काठमाडौं, १ मंसिर – आइतबार साँझ बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनको सम्पूर्ण अधिकार प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिने निर्णय गरेको छ। ‘मन्त्रिपरिषद् पुनर्गठनको विषयमा छलफल भएको छ’, बैठकपछि एक सचिवालय सदस्यले भने, ‘मन्त्रीको नाम टुंगो नलागेकाले यसको जिम्मा प्रधानमन्त्रीलाई दिइएको छ।’
सचिवालय बैठकले नयाँ मन्त्री चयनको सम्पूर्ण अधिकार प्रधानमन्त्री ओलीलाई दिएको उनको भनाइ छ। बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको विषयमा छलफल भए पनि कुनकुन मन्त्री हटाउने र कसलाई जिम्मेवारी दिने भन्ने विषय टुंगो लागि सकेको छैन। स्रोतका अनुसार हटाउने मन्त्रीको नाम र नयाँ मन्त्रीको नाम सोमबार बिहानसम्ममा टुंगो लाग्नेछ।
बैठकपछि पत्रकारसँग कुरा गर्दैै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने यो विषयमा छलफल नै नभएको बताएका छन्। नेकपा अध्यक्ष प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिने विषयमा छलफल भएको छ।





