आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

बाढी पूर्वानुमान महाशाखाको रिपोर्ट: विहान ४ बजे प्रारम्भिक जानकारी,जलसतह ६.४३ मिटरपुग्दा विवरण आउन छाड्यो

बाढी पूर्वानुमान महाशाखाको रिपोर्ट: विहान ४ बजे प्रारम्भिक जानकारी,जलसतह ६.४३ मिटरपुग्दा विवरण आउन छाड्यो


  • ढोरपाटन संवाददाता
  • असोज २५ २०८३, आइतबार

 

पोखरा / गोरखाको बुढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले जलसतह तीव्र रूपमा बढ्दा खतरा तह पार गरेको छ। बुढीगण्डकी–आरुघाट बाढी मापन केन्द्रमा आइतबार बिहान ८ः बजेर ४० मिनेटमा जलसतह ६.४३ मिटर पुगेको थियो। बाढीले पुलसहितको मापन केन्द्र बगाएपछि त्यसपछिको जलसतहको विवरण प्राप्त हुन नसकेको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले जनाएको छ।

केन्द्रको बाढी पूर्वानुमान महाशाखाका अनुसार बिहान ६ः३० बजे १.२८ मिटर रहेको जलसतह बढेर ३.६६ मिटर पुगेको थियो। त्यसपछि बिहान ७ः५० बजे जलसतह ५.०१ मिटर पुग्यो। उक्त मापन केन्द्रमा सतर्कता तह ४.५० मिटर र खतरा तह ५ मिटर तोकिएको छ। बिहान ७ः५० बजे जलसतह खतरा तहभन्दा माथि पुगेको थियो।

त्यसपछि पनि नदीको जलसतह निरन्तर बढेको थियो। बिहान ८ः३० बजे ६.२२ मिटर पुगेको जलसतह १० मिनेटपछि ६.४३ मिटर पुगेको महाशाखाले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। त्यसलगत्तै बाढीले पुलसहित मापन केन्द्र बगाएकाले थप विवरण संकलन हुन नसकेको हो।

गोरखाको चुमनुब्री गाउँपालिका–६, तुर्जुङस्थित बुढीगण्डकीको सहायक नदीमा आएको आकस्मिक बाढीका कारण नदीमा जलसतह बढेको हो। महाशाखाका अनुसार आइतबार बिहान ४ बजे बाढीसम्बन्धी प्रारम्भिक जानकारी प्राप्त भएको थियो। उक्त क्षेत्रमा पछिल्लो २४ घण्टामा छिटपुट मात्र वर्षा भएको देखिएकाले वर्षाकै कारण बाढी आएको सम्भावना नरहेको प्रारम्भिक आकलन छ।

प्रारम्भिक सूचना तथा भू–उपग्रह तस्बिरको अध्ययनका आधारमा पहिरोले नदी थुनिएर पछि फुट्दा आकस्मिक बाढी आएको हुन सक्ने अनुमान गरिएको छ। यद्यपि, घटनाको वास्तविक कारणबारे विस्तृत प्राविधिक विश्लेषण भइरहेको महाशाखाले जनाएको छ।

बाढीको जोखिमलाई मध्यनजर गर्दै महाशाखाले बुढीगण्डकी नदीको तटीय तथा तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ। बिहान करिब ५ बजे फेसबुक लाइभमार्फत जोखिमयुक्त बस्ती खाली गर्न तथा आवश्यकताअनुसार राजमार्ग र करिडोरमा आवागमन बन्द गर्न अनुरोध गरिएको थियो। मुग्लिनसम्म उच्च सतर्कता अपनाउन तथा तनहुँ, चितवन र नवलपरासीलगायत सम्भावित प्रभावित क्षेत्रमा पनि सावधानी अपनाउन अपिल गरिएको थियो।

बिहान ९ः२५ बजे पुनः एसएमएसमार्फत सूचना जारी गर्दै सर्वसाधारणलाई सुरक्षित स्थानमा जान र थप सूचना नआएसम्म सुरक्षित स्थानमै रहन आग्रह गरिएको महाशाखाले जनाएको छ। यस अवधिमा करिब दुई लाख एसएमएसमार्फत पूर्वसूचना सम्प्रेषण गरिएको थियो।

महाशाखाले नदीको जलसतह घटेको देखिए पनि जोखिम पूर्ण रूपमा टरेको नठान्न, नदी किनार तथा जोखिमयुक्त बस्तीबाट टाढा रहन, पुल र जोखिमयुक्त सडकमा आवागमन नगर्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायका निर्देशन पालना गर्न आग्रह गरेको छ। घटनाबारे थप प्राविधिक विश्लेषणपछि बाढीको अवस्थासम्बन्धी अद्यावधिक विवरण सार्वजनिक गरिने महाशाखाका प्रवक्ता डा. राजन भट्टराईले जनाएका छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->