बागलुङ, २८ मंसिर – गलकोट नगरपालिका वडा नं. ५ को हरिचौरका ६ सय ९५ घर ‘स्वच्छ घरधुरी’को रुपमा सूचिकृत भएका छन् । नेपाल सरकारले तयार पारेको स्वच्छ घरधुरी सम्बन्धी २२ वटा सूचक पुरा गरेर ती घर सरसफाईको नमूना भएका हुन् । वडा अध्यक्ष नारायणध्वज मल्लले ती सबै घरधुरीले बिशिष्ट श्रेणीको अंक पाएको बताए ।
जिल्ला समन्वय प्रमुख राजेन्द्र ढुंगाना, नगरपालिका प्रमुख भरत शर्मा गैरे, सहित स्थानीय स्वास्थ्य संस्थाका अगुवा समेतको सामुहिक अनुगमनको क्रममा सबै घरमा सफा शौचालय र पानीको व्यवस्था भएको, शौचालय गएपछि हात धुने व्यवस्था भएको भेटिएको मल्लले बताए । ‘५१ प्रतिशत अंक ल्याएर पास हुने समाजमा हरेक घरधुरीले ९५ देखि शतप्रतिशत अंक पाएका छन्’ मल्लले भने, ‘कतिपयले गरेको काम पनि क्रमबद्ध नभएपछि ९५ अंक आएको हो ।’ सामाजिक रुपान्तरणमा शतप्रतिशत अंक आउने चानेचुने कुरा नभएको उनले बताए । अझै केही होटल तथा सार्वजनिक स्थलको सफाईमा शतप्रतिशत अंक पाउन नसकिएको उनले बताए । सबै होटलको नियमित अनुगमन पछि केही दिनमै सफलतामा पुग्ने उनले बताए । यो अभियानले पूर्णता पाएपछि पूर्ण सरसफाई युक्त वडा घोषणा गर्ने उनले बताए । यस अघि ताराखोलाका सबै वडालाई सामुहिक रुपमा सरसफाईयुक्त वडामा सूचिकृत गरिएको छ ।
हरिचौरलाई स्वच्छ घरधुरी, खानेपानीको स्वच्छता र आनीवानीमा परिवर्तन भएको बनाउन केही समय अघिदेखि गठन भएका विभिन्न टोल सुधार समिति, वडा स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति र सुआहारा कार्यक्रमले सबै सूचक फेर्न अभियान थालेका थिए । यो अभियान स्वरुप सबै घरका बालबालिका देखि बृद्धबृद्धा सम्मको आनीबानीमा समेत परिवर्तन भएको भेटिएको हो । ७४बर्षिय नरबहादुर थापाले सरसफाई अभियानले गाउँमा धेरै रोग समेत लोप भएको दावी गरे । ‘२०६८ सालदेखि हामीले सरसफाईका धेरै अभियानमा काम गरेका छौं, अहिले धेरै रोग हराएका छन्’ थापाले भने, ‘बुढो भएपनि अझै मलाई यो अभियानमा हिड्न मन लाग्छ ।’ थापाले लौरो टेकेर भएपनि अभिायन सफल बनाउन लागेको बताए । सुआहारा कार्यक्रमले बागलुङको तमानखोला गाउँपालिकाको बुंगादोभान र बडिगाड गाउँपालिकाको वडा नं. १ तुम्डाँडालाईपनि पूर्ण सरसफाई युक्त वडा तत्कालै बनाउने तयारी गरेको छ ।
२०६८ सालमा सरसफाई अभियानको खोजी, घरघरमा शौचालय चाहिन्छ भनेर अभिायन थाल्दा धेरैले अनौठो मान्ने गरेकोमा अहिले पूर्ण सफाईको चरणमा पुगेको हो । अभियान थाल्दा ४० प्रशिशत घरमा मात्र शौचालय भएको भेटिएको थियो । सबै घरमा शौचालय बनाउन लगाएपछि पानी सफाई अभियान पनि थालिएको समितिका अध्यक्ष लालबहादुर श्रीषले बताए । ‘हामीले अभियानकै क्रममा झण्डै २ सय शौचालयका साइफन बाँडेका थियौं, पानी शुद्धिकरण गरेर खानुपर्छ भनेर ३ सय बढी फिल्टर पनि बितरण गरेका छौं ।’ यो अभियानपछि आर्थिक रुपमा सम्पन्नहरुले शौचालयको सामान र फिल्टर आँफै किनेको र बिपन्न बस्तीमा बितरणग रेको उनले बताए ।
मासिक सरसफाई बैठक बस्न थालेको पनि यहाँ चार बर्ष भैसकेको छ । नियमित बैठकमा जसको घरमा सरसफाईका सूचक पुगेका छैनन्, उसैको व्यक्तिगत नाम काढेर छलफल चलाउने गरेपछि परिवर्तनका संकेत देखिएको थियो । महिनाबारी भएको बेला लगाउने भित्रि बस्त्र र सेनेटरी प्याड फलामे तारमा सुकाउन नहुने समेत यहाँका महिलालाई बुझाइएको छ । त्यसका लागि घरघरमा प्लाष्टिकका डोरीमा मात्र लुगा सुकाउने चलन सुरु भैसकेको स्थानीय महिला स्वास्थ्य स्वयंसेबिका डम्बरकुमारी कंडेलले बताईन् । खुला स्थानमा दिशापिशाव गरेको भेटियो भने त झन बैठकै उक्त स्थानमा बसेपछि खुला स्थानमा दिशापिशाव गर्ने चलन बन्द भएको उनले बताए । यो अभियानमा आमा समूह, बाउ समूह, युवा समूह, नगरपालिका, वडा र टोल सुधार समितिका सदस्यहरुको सक्रियता बढेको छ । हरिचौरमा केही सार्वजनिक शौचालय र डम्पिङ साइट निर्माणका लागि नगरपालिकामा माग भएको छ । नगरपालिकाले सिंगो नगरस्तरीय डम्पिङका लागि जग्गा खोजेकोले केही ढीलाई भएको प्रमुख भरत शर्मा गैरेले बताए । वडा स्तरीय डम्पिङका लागि भने जग्गा छनौटपछि निर्माणमा बजेट लगानी गर्न सकिने उनले बताए ।
वडा अध्यक्ष सहितका पदाधिकारीका अग्रसरता र समुदायको सहयोगले पुस १५ गते भित्रै हरिचौरलाई सबै घरधुरी स्वच्छ भएको औपचारिक घोषणा गरिने तयारी भएको सुआहारा कार्यक्रमकी अधिकृत टिका उप्रेतीले बताईन् । उनले नेपाल सरकारले तोकेका सूचक पुरा गर्न थालिएको अभियान सफल पार्न सुआहाराले प्राविधिक सहयोग गरेको बताईन् । बागलुङमा क्रियाशिल नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनले सामाजिक परिचालन मार्फत सरसफाई अभियानमा काम गरेको बोर्ड सदस्य यामबहादुर श्रीषले बताए ।





