पोखरा / गोरखाको चुमनुब्री गाउँपालिका-६ स्थित उङ्दिलुङ खोलाको सिरानमा हिमपहिरोसँगै गएको विशाल पहिरोका कारण बुढीगण्डकी नदीमा विनाशकारी बाढी आएको अध्ययनमा देखिएको छ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अध्ययन प्रतिवेदनमा असोज २५ गते बिहान करिब ४ बजेर २० मिनेटमा चुमनुब्री-६ स्थित चामर हिमाल र स्येराङ्गी हिमालबीचको उङ्दिलुङ खोलाको उच्च हिमाली क्षेत्रमा हिमपहिरो गएको उल्लेख छ। करिब ६ हजार मिटरको उचाइमा हिमपहिरो गएको र पाँच हजार पाँच सय मिटर आसपासको क्षेत्रमा रहेको हिमनदीको हिउँ तथा गेग्रानसहित ठूलो पहिरो खसेको पाइएको छ।
अध्ययनमा उक्त क्षेत्रको टेथिस हिमालयमा पाइने तुलनात्मक रूपमा कमजोर चट्टानबाट पहिरो सुरु भएको देखिएको छ। मुख्य पहिरो जानुअघि र त्यसपछि पनि सो क्षेत्रमा सानो पहिरो गएको प्रतिवेदनमा उल्लेख छ।

हिउँ, पानी र गेग्रान मिसिएको पहिरो उङ्दिलुङ खोलाको सिरानबाट दक्षिणतर्फ बगेको थियो। प्रवाहले खोलाको दुवै किनारातर्फ करिब तीन सय मिटरसम्म असर पारेको देखिएको छ।
करिब दुई हजार मिटरको उचाइमा रहेको उङ्दिलुङ खोला र स्यार खोलाको साँघुरो दोभानमा ठूलो परिमाणमा गेग्रान जम्मा भएपछि स्यार खोलाको बहाव अवरुद्ध हुने र पुनः खुल्ने क्रम चलेको प्रतिवेदनले जनाएको छ।
प्राधिकरणले सो क्षेत्रको स्थलगत अध्ययन पनि गरेको थियो। अध्ययनअनुसार, मुख्य बाढी आउनुभन्दा करिब एक घण्टाअघि स्यार खोलाको बहाव रोकिएको पाइएको बताएको छ। स्यार खोलाको माथिल्लो क्षेत्रमा करिब १.५ किलोमिटरसम्म पानी जम्मा भएको पाइएको जनाइएको छ।

स्यार खोला र बुढीगण्डकी नदीको दोभानमा पनि पानी थुनिने र पुनः एकैपटक खुल्ने प्रक्रिया भएको हुन सक्ने प्राधिकरणको आकलन छ।
बाढीको सबैभन्दा ठूलो सतह सल्लेरीस्थित हाइड्रोपावर क्याम्पमा २० देखि २५ मिटरसम्म पुगेको थियो। बाढीले उक्त क्याम्प बगाउनुका साथै जगत क्षेत्रमा रहेका केही भवन र सोती खोला तथा बुढीगण्डकी नदीमाथिका पक्की पुलमा क्षति पुर्याएको छ।
यद्यपि, बाढीको सतह ठूलो हुनुमा स्यार खोलामा थुनिएको पानीभन्दा उङ्दिलुङ खोलाबाट आएको ठूलो परिमाणको गेग्रानको भूमिका बढी महत्त्वपूर्ण रहेको प्रतिवेदनमा उल्लेख छ।
तिवेदनअनुसार, लेदोसहितको बाढी पहिलोपटक बिहान करिब ४ बजेर ३० मिनेटमा सल्लेरी पुगेको थियो। त्यसपछि बिहान करिब ६ बजेर ३० मिनेटमा बाढीको सबैभन्दा ठूलो सतह आएको थियो। बाढीले सल्लेरीस्थित हाइड्रोपावर क्याम्प बगाएको थियो।
बाढीको सबैभन्दा ठूलो सतहका कारण तल्लो क्षेत्रमा पनि क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ। विशेषगरी जगतमा रहेका केही भवन तथा सोती खोला र बुढीगण्डकी नदीमाथिका पक्की पुलमा क्षति पुगेको देखिएको छ।
अन्य बाढीको तुलनामा यस घटनामा बालुवा र साना-ठूला ढुङ्गाको भन्दा माटोको मात्रा बढी रहेको प्रतिवेदनले देखाएको छ। माटोको मात्रा बढी भएकाले बाढीमा बाक्लो लेदो बिस्तारै बग्ने प्रकृतिको प्रवाह अर्थात् ‘भिस्कस मड फ्लो’को विशेषता देखिएको थियो।
पहिरोको उद्गमस्थलमा रहेका पत्रे चट्टान तथा गेग्रानमा माटोको मात्रा तुलनात्मक रूपमा बढी हुनु यसको प्रमुख कारण रहेको प्रतिवेदनमा उल्लेख छ। प्राधिकरणको प्राविधिक प्रतिवेदनमा उक्त पहिरोका कारण करिब ३.५ म्याग्निच्युडको भूकम्प बराबरको ऊर्जा उत्पन्न भएको जनाइएको छ।
प्रतिवेदनले हिमपहिरो र विशाल पहिरोबाट आएको गेग्रान, नदीको बहाव अवरुद्ध भएर पुनः खुल्ने प्रक्रिया तथा माटोको मात्रा बढी भएको लेदोयुक्त प्रवाहलाई बुढीगण्डकीमा आएको बाढीको प्रकृति र त्यसबाट भएको क्षतिका प्रमुख पक्षका रूपमा प्रस्तुत गरेको छ।
बुढीगण्डकीमा आएको बाढीले तटीय क्षेत्रमा पक्की पुल, जलविद्युत् आयोजना, सडक, घर, गोठलगायत सयौं भौतिक संरचनामा क्षति पुगेको छ। बाढीमा पाँच जना बेपत्ता भएका छन्।





