काठमाडौँ, ३० कात्तिक- नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले केपी वली सरकारले घोषणा गरेको उपचुनाव सशक्त बहिष्कार गर्ने जनाएको छ । शुक्रवार राती अवेर पार्टीको निर्णय सार्वजनिक गर्दै महासचिव विप्लवले भारतीय साम्राज्यवादले नेपाली भूमि कब्जा गर्दा र मुलुकमाथि राष्ट्रघात हुँदा पनि साम्राज्यवादको विरोध गर्नुको सट्टा जनतालाई झुक्याउन र सामाजिक दलाल फासिवादी सत्ता सुदृढ गर्न उपनिर्वाचनको नाटक मञ्चन गरिएको भनेको छ । विज्ञप्तीमा सरकारले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सङ्घर्ष गर्ने सम्पूर्ण शक्तिलाई दमन गर्दै आएकाले केपी वली सरकारले घोषणा गरेको उपचुनाव सशक्त बहिष्कार गर्ने निर्णय गरेको उल्लेख छ । विज्ञप्तिमा वर्तमान सामाजिक फासिवादी सरकारले मङ्सिर १४ गते कथित उपनिर्वाचनको घोषणा गरेकोले त्यसको बहिस्कार गर्न आब्हान गरिएको छ । भारतीय साम्राज्यवादले नेपालको जमिन मिचेर नयाँ नक्सा सार्वजनिक गरेपछि त्यसका विरुद्ध देशभक्त जनता सडकमा उत्रिएका छन् । हाम्रो पार्टीले सबै देशभक्त शक्तिलाई उक्त सङ्घर्षमा उत्रिन पनि आह्वान गरिराखेको छ । 
‘आफूलाई खाँट्टी राष्ट्रवादी भएको भन्दै आएको केपी सरकारले यति ठूलो राष्ट्रघात हुँदा पनि भारतीय साम्राज्यवादको विरोध गर्नुको सट्टा जनतालाई झुक्याउन र सामाजिक दलाल फासिवादी सत्ता सुदृढ गर्न उपनिर्वाचनको नाटक मञ्चन गरेको छ । लोकतन्त्रको वकालत गर्न सरकारले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सङ्घर्ष गर्ने सम्पूर्ण शक्तिलाई दमन गर्दै आएको छ । त्यसैले हाम्रो पार्टीले यो उपचुनावको सशक्त बहिष्कार गर्ने पार्टी निर्णय गरेको छ ।’ सरकारले आफ्नो पार्टीमाथिको प्रतिबन्ध नहटाएसम्म उपचुनावका कार्यक्रमहरूमा सरकार र सत्तामा सामेल पार्टीहरूका गतिविधिलाई प्रतिबन्ध लगाउने निर्णय गरेको जनाएको छ । आमजनतालाई सरकारी पार्टीका चुनावी कार्यक्रमहरूमा सहभागी नबन्न विशेष अनुरोध गरेको छ । विप्लवले सेना र प्रहरीलाई जनता र आफ्नो पार्टीविरुद्ध दमनमा सहभागी नबन्न समेत अपिल गरेको छ ।





