हिन्दू परम्परामा दसैं धार्मिक आस्था, पारिवारिक मिलन र आशीर्वादको पर्व हो । यो पर्वमा कतिपय शक्तिपीठ, देवीमन्दिर तथा कुलदेवीका स्थानमा बोका, राँगा, कुखुरा, हाँस र परेवा लगायत पशुपक्षीको बलि दिने चलन पनि छ । दुर्गा, काली, भद्रकाली, तथा विभिन्न स्थानीय देवीको पूजामा पशुबलि दिने परम्परा पाइन्छ । यस्तो बलिको उद्देश्य देवीलाई प्रशन्न पार्नु, संकटबाट मुक्ति पाउनु र मनोकामना पूरा गर्नु रहेको विश्वास गरिन्छ ।
हिन्दू धर्ममा सबै देवीदेवताको पूजामा बलि दिइँदैन । सरस्वती, लक्ष्मी, गौरी–पार्वती, सीता, राधा, अन्नपूर्णा जस्ता देवीको सामान्य पूजामा फूल, फल, अक्षता, धूप, दीप र नैवेद्य अर्पण गरिन्छ । शिव, विष्णु, गणेश, राम, कृष्ण र हनुमानको सामान्य पूजामा पनि पशुबलि अनिवार्य धार्मिक विधि होइन । यसरी हेर्दा हिन्दू परम्परामा देवीहरूकै पूजा–पद्धतिमा पनि रोचक भिन्नता देखिन्छ–कतिपय देवी शाकाहारी छन् भने कतिपय मांसाहारी ।
एउटा आधारभूत प्रश्न उठ्छ—यदि देवीदेवता पूजाबाट प्रशन्न हुन्छन् भने कतिपयलाई प्रशन्न पार्न निर्दोष प्राणीको रगत आवश्यक पर्ने र कतिपयलाई फूल तथा फल चढाए पुग्ने विश्वास किन विकसित भयो ? साँच्चै देवीदेवता पशुबलिबाट खुसी हुन्छन् ?
पशुबलिको सुरुवात र मानव मनोविज्ञान
पशुबलिको उत्पत्ति बुझ्न प्राचीनसमाजको जीवनशैली र चेतनाको अवस्थालाई विचार गर्नुपर्छ । आदीम मानिसका लागि शिकार भोजनको महत्वपूर्ण स्रोत थियो । पशुको मासु स्वादिलो र पौष्टिक भएकाले आफूलाई प्रिय लागेको वस्तु आँफैले कल्पना गरेको आफूले पूजा गर्ने अदृश्य शक्तिलाई पनि प्रिय हुन सक्छ भन्ने कल्पना मानिसले गरेको हुन सक्छ ।
प्राचीन मानिस प्रकृतिका अनिश्चिततासँग निरन्तर जुधिरहेको थियो । रोग, मृत्यु, खडेरी, बाढी, आँधी र जंगली जनावरको आक्रमण जस्ता घटनाको वैज्ञानिक कारण बुझ्ने क्षमता सीमित थियो । त्यसैले मानिसले यस्ता घटनालाई अदृश्य शक्तिसँग जोडेर हेर्नु स्वाभाविक थियो । आफू र आफ्नो समुदायलाई सुरक्षित राख्न देवतालाई प्रशन्न पार्नुपर्छ भन्ने विश्वासबाट बलिप्रथा विकसित भएको हुन सक्छ ।
शिकार सफल हुनु, वर्षा हुनु, अन्न फल्नु वा सन्तान जन्मिनु जस्ता घटनालाई दैवी कृपाका रूपमा बुझेर प्राप्त वस्तुको केही अंश अर्पण गर्ने परम्परा पनि विकसित भएको हुन सक्छ । यद्यपि कुनै परम्परा किन सुरु भयो भन्ने कुरा बुझ्नु र आज पनि त्यसलाई निरन्तरता दिनुपर्छ भन्ने निष्कर्ष निकाल्नु फरक विषय हुन् । बलिप्रथालाई देवताको आवश्यकता भन्दा बढी मानव सभ्यता, मनोविज्ञान र प्रकृतिलाई बुझ्ने तत्कालीन प्रयाससँग सम्बन्धित गरी हेर्नु पर्दछ ।
विभिन्न धर्ममा पशुबलि
विभिन्न धर्ममा पशुबलिको उद्देश्य तथा अर्थ फरक छ । हिन्दू परम्परामा कतिपय देवीका मन्दिरमा पशुबलि दिने चलन भए पनि यो सम्पूर्ण हिन्दू धर्मको अनिवार्य नियम होइन । समुदाय, क्षेत्र र मन्दिरअनुसार अभ्यास फरक हुन्छ । कतिपय ठाउँमा पशुबलिको सट्टा नरिवल, कुभिण्डो, उखु वा अन्य प्रतीकात्मक वस्तु चढाइन्छ ।
इस्लाममा ईद–उल–अजहाका अवसरमा गरिने कुर्बानीको उद्देश्य पशुको मासु अल्लाहलाई खुवाउनु होइन । यसको सम्बन्ध हजरत इब्राहिमको समर्पण, अल्लाहप्रतिको आज्ञापालन र तक्वासँग छ । इसाई धर्ममा हिन्दू पशुबलि वा इस्लामी कुर्बानी जस्तो देवतालाई पशु मारेर चढाउने विधि सामान्य रूपमा प्रचलित छैन । क्रिसमसमा मासुका परिकार खाने चलन मुख्यतः स्थानीय संस्कृति, खानपान र उत्सवको परम्परासँग सम्बन्धित छ ।
यो तुलनाबाट धार्मिक बलि, धार्मिक विधिअनुसार पशु वध र सांस्कृतिक उत्सवमा मासु सेवन गर्नु फरक अभ्यास हुन् भन्ने बुझिन्छ । तिनको उद्देश्य र सन्दर्भलाई छुट्याएर विश्लेषण गर्नुपर्छ ।
के देवीदेवतालाई निर्दोष प्राणीको रगत चाहिन्छ ?
यदि देवीदेवता सर्वशक्तिमान्, करुणामय र न्यायप्रिय छन् भने उनीहरूलाई प्रशन्न पार्न निर्दोष प्राणीको हत्या किन आवश्यक पर्छ ? सृष्टि गर्ने शक्तिलाई आफ्नै सृष्टिको रगत किन चाहियो ? पशुपक्षीले मानिसले जस्तो धार्मिक कर्मकाण्ड गर्न सक्दैनन् । उनीहरूले भाकल गर्दैनन्, व्रत बस्दैनन् र मानिसका धार्मिक मान्यता अनुसार व्यवहार गर्दैनन् । तैपनि मानिसले आफ्नो मनोकामना पूरा गराउन उनीहरूको हत्या गर्छ र त्यसबाट संकट हट्ने तथा सुख–समृद्धि प्राप्त हुने विश्वास गर्छ ।
यसले धर्मको नैतिक उद्देश्यबारे प्रश्न उठाउँछ । धर्मले करुणा, सदाचार, सत्य र जिम्मेवारीको शिक्षा दिन्छ भने धार्मिक उद्देश्य पूरा गर्न कमजोर प्राणीको जीवन समाप्त गर्नु कत्तिको उचित हुन्छ ?
मूल प्रश्न आदिमकालमा कपोलकल्पित देवीदेवतामाथि विश्वास गर्ने वा नगर्ने भन्नेमा मात्र सीमित छैन । मानिसले कस्तो समाज निर्माण गर्न चाहन्छ भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ—डर र अन्धविश्वासमा आधारित समाज कि विवेक, करुणा र मानवतामा आधारित समाज ?
स्वर्गको दिव्य भोजन र पृथ्वीमा पशुबलि
हिन्दू धार्मिक तथा पौराणिक कल्पनामा स्वर्गलाई दिव्य भोजन, नन्दनवन, सुन्दर बगैँचा, भव्य महल र विभिन्न सुख, सुविधाले भरिएको लोकका रूपमा चित्रण गरिएको छ । त्यहाँ देवीदेवताले अलौकिक सुख प्राप्त गर्छन् र कल्पवृक्षले स्वर्गिय मानिसका इच्छा पूरा गर्ने विश्वाससमेत पाइन्छ ।
त्यस्तो सुखसम्पन्न लोकमा बस्ने देवीदेवतालाई पृथ्वीमा बलि दिइएको कुखुराको टाउको, राँगाको रगत वा बाख्राको कलेजो किन आवश्यक पर्छ ? स्वर्गमा दिव्य भोजन र इच्छापूर्ति गर्ने व्यवस्था छ भने देवीदेवता पृथ्वीमा पशुबलि दिइने प्रतीक्षामा हुन्छन् भन्ने कल्पना कत्तिको तर्कसंगत छ ? यी प्रश्नले धार्मिक विश्वास र परम्पराको विवेकपूर्ण समीक्षा गरिनु पर्दछ । देवीदेवतालाई प्रसन्न पार्न पशुको हत्या अनिवार्य छ भन्ने धारणा धार्मिक आवश्यकता नभई पुरानो सामाजिक विश्वास र मानिसको आफ्नै परम्पराको परिणाम हुन् ।
पशुपतिनाथको अवधारणा र करुणाको सन्देश
हिन्दू धर्ममा शिवलाई ‘देवादिदेव महादेव’ र ‘पशुपतिनाथ’ भनिन्छ । पशुपतिनाथको अवधारणाले समस्त जीवका स्वामी, संरक्षक र मुक्तिदाताको अर्थ बोकेको छ । यस दृष्टिले समस्त जीवप्रति करुणा र संरक्षणको भावना महत्वपूर्ण हुन्छ ।
यदि शिवलाई सबै जीवका संरक्षकका रूपमा बुझिन्छ भने अन्य देवदेवीलाई प्रशन्न पार्न निर्दोष पशुपक्षीको हत्या गर्नु उहाँको करुणामय दर्शनसँग कति मेल खान्छ ? शिवलाई भस्म, रुद्राक्ष, बेलपत्र र जल अर्पण गरेर पूजा गर्न सकिन्छ भने शिवभन्दा तल्लो श्रेणीका अन्य देवदेवीलाई प्रशन्न पार्न रगत नै आवश्यक छ भन्ने विश्वासमा विरोधाभास देखिँदैन र ?
पशुबलिको सट्टा आफ्नै दुर्गुणको बली दिनु पर्दछ । अहंकार, लोभ, क्रोध, ईष्र्या र अज्ञानको बलि दिएर सत्य, सदाचार र करुणाको मार्गमा अघि बढ्नु वास्तविक आत्मशुद्धि हुन सक्छ । अरूको जीवन समाप्त गरेर पुण्य खोज्नुभन्दा आफ्नै व्यवहार सुधार्नु नैतिक दृष्टिले बढी सार्थक हुन्छ ।
पशुबलि, जातिप्रथा र सामाजिक विभेद
पशुबलिसँग जोडिएको जातीय विभेदको प्रश्न अझ पेचिलो छ । कतिपय समुदायमा देवीदेवताका लागि राँगो वा कुखुराको बलि दिइन्छ तर आफूलाई कथित उच्च जातको ठान्ने केही मानिसले त्यस्तो मासु खान नमिल्ने मान्यता राख्छन् । यसले विरोधाभास उत्पन्न गर्छ । देवीलाई अर्पण गर्न योग्य मानिएको वस्तु मानिसका लागि कसरी अशुद्ध हुन्छ ? यदि त्यो मासु अपवित्र हो भने देवतालाई किन चढाइन्छ ?
शुद्धता र अशुद्धतासम्बन्धी मान्यता, भोजनका नियम तथा कसले पकाउने र कसले खाने भन्ने सामाजिक व्यवहारले परम्परागत जातीय संरचनामा दूरी कायम राख्न भूमिका खेलेका छन् । यस्ता अभ्यासले मानिसको समानता, सम्मान र सामाजिक सहभागितामा असर पारेको छ । पशुबलिको समीक्षा गर्दा पशुहत्याको नैतिक पक्षसँगै त्यससँग गाँसिएका सामाजिक मान्यता र विभेदलाई पनि ध्यान दिनुपर्छ । धर्म वा परम्पराको नाममा कुनै समुदायलाई हीन ठहराउने व्यवहारको आलोचनात्मक समीक्षा आवश्यक छ ।
कतिपय स्थानमा पशुबलि दिनुअघि पशुको टाउको वा कानमा पानी हाल्ने चलन छ । पानी परेपछि पशुले टाउको हल्लाएर वा शरीर झट्कारेर पानी हटाउने प्रयास गर्छ । तर यही स्वाभाविक प्रतिक्रियालाई देवीदेवताले बलि स्वीकार गरेको संकेतका रूपमा व्याख्या गरिन्छ । पानीका कारण पशुको शरीरमा उत्पन्न असहजता हटाउने प्रतिक्रिया सामान्य जैविक प्रक्रिया हो । त्यसलाई दैवी स्वीकृतिको प्रमाण मान्न सकिँदैन ।
मानिसको नाकमा सिन्का हाल्यो भने हाछ्युँ आउनु शारीरिक प्रतिक्रिया हो; त्यसलाई दैवी संकेत मानिँदैन । त्यसैगरी पशुले पानी झट्कार्नु पनि स्वाभाविक प्रतिक्रिया हो, देवीदेवताको इच्छाको प्रमाण होइन ।
अन्त्यमा, पशुबलिको पछाडि प्राचीन मानवको भय, कृतज्ञता, असुरक्षा, सामुदायिक परम्परा र मनोवैज्ञानिक विश्वास जस्ता कारण हुन सक्छन् । विज्ञान र प्रविधिको ज्ञान सीमित भएको समयमा प्राकृतिक विपत्ति, रोग र मृत्युको सामना गर्न मानिसले काल्पनिक अदृश्य शक्तिलाई प्रशन्न पार्ने प्रयास गर्नु अस्वाभाविक थिएन ।
विज्ञान र ज्ञानको विकाससँगै मानिसले प्राकृतिक घटनालाई बुझ्ने तरिका परिवर्तन गरेको छ । त्यसैगरी धार्मिक परम्पराको उत्पत्ति बुझ्दै वर्तमानमा त्यसको औचित्यबारे प्रश्न गर्नु आवश्यक छ । पुस्तौँदेखि चलिआएको वा धेरै मानिसले स्वीकार गरेको अभ्यासलाई अन्धभक्त भएर स्वीकार गर्नु हुँदैन । प्रश्न गर्न गर्नु पर्दछ ।
धर्मको अभ्यास हिंसाभन्दा जीवनप्रतिको सम्मान, कमजोर प्राणीप्रति करुणा र सामाजिक समानताको प्रवद्र्धन आधारित हुनुपर्छ । पशुको हत्या गरेर पुण्य प्राप्त गर्ने अपेक्षाभन्दा आफ्ना दुर्गुण त्याग्नु, सत्य र सदाचारको अभ्यास गर्नु तथा अरूप्रति दयालु हुनु बढी सार्थक धार्मिक आचरण हुन सक्छ ।
परम्परा पुरानो हुँदैमा सत्य हुँदैन र धार्मिक आस्थाका नाममा गरिने हरेक अभ्यास स्वतः उचित हुँदैन । तथ्य, विवेक, करुणा र नैतिक जिम्मेवारीका आधारमा परम्पराको समीक्षा गर्दै हिंसाको सट्टा अहिंसा, सदाचार र मानवतालाई प्राथमिकता दिनु पर्दछ । अन्ततः मानिसले आदिम युगको चेतनाको स्तरमा काल्पनिक देवीदेवताको डर र अन्धविश्वासमा आधारित समाज बनाउने कि विवेक, करुणा र मानवतामा आधारित समाज निर्माण गर्ने भन्ने प्रश्न महत्वपूर्ण छ । परम्पराको सकारात्मक पक्ष जोगाउँदै हानिकारक अभ्यास सुधार गर्नु पर्दछ । त्यसैले आउँदै गरेको दसैंलाई पशुपक्षीको बलिरहित, शान्तिपूर्ण, करुणामय, काल्पनिक देवीदेवता, अन्न्धविश्वास मुक्त र विवेकपूर्ण पर्वका रूपमा मनाऔँ ।
दसैंको हार्दिक शुभकामना !



