घटस्थापनाको दिन हामी माटोको भाँडोमा बालुवा वा माटो राख्छौं। त्यसमा जौ छर्छौं। हल्का पानी हाल्छौं। अनि, त्यसलाई अँध्यारो कोठामा घाम नपर्ने गरी छोपेर राख्छौं।
त्यसपछि खासै केही गर्नुपर्दैन। बेलाबेला पानी हाले पुग्छ। तर त्यही अँध्यारो कुनामा एउटा अनौठो प्रक्रिया चलिरहेको हुन्छ।
एक–दुई दिनमै जौका दाना फुट्न थाल्छन्। साना टुसा निस्कन्छन्। ती टुसा दिनदिनै लम्बिँदै जान्छन्।
नौ दिनपछि त्यो भाँडो बाहिर निकाल्दा त्यहाँ जौका दाना मात्र हुँदैनन्। लामा लामा पहेँला जमरा तयार भइसकेका हुन्छन्।
अब एकछिन सोच्नुस् त — हामीले घरमा रोपेका अरू बिरूवालाई घाम चाहिन्छ। घाम नपाउँदा ती बिरूवा राम्ररी हुर्किँदैनन्। कतिपय त ओइलाएर मर्छन्। तर दसैंको जमरा हामी जानाजान घाम नपर्ने ठाउँमा राख्छौं। अझै उज्यालो पर्ला भनेर माथिबाट छोपछाप पनि पार्छौं।
किन ?
अझ रोचक कुरा, जौको दाना रोप्न मलिलो माटोधरि चाहिँदैन। बालुवामा छरेर पानी हालेकै भरमा नौ दिनमा जमरा तयार हुन्छ।
घाम नचाहिने, मलिलो माटो नचाहिने, तर हलक्क बढ्ने ! आखिर जौको दानाभित्र त्यस्तो के छ, जसले अँध्यारोमै नयाँ बिरूवा जन्माउँछ? जमरा किन हरियो नभएर पहेँलो हुन्छ? अनि बालुवामै किन यति सजिलै उम्रिन्छ ?
यी प्रश्नको उत्तर खोज्न हामीले नेपाल कृषि अनुसन्धान परिषद (नार्क) अन्तर्गत राष्ट्रिय जीन बैंकका प्रमुख बालकृष्ण जोशीसँग कुरा गरेका छौं।
उनका अनुसार दसैंको जमरा उमार्ने परम्पराभित्र वनस्पति विज्ञानका केही रोचक प्रक्रिया देख्न सकिन्छ। सबभन्दा पहिले जमराको पहेँलो रङकै कुरा गरौं।
जमरा अँध्यारोमा राख्दा पहेँलो, घाममा राख्दा हरियो किन हुन्छ ?
दसैंको जमरा पहेँलो हुनुपर्छ भन्ने परम्परागत मान्यता छ। त्यसैले घटस्थापनाका दिन छरेको जौलाई सकेसम्म उज्यालो नपर्ने ठाउँमा राखिन्छ।
धेरैले यसका लागि पूजाकोठाको अँध्यारो कुना रोज्छन्। भाँडोले छोपछाप पनि पार्छन्। जोशीका अनुसार यसको सीधा सम्बन्ध जमराको रङसँग छ।
‘हाम्रो परम्परामै पहेँलो जमरा चाहिने भएकाले पहेँलो बनाउन अँध्यारोमा रोप्ने गरिएको हो,’ उनले भने। तर अँध्यारोमा राख्दैमा बिरूवा पहेँलो किन हुन्छ त ?
यसको उत्तर बुझ्न बिरूवाको हरियो रङ कहाँबाट आउँछ भन्ने जान्नुपर्छ।
हामी वरिपरिका रूखबिरूवा प्रायः हरिया देख्छौं। घाँस हरियो हुन्छ। धानको बोट हरियो हुन्छ। जौको बोट पनि हरियो हुन्छ।
बिरूवालाई यस्तो हरियो रङ दिने एउटा महत्त्वपूर्ण पदार्थ हो- क्लोरोफिल।
क्लोरोफिलले बिरूवालाई हरियो देखाउने मात्र होइन, प्रकाशको ऊर्जा सोसेर खाना बनाउने प्रक्रियामा पनि मुख्य भूमिका खेल्छ।
तर जमरालाई अँध्यारोमा राख्दा के हुन्छ ?
उज्यालो नपाउँदा जौको टुसामा क्लोरोफिलको सामान्य विकास हुन पाउँदैन। त्यसैले टुसा हरियो नभएर फिक्का पहेँलो वा सेतो पहेँलो देखिन्छ।
यही कारण हामीले दसैंमा लगाउने जमरा पहेँलो हुन्छ।
अब एउटा सानो प्रयोग गरेर हेरौं :
एकै दिन दुईवटा भाँडामा जौ छर्नुस्। एउटालाई उज्यालो पाउने ठाउँमा राख्नुस्। अर्कोलाई अँध्यारोमा।
दुवैलाई आवश्यक पानी र उपयुक्त तापक्रम दिनुस्। केही दिनपछि दुवै भाँडामा जौ उम्रिएको देख्न सकिन्छ। तर तिनको रङ र आकार फरक हुन्छ।
उज्यालो पाएको जौ हरियो हुन थाल्छ। अँध्यारोमा हुर्किएको जौ फिक्का पहेँलो हुन्छ। सामान्यतया त्यो लामो र पातलो पनि देखिन सक्छ।
अर्को प्रयोग पनि गर्न सकिन्छ :
अँध्यारोमा हुर्काएर तयार पारेको पहेँलो जमरालाई उज्यालो ठाउँमा राखिदिनुस्। केही समयपछि त्यसको रङ बदलिन थाल्छ।
पहेँलो जमरा बिस्तारै हरियो हुँदै जान्छ। किनभने, उज्यालो पाएपछि त्यसमा क्लोरोफिल बन्ने प्रक्रिया सक्रिय हुन्छ।
वनस्पति विज्ञानमा अँध्यारोमा हुर्किँदा बिरूवा लामो, पातलो र फिक्का हुने अवस्थालाई ‘इटिओलेसन’ भनिन्छ।
जोशीका अनुसार जमरालाई सुरूमा उज्यालोमा उमारेर पछि छोपेर पनि पहेँलो बनाउन सकिन्छ। ‘हरियो हुँदै माथि आयो भने पनि त्यसलाई डोका वा केहीले छोपेर पहेँलो बनाउन सकिन्छ,’ उनले भने।
तर यहाँ एउटा कुरा बुझ्नुपर्छ। हरियो भइसकेको बिरूवालाई छोप्दैमा तत्काल पहेँलो हुने होइन। उज्यालो नपाएको अवधिमा नयाँ वृद्धि फिक्का हुन सक्छ र पहिल्यै बनेको हरियो रङमा पनि क्रमशः परिवर्तन आउन सक्छ।
यसरी हेर्दा दसैंको जमराको पहेँलो रङ कुनै छुट्टै जातको विशेषता मात्र होइन। त्यसलाई हुर्काइएको वातावरणको परिणाम पनि हो।
तर एउटा प्रश्न अझै बाँकी छ। घाम नपाएर क्लोरोफिल नै बन्न नसकेको जमरा यति छिटो बढ्छ चाहिँ कसरी?
घाम नदेखेको जमरा ९ दिनमै कसरी हलक्क बढ्छ ?
घटस्थापनाको दिन भाँडामा छरिएको जौको दाना निकै सानो हुन्छ। त्यही दानाबाट एउटा सानो जरा निस्कन्छ। अर्कोतिर टुसा पलाउँछ। केही दिनमै त्यो टुसा लामो हुँदै जान्छ।
टीकाको दिनसम्म आइपुग्दा त्यही जौको दानाबाट लामो जमरा तयार भइसकेको हुन्छ। हामी सोच्न सक्छौं – बिरूवालाई बढ्न खाना चाहिन्छ। खाना बनाउन घाम चाहिन्छ। तर जमराले त घाम नै पाएको छैन!
त्यसो भए उसले खाना कहाँबाट ल्याउँछ ?
यसको उत्तर जौको दानाभित्रै छ।
हामीले बाहिरबाट हेर्दा जौको दानालाई एउटा सानो बीउका रूपमा देख्छौं। तर त्यसभित्र नयाँ बिरूवा जन्माउन चाहिने संरचना र खाद्य पदार्थ दुवै हुन्छन्।
जौको दानाभित्र एउटा भ्रूण हुन्छ। त्यही भ्रूणबाट नयाँ जरा र टुसा विकास हुन्छन्। त्यससँगै त्यहाँ खाद्य पदार्थ पनि सञ्चित हुन्छ। मुख्य रूपमा स्टार्च।
यो स्टार्च नयाँ बिरूवाका लागि सुरूआती खाद्य भण्डार हो।
जब जौको दानामा पानी पुग्छ, अंकुरणको प्रक्रिया सुरू हुन्छ। बीउभित्रका विभिन्न जैविक प्रक्रिया सक्रिय हुन्छन्। सञ्चित स्टार्च टुक्रिएर बिरूवाले प्रयोग गर्न सक्ने चिनीमा बदलिन थाल्छ।
त्यही चिनीबाट ऊर्जा प्राप्त गरेर नयाँ जरा र टुसा बढ्छन्। अर्थात्, जमरालाई सुरूका केही दिन खाना बनाउन घाम चाहिँदैन। उसले आफ्नै दानाभित्र सञ्चित खाना प्रयोग गरिरहेको हुन्छ।
‘जमरालाई उर्वर माटो चाहिँदैन। बीउभित्रै खानेकुरा हुन्छ। उसलाई त्यसैले पुग्छ,’ जोशी भन्छन्।
उनका अनुसार, जौको बीउभित्र खाद्य पदार्थ सञ्चित रहने भागलाई वनस्पति विज्ञानमा ‘इन्डोस्पर्म’ भनिन्छ। यो नयाँ बिरूवाको सुरूआती खाद्य भण्डार हो।
जसरी कुनै यात्रामा निस्केको मानिसले सुरूका केही दिनका लागि आफैसँग खानेकुरा बोकेको हुन्छ, त्यसैगरी जौको दानाले नयाँ बिरूवा बन्ने सुरूआती यात्राका लागि खाना आफैभित्र बोकेको हुन्छ।
त्यसैले बीउ उम्रिएर केही दिनसम्म हुर्किन मलिलो माटोबाट ठूलो मात्रामा पोषण प्राप्त गरिरहनु पर्दैन।
तर यो व्यवस्था सधैंका लागि होइन। बीउमा सञ्चित खाना सीमित हुन्छ। बिरूवा लामो समय बाँच्न र बढ्न उसले अन्ततः प्रकाशबाट खाना बनाउन तथा वातावरणबाट आवश्यक पानी र खनिज पोषक तत्त्व लिनुपर्छ।
दसैंको जमरा भने लामो समय हुर्काउन राखिएको बिरूवा होइन। हामीलाई घटस्थापनादेखि विजया दशमीसम्मको छोटो अवधिका लागि मात्र चाहिन्छ।
त्यसैले केही दिनको वृद्धिका लागि जौको दानाभित्र सञ्चित खाना अत्यन्त महत्त्वपूर्ण हुन्छ। तर जमरा यति छिटो लामो देखिनुमा खाना मात्र होइन, त्यसलाई राखिएको कोठाको तापक्रम र उज्यालोको अवस्थाले पनि भूमिका खेलेको हुन्छ।
अँध्यारोमा जमरा किन लुरूक्क माथि बढ्छ ?
तपाईंले दसैंको जमरा नियाल्नुभएको छ भने एउटा कुरा याद राख्नुभएको होला। जमरा प्रायः लामो र पातलो हुन्छ। हरियो घाँसजस्तो बाक्लो र फैलिएको हुँदैन।
जोशीका अनुसार जौको आफ्नो आनुवांशिक गुणसँगै अँध्यारोमा हुर्काइएको वातावरणले पनि यसको आकारमा प्रभाव पार्छ।
‘जति अँध्यारोमा राख्नुभयो, त्यसका हाँगाहरू आउँदैनन्, लुरूक्क माथि जान्छ,’ जोशीले भने, ‘अँध्यारोमा राख्दा बिरूवाले उज्यालो खोज्दै माथितिर तन्किने भएकाले जमरा लामो देखिन्छ।’
अँध्यारोमा हुर्किँदा धेरै बिरूवाले सुरूआती अवस्थामा पात फैलाउनुभन्दा टुसाको लम्बाइ बढाउने प्रवृत्ति देखाउने उनको भनाइ छ।
यसलाई बुझ्ने एउटा सजिलो तरिका छ।
प्रकृतिमा जौको दाना माटोमुनि पनि पर्न सक्छ, जहाँ घाम पुग्दैन। माटोमुनि रहुन्जेल उसले प्रकाशबाट खाना बनाउन सक्दैन। त्यसैले बीउमा सञ्चित ऊर्जाको मद्दतले टुसा माथितिर बढ्छ।
अँध्यारोमा टुसा लम्बिने यस्तो प्रतिक्रिया बिरूवाको सुरूआती विकाससँग जोडिएको हुन्छ। दसैंको जमरामा पनि हामी यस्तै प्रक्रिया देख्न सक्छौं।
तर यहाँ एउटा भिन्नता बुझ्न आवश्यक छ।
बिरूवाले उज्यालो आउने दिशातिर बढ्ने प्रक्रियालाई ‘प्रकाशानुवर्तन’ भनिन्छ। अर्कातिर, चारैतिर अँध्यारो हुँदा पनि टुसा लामो र पातलो हुने प्रक्रिया ‘इटिओलेसन’ सँग सम्बन्धित छ।
यी दुई एउटै प्रक्रिया होइनन्। जोशी प्रकाशानुवर्तनबारे एउटा उदाहरण दिन्छन्।
‘एउटै कोठामा एकातिर अँध्यारो र अर्कातिर घाम आउँछ र बीचमा तपाईंले बिरूवा लगाउनुभयो भने त्यो घामतिर जान्छ,’ उनले भने।
अर्थात्, बिरूवाले एकातिरबाट प्रकाश पाए त्यसतर्फ मोडिएर बढ्न सक्छ। तर जमरालाई चारैतिरबाट उज्यालो नपर्ने गरी छोपेको अवस्थामा टुसा माथितिर बढ्नुमा प्रकाश आउने दिशा पहिचान गर्नुभन्दा बिरूवाको आफ्नै वृद्धि प्रक्रिया र गुरूत्वाकर्षणप्रतिको प्रतिक्रिया पनि जोडिएको हुन्छ।
जोशीका अनुसार जमरा लामो र सियोजस्तो हुनुमा जौको जातीय गुणको पनि भूमिका छ। ‘एउटा बिरूवाको जात अनुसार हुने हो। अन्नबालीको क्याटेगोरी अनुसार हुन्छ। त्यो चाहिँ त्यसको आनुवांशिक गुण हो, जातीय गुण हो,’ उनले भने।
जौ, मकै र अन्य अन्नबालीका टुसा एकै प्रकारका हुँदैनन्। तिनको बनावट र वृद्धिको ढाँचा फरक हुन्छ।
त्यसैले जमरा पातलो र लामो देखिनु अँध्यारोको मात्र परिणाम होइन। जौको आफ्नै बनावट र आनुवांशिक गुण पनि त्यसका कारण हुन्।
यसरी जौको दानाभित्र सञ्चित खाना, पानी, उपयुक्त तापक्रम, आनुवांशिक गुण र अँध्यारोमा हुने वृद्धिको प्रक्रिया मिलेर केही दिनमै लामो पहेँलो जमरा तयार हुने जोशी बताउँछन्।
तर त्यसका लागि एउटा अर्को कुरा पनि उत्तिकै महत्त्वपूर्ण छ- जौलाई उमारिने माध्यम। हामी जमरा रोप्दा प्रायः बालुवा प्रयोग गर्छौं।
किन त ?
जमरा उमार्न मलिलो माटो होइन, बालुवा किन चाहिन्छ ?
घटस्थापनाका दिन जौसँगै अर्को एउटा वस्तु पनि घरमा ल्याइन्छ।
चोखो बालुवा।
कतिपय घरमा खोला वा नदीबाट बालुवा ल्याउने चलन छ। कतै माटो ल्याइन्छ। कतै माटो र बालुवा मिसाइन्छ।
त्यहीँ जौका दाना छरिन्छन्।
अब प्रश्न उठ्छ- खेती गर्न त मलिलो माटो खोजिन्छ। बाली राम्रो होस् भनेर मल हालिन्छ। तर जमरा उमार्दा किन बालुवा प्रयोग गरिन्छ?
के जौ माटोमा उम्रिँदैन ? अवश्य उम्रिन्छ।
वास्तवमा जौ उमार्न बालुवा अनिवार्य छैन। माटो, बालुवा वा दुवैको मिश्रणमा जौ उम्रिन सक्छ।
तर बालुवामा केही व्यावहारिक विशेषता छन्। सबभन्दा पहिले पानीको कुरा गरौं।
जौको बीउ उम्रिन पानी चाहिन्छ। तर पानी धेरै भएर जमिरह्यो भने उल्टै समस्या हुन्छ। किनभने, बीउले अंकुरण क्रममा श्वासप्रश्वास पनि गर्छ। त्यसका लागि अक्सिजन आवश्यक हुन्छ।
यदि बीउ राखिएको ठाउँमा पानी धेरै जम्यो र हावा पस्ने ठाउँ रहेन भने बीउलाई पर्याप्त अक्सिजन नपुग्न सक्छ। यस्तो अवस्थामा अंकुरणमा समस्या आउन सक्छ र बीउ कुहिन पनि सक्छ।
बालुवाका कण तुलनात्मक रूपमा ठूला हुने भएकाले सामान्यतः पानी छिटो निकास हुन सक्छ। कणहरूबीचका खाली ठाउँबाट हावा पनि आवतजावत गर्न सक्छ। त्यसैले उचित मात्रामा पानी हाल्दा बालुवाले जौको बीउ उम्रिन अनुकूल वातावरण बनाउन सक्छ।
तर यसको अर्थ जति धेरै बालुवा भयो, त्यति राम्रो भन्ने होइन। बालुवा छिटो सुक्ने भएकाले त्यसमा आवश्यक चिस्यान कायम राख्नुपर्छ।
जोशीका अनुसार बालुवा प्रयोग गर्नुको अर्को पक्ष जराको विकाससँग पनि जोडिएको छ। जौको दानाबाट निस्किएको सानो जरा तलतिर फैलिनुपर्छ। त्यसका लागि जराले छिचोल्न सक्ने माध्यम चाहिन्छ।
‘त्यो जरो खुर्र जानुपर्छ, त्यो जाने बाटोमा उसलाई अड्चन हुनु हुँदैन,’ उनले भने। बालुवा खुकुलो भएकाले त्यसमा जराले बाटो बनाउन तुलनात्मक रूपमा सजिलो हुने उनको भनाइ छ।
तर राम्रोसँग तयार गरिएको खुकुलो माटोमा पनि जरा फैलिन सक्छ। धेरै कसिएको माटो वा अत्यधिक पानी जम्ने माध्यम चाहिँ उपयुक्त नहुन सक्छ।
बालुवाको अर्को व्यावहारिक फाइदा छ। विजया दशमीका दिन जमरा निकालेर टीकासँगै सिउरिनुपर्छ। खुकुलो बालुवाबाट जमरा जरासहित निकाल्न तुलनात्मक रूपमा सजिलो हुन्छ। माटो धेरै टाँसिने वा कस्सिने समस्या पनि कम हुन सक्छ।
तर जमरा उमार्न बालुवा रोजिनुको सबभन्दा रोचक वैज्ञानिक पक्ष अर्को छ।
त्यो हो – जौको दानालाई सुरूका दिनमा धेरै मलिलो माटो नचाहिनु। यसको कारण हामीले माथि नै बुझिसकेका छौं। जौको दानाभित्रै सुरूआती वृद्धिका लागि खाना सञ्चित हुन्छ।
जोशी पनि यही कुरा दोहोर्याउँछन्। ‘जमरालाई उर्वर माटो चाहिँदैन। बीउभित्रै खानेकुरा हुन्छ। पहेँलो हुन्जेलसम्म त्यसलाई त्यही खानाले पुग्छ,’ उनी भन्छन्।
त्यसैले छोटो अवधिका लागि जमरा तयार गर्दा मलिलो माटोभन्दा बीउलाई उम्रिन चाहिने वातावरण बढी महत्त्वपूर्ण हुन्छ।
तर यहाँ पनि एउटा कुरा छुटाउन हुँदैन। धार्मिक विधिमा पवित्र ठाउँबाट चोखो बालुवा वा माटो ल्याउने सांस्कृतिक मान्यता छ।
त्यो परम्पराको आफ्नै इतिहास छ। विज्ञानले चाहिँ बालुवाको पानी निकास, हावाको आवतजावत र जराको विकाससँग सम्बन्धित व्यावहारिक विशेषता बुझ्न मद्दत गर्छ।
जमरा राम्रोसँग उमार्न के चाहिन्छ ?
अब फेरि घटस्थापनाका दिन छरेको जौमै फर्कौं।
हामीले जमरा उमार्न अँध्यारो ठाउँ रोज्यौं। बालुवा राख्यौं। जौ छर्यौं। तर यति गर्दैमा जमरा राम्रोसँग उम्रिन्छ भन्ने निश्चित छैन।
त्यसका लागि केही अवस्था मिल्नुपर्छ।
पहिलो, जौको बीउ स्वस्थ र उम्रन सक्ने हुनुपर्छ।
दोस्रो, त्यसमा पर्याप्त चिस्यान पुग्नुपर्छ।
तेस्रो, बीउले श्वासप्रश्वास गर्न सक्ने गरी हावा पुग्नुपर्छ।
चौथो, तापक्रम अनुकूल हुनुपर्छ।
जोशीका अनुसार घरभित्र उपयुक्त तापक्रम हुँदा जौको अंकुरण र वृद्धि राम्रो हुन सक्छ। तर तापक्रम धेरै कम भयो भने अंकुरण र वृद्धि सुस्त हुन सक्छ। अत्यधिक गर्मी पनि प्रतिकूल हुन सक्छ।
त्यस्तै, पानी कम भयो भने बीउको अंकुरण र टुसाको वृद्धि प्रभावित हुन्छ। पानी धेरै जमिरह्यो भने अक्सिजनको कमी तथा कुहिने समस्या हुन सक्छ।
त्यसैले जमरा उमार्दा आवश्यक चिस्यान कायम राख्ने तर पानी जम्न नदिने कुरामा ध्यान दिनुपर्छ।
अँध्यारोमा राख्नुको उद्देश्य पहेँलो जमरा तयार गर्नु हो। जौको बीउ उम्रिन अँध्यारो अनिवार्य भएकाले त्यसो गरिएको होइन।
उज्यालोमा पनि जौ उम्रिन्छ। फरक यति हो, त्यसको रङ र वृद्धिको स्वरूप बदलिन सक्छ।
परम्पराभित्र लुकेको एउटा रोचक विज्ञान
अब दसैंको जमरालाई फेरि एक पटक नियाल्नुस्।
तपाईंले कानमा सिउरिने पहेँलो जमराको कथा घटस्थापनाका दिन मात्र सुरू भएको होइन।
त्यो कथा जौको दानाभित्रै सुरू भएको थियो। त्यही दानाभित्र नयाँ बिरूवा बन्ने भ्रूण थियो। उसलाई सुरूका दिन बाँच्न र बढ्न चाहिने खाना सञ्चित थियो।
घटस्थापनाका दिन हामीले त्यसलाई पानी दियौं। पानी पाएपछि दानाभित्रको जीवन सक्रिय भयो। सञ्चित खाना प्रयोग हुन थाल्यो। जरा निस्कियो। टुसा पलायो। त्यसलाई अँध्यारोमा राखिएकाले टुसामा हरियो रङ दिने क्लोरोफिलको विकास हुन पाएन।
अनि, जमरा पहेँलो भयो। अँध्यारोमा हुने वृद्धिको प्रक्रियाले त्यसलाई लामो र पातलो बनाउन पनि मद्दत गर्यो।
बालुवा वा खुकुलो माटोले जरा फैलिने र आवश्यक चिस्यान तथा हावा पाउने वातावरण दियो।
यी सबै प्रक्रिया मिलेर नौ दिनमा हाम्रो दसैंको जमरा तयार भयो। तर के हाम्रा पुर्खाले वनस्पति विज्ञानका यी सबै कुरा थाहा पाएर जमरा अँध्यारोमा राख्ने परम्परा बसालेका थिए?
त्यस्तो निष्कर्ष निकाल्ने आधार छैन।
परम्परा सुरू हुनुका धार्मिक, सांस्कृतिक र ऐतिहासिक कारण हुन सक्छन्। तिनको छुट्टै अध्ययन आवश्यक पर्छ। विज्ञानले भने हामीले गर्दै आएको परम्परामा देखिने भौतिक र जैविक प्रक्रियाको व्याख्या गर्छ।
त्यसैले अर्को पटक विजयादशमीका दिन तपाईंले जमरा हातमा लिएर शिरमा लगाउँदा एउटा कुरा सम्झन सक्नुहुन्छ।
त्यो पहेँलो जमरा केवल नौ दिन अँध्यारोमा राखिएको जौ होइन। त्यो एउटा बीउले आफैभित्र सञ्चित खाना खर्च गरेर सुरू गरेको नयाँ जीवन पनि हो।
र, सबभन्दा रोचक कुरा – हामी दसैंमा जुन पहेँलो जमरालाई शुभ मान्छौं, प्रकृतिमा त्यही जमरा अझै उज्यालो पाएर हरियो हुने यात्राको सुरूआती अवस्थामा हुन्छ।





