिया गरेर बिसकाको पेटबाट छोरी निकालियो । आमा छोरी दुवैको अवस्था ठिकै थियो । तर शल्यक्रिया गरेको २४ घण्टासम्म अर्थात् कात्तिक १८ गतेसम्म पिसाब भएन । उनको शरीर र पेट पुरै फुलेको थियो । मिर्गौलामा खराबी भएको हुन सक्ने अनुमान गर्दै भिडियो एक्स रे गरेर हेर्दा दुवै मिर्गौला फेल भएको देखियो ।
उनको स्वास्थ्य अवस्था जटिल बन्दै गयो । तत्काल नै अक्सिजन दिएर आई.सी.यु मा भर्ना गरेर राखियो । तर विडम्बना आमाको पोसिलो दूध चुस्नुपर्ने १ दिनको बच्चालाई आई.सी.यु मा राख्न मिलेन । बच्चालाई सङ्क्रमण हुन नदीनबाट जोगाउनको लागि आमासँग राख्न नमिलेको बिसकाकी जेठानी सबिताले बताइन् । बिसका ११ दिनदेखि अस्पतालको आई.सी.यु मा नै राखिएकी छन्। एक÷एक दिनको अन्तरमा उनका मिर्गौलाको डायलाईसिस गर्नु परिरहेको छ ।
कोख चिरेर निकालिएकी पहिलो सन्तान छोरीकै मुख देख्न पाएकी छैनन् बिसकाले । न त आपैmले जन्माएको छोरीलाई एक थोपा दूध चुसाउन पाएकी छिन् । जन्मैबाट आमाको दूधको स्वाद चाख्न नपाएकी नाबालिकालाई ल्याक्टोजीन खुवाएर प्राण धानिएको छ । ‘यतिसम्म पिडा हुने रहेछ की कुरै नगरौँ, ११ दिनकी छोरीलाई मसँग राखेकी छु, ल्याक्टोजीन खुवाएर प्राण धानेकी छु ।’ सबिताले भनिन, ‘जसोतसो आमालाई बचाउन पाए त यो छोरीको प्राण बाँच्ने थियो। जन्मँदै टुहुरी जस्ती भइन् ।’ आमाको दूध खान नपाएकै कारण छोरी रातभर रुने गरेकोले आपूmले काखमा राखेर सुमसुम्याउँदै भुलाउने गरेको उनले सुनाइन् । छोरी जन्मिएकै रातबाट सबिता सुतेकी छैनन् । ‘रातभर रुन्छिन, फकाउनै गाह्रो हुन्छ ।’ सबिता भन्छिन, ‘छोरी रोएपछि म उठ्छु अनि मेरो गालामा उसको गाला टसाउँदै न्यानो पार्छु । तर पनि मनाउनै मुस्किल ।’ नाबालिकालाई आमाको अभाव हुन नदिन आपैmले दूध चुसाउने गरेको र त्यो बेलामा मन भक्कानिने गरेको बताउँदै सबिताले आप्mनो बोली पूरा गर्न सकिनन् । सबिताकी छोरी ६ वर्ष पुगिसकेकोले उनको दूध पनि राम्रोसँग आउँदैन। त्यही कारण दूध चुसाउन लागेको बेलामा ल्याक्टोजिन खुवाउनुपरेको उनको भनाई छ ।
उनको उपचारको लागि अहिलेसम्म एक लाख रुपैयाँ भन्दा बढी खर्च भइसकेको छ । अब कति लाग्ने हो भन्ने निधो छैन । चिकित्सकहरूले कम्तीमा पनि ३ हप्तासम्म डायलिसस गरिरहनुपर्ने बताएका छन् । सबिताका अनुसार बिसकाको शरीर फुलेकोले नशाहरूमा राम्रोसँग रक्त सञ्चार भइरहेको छैन । उनको शरीरमा रगत परिवर्तन गरेर मिर्गौलाको समस्या ठिक पार्नुपर्ने छ । रक्तनलीको समस्याका कारण हातबाट दिइएको रगत सञ्चार नभएपछि घाँटीको नशामा प्वाल पारेर त्यहीँबाट रगत दिइएको छ । अझैसम्म पनि सबिताको शरीरको पिसाब प्रणालीले काम गरेको छैन् ।
डायलाईसिसबाट पनि मिर्गौलाको समस्या समाधान नभएमा उनका दुवै मिर्गौला फेर्नु एउटै मात्र विकल्प छ । तर मिर्गौला दिनको लागि मान्छे पाउनै पनि समस्या रहेको सबिताले जानकारी दिइन् ।
बिसकाकी जेठानी सबिताले आमा र छोरी दुवैलाई बचाउनका लागि सहयोगको अपिल गर्दै जिल्लाका विद्यालय देखि हरेक ठाउँ चहारिरहेकी छिन् । मिडिया क्षेत्रका मान्छेसँग खासै परिचय नभएका कारण आप्mनो परिवारको समस्या बाहिर नआउँदा सहयोग गर्ने मन भएकाहरूले पनि सहयोग गर्न नपाएको हुन सक्ने सबिताले बताइन् ।
देउरानी र छोरी दुवैलाई बचाउनकै लागि आर्थिक सहयोग चाहिने भए पनि सबिताले जिल्लाका विभिन्न ठाउँहरूमा सहयोग माग्दै हिँड्न थालेकी छिन् । वडा कार्यालयमा हालै मात्रै निवेदन दिएको भए पनि अन्य कार्यालयहरूमा नगएको तर विद्यालयमा गए केही उपाय लाग्ने आसामा हिँडेको उनको भनाई छ ।
आमा र बच्चाको अवस्था बुझेपछि कसैको मन सहयोगका लागि तयार भएमा मेघा बैङ्क, पर्वत शाखामा सबिता परियारको नाममा सञ्चालनमा रहेको खाता नं. ०४८००५००११३१९ मा पैसा जम्मा गर्न सकिने उनले बताइन् ।
मिर्गौला फेल भएकी बिसकाको परिवारको आर्थिक अवस्था पनि निकै कमजोर छ । आई.सी.यु मा राखिएकी बिसकाका श्रीमान् कुस्मा बागलुङ चल्ने बसमा सहयोगीको काम गर्छन् । उनको कमाई त्यति धेरै छैन, जसले फेल भएका मिर्गौलाको उपचार गर्न सकियोस् ।
बिसकाका ससुरा पदम परियारको पनि खुट्टा चल्दैन। नशा सम्बन्धी रोगको कारण गरिएको शल्यक्रियापछि उनको खुट्टा चल्न छाडेको हो । जसोतसो सानो सिलाई पसल सञ्चालन गरेको भए पनि ब्यपार खासै छैन । बिसकाकी जेठानी सबिताको परिवारले पनि मजदुरी गरेर नै जीवन धानिरहेको छ । उनीहरूको जग्गामा उब्जिने खाद्यान्नले परिवारको छाक टर्दैन ।





