बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

विपत्तिबाट पाठ सिकौं

विपत्तिबाट पाठ सिकौं

पानीमै जग हालेर बस्न थालेपछि खोलानदीले आफ्नो ठाउँ खोज्दा विपत्ति भन्ने की स्वभाविक प्रकृयालाई हामीले दोहन गरेको भन्ने ? यो विपत्तिबाट अब सिक्नैपर्छ । सुरक्षित बसाई, दिगो पुर्वाधार र वातावरण संरक्षणमा ख्याल गरेर मात्र बिकास गर्नेकी ?


  • Dhorpatan News
  • असोज २८ २०८३, बुधबार

कालीगण्डकीको बाढीले मालढुंगाको पुलको एकतर्फको ढिस्को बगायो । हेर्दा सामान्य लाग्ने यो ढिस्को बनाउन तीन साता लाग्यो । तर पनि पहिला झैं सुरक्षित भैसकेको छैन । बगेको १६ दिनपछि अस्थायी रुपमा यातायात सञ्चालन शुरु भएको छ । पुलको पुर्वी पिलरलाई अहिले पनि नदीको बहावले हानिरहेको छ । तसर्थ जतिबेला पनि जोखिम हुने अवस्था छ । त्यही बाढीले सहश्रधारामा सडक बगायो । लस्तीमा बस्ती नै बग्यो । झोलुङ्गे पुल बगेर नागरिकले सास्ती खेपीरहेका छन् । किसानले आफ्ना उत्पादन बजार पठाउन सकेका छैनन् भने विद्यार्थीहरु विद्यालय पढ्नबाट बञ्चित छन् । मालढुंगाबाट दैनिक पढ्न बागलुङ आउने बालबालिका हिंडेर पाङ गएपछि अदुवाबारीको पुल तरेर मात्र आइपुग्छन् । साना बालबालिकाले अहिले विद्यालय भेट्न २ घण्टा पैदल हिंड्न बाध्य छन् । उनीहरुको व्यथा उस्तै समस्याको छ ।

यो बाढी आउनुमा त प्रकृतिको कारण हो । पछिल्लो समय मनसुन समेत पछि धकेलिएको छ भने बेमौषमी झरी, बाढी र पहिरोको प्रकोप बढेको छ । हिमालबाट बग्ने खोलानदीहरु र किनारका बस्तीहरु त जोखिममा परिसकेका छन् । जहिले पनि दुर्घटना हुन सक्ने खतरा बढ्यो । प्रकृतिलाई जित्न सकिंदैन, तर हाम्रा कार्यले प्रकृतिको विपद्लाई कतै सघाएका त छैनौं ? यो विचारणीय कुरा छ । न हाम्रा संरचना बलियो र सुरक्षित भएका छन्, त हामीले विपद् घट्न सक्ने संभावनालाई वास्ता गरेका छौं । मानवीय रुपमा हामीले बाढीलाई उग्र बनाउन भूमिका खेलिरहेका त छैनौ ? यो अहिलेको गम्भिर प्रश्न हो । कालीगण्डकी दोहनबारे पत्रकारले लेखे, अभियानकर्मीहरुले आवाज उठाए तर ठेकेदारहरुले उनीहरुको बोली बन्द गर्ने प्रयास गरे । प्रशासनले दोहन देखेको नदेखेझै गरेर बस्यो । प्रहरी ठेकेदारको दोहनमा मुकदर्शक बन्यो । त्यसपछि आएको बाढीले नदीको धार परिवर्तन भयो । जसका कारण करोडौंको भौतिक सम्पत्ति मात्रै बगेन, आम नागरिकको सपना पनि बग्यो । अहिले त एक ठाउँबाट अर्को ठाउँ हिंड्न समेत नागरिकले पाएनन् । अझैपनि हामीले यो वास्तविकता बुझेका छैनौ ? या वेवास्ता गरिरहेका छौ ?

हाम्रा मापदण्ड, कानून, निर्देशिका र नियमहरुले नदीको प्रवाह क्षेत्र हुन्छ भनेको छ । नदीखोला, वनजंगल र राजमार्गको कति दुरीमा क्रसर उद्योग चलाउने ? कति दुरीमा नदीजन्य सामाग्री उत्खनन् गर्ने भन्ने नियम बनाएको छ । त्यतिमात्र होइन, असार, साउन र भदौमा नदीको कुनैपनि सामाग्री निकल्न मिल्दैन भन्ने छ । ठेकेदारहरुले नदीभित्रै एस्काभेटर लगेर दोहन गरिरहेका छन् । उनीहरु नै प्रशासनको साथी, प्रहरीको साथी छन् । जसले दोहनबारे बोल्छ त्यही मानिस विरोधी बन्छ । नियामक निकाय ठेकेदारहरुको दास बन्छन् । अनि कसरी रोकिन्छ र दोहन । भोटेकोशीको बाढीदेखि शुरु भएको अहिलेको श्रृंखला कालीगण्डकी र बुढीगण्डकीसम्म आइपुग्दा पनि हामीले चेत पाउन सकेनौं भने भोलिका दिनमा झनै धेरै जोखिम उठाउनुपर्ने छ । संरचना बनाउने क्रममा पनि हामीले कस्तो स्थान छनौट गर्ने, कस्ता खालका पुल बनाउने ? बस्तीको सुरक्षा कसरी गर्ने भन्ने धेरै हेक्का राख्नुपर्ने छ । नदीखोलामा मानव सभ्यताको विकास भएकै हो तर हिजोका पुर्खाहरु खोलामा बस्थेनन् । खोला छेउमा खेती गरेर माथिल्लो स्थानमा गएर बस्थे । तर अहिले खोलाको पानीमै जग हालेर बस्न थालेपछि खोलानदीले आफ्नो ठाउँ खोज्दा विपत्ति भन्ने की स्वभाविक प्रकृयालाई हामीले दोहन गरेको भन्ने ? यो विपत्तिबाट अब सिक्नैपर्छ । सुरक्षित बसाई, दिगो पुर्वाधार र वातावरण संरक्षणमा ख्याल गरेर मात्र बिकास गर्नेकी ?

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->