दसैं सुरु भएको छ । २०७२ सालको संविधानले देशलाई धर्म निरपेक्ष घोषित गरे पनि बहुसंख्यक हिन्दू रहेको नेपालका निम्ति दसैं राष्ट्रिय पर्व नै हो । राज्यले लामो बिदा,कर्मचारीका निम्ति अतिरिक्त भत्ता र शक्तिपीठहरूमा पूजापाठमा सामेल हुँदै गणतन्त्रमा पनि यो परम्परालाई निरन्तरता दिएको छ । दसैंको छेकोमा विदेशमा रहेका नेपालीबाट अन्य समयको भन्दा बढी विप्रेषण देशमा भित्रन्छ । यसरी भित्रने रेमिट्यान्स उपभोगमा खर्च हुन्छ । आधिकारिक तथ्याङ्क नभए पनि दसैंमा १ अर्ब रुपैयाँभन्दा बढीको मासु,५० अर्बहाराहारीमा गहना र गाडी एवं सबैभन्दा बढी खर्च लत्ताकपडा र खाद्यान्नमा हुने गर्छ । समग्रमा २ खर्ब बराबरको आर्थिक कारोबार हुने भएकाले दसैंले सवै धर्मावलम्बीलाई छुन्छ । धार्मिक र सांस्कृतिक पाटोका अलावा हुने यति ठूलो कारोबार हुने पर्वमा देखासिकीमा फजुल खर्च गर्ने एउटा वर्ग हुन्छ भने आर्थिक अवस्था कमजोर भए पनि ऋण गरेर पर्व मनाउने अर्को वर्ग रहन्छ ।
हिन्दू धर्मशास्त्रले चाडबाड र परम्परा देश,काल,परिस्थितिअनुसार मनाउन प्रेरित गर्छ । त्यसैले अरुको देखासिकी गरेर वा ढोंग गरेर चाडबाड मनाउनु समाज र शास्त्र दुवैको विपरीत छ ।पछिल्ला दिनमा चाडबाडहरु भड्किलो बन्दै गएका छन् । पञ्चायतको समयमा ५१ जनाभन्दा बढी जन्ती लैजान नपाइने नियम तडकभडक रोक्नकै निम्ति बनाइएको हो । त्यो कानुन विद्यमान छ तर कार्यान्वयन हुन सकेको छैन । हुनेखानेकालागि दसैंैमा खर्च गर्नु सामान्य होला तर नहुनेका निम्ति अर्काले गर्ने यस्तो खर्चले थप ऋण लिन बाध्य तुल्याउँछ । समाजको मध्यम र उच्चा वर्गको सिको गर्ने भुइँमान्छेहरु चाडवाडकै अवसरमा ऋणको भारी बोक्न अभिषप्त बन्छन् । अरुभन्दा किन कम हुने भन्ने मान्यताले ऋणको भार बढाउँछ र कालान्तरमा त्यो पासो बन्न पुग्छ । अतः चाडबाड भनेर अनावश्यक खर्च र अर्काको देखासिकीबाट टाढा रहनु पर्छ ।
अहिले सबैजसो उपभोग्य सामानको भाउ आकासिएको छ । यस्तो अवस्थामा ‘घाँटी हेरी हाड निल्नू’ भन्ने उखान सम्झनुपर्छ । आफ्नो गच्छेअनुसार नै चाडपर्व मनाउनु पर्छ । चाडपर्वको लागि निश्चित बजेट छुट्याउँदा खर्च व्यवस्थापन गर्न सकिन्छ भने अनावश्यक खर्चका निम्ति चाडपर्व मनाउनकै लागि ऋण लिने बानीमा पनि लगाम लगाउने कोसिस गर्नुपर्छ । यसका अलावा चाडपर्वको समयमा कम मूल्यको सामान खरिद गर्ने एवं तत्कालकालागि आवश्यक नभएको कुरालाई केही पछि सार्ने वा अनावश्यक खर्चलाई रोकेर पैसा व्यवस्थापन गर्दा राम्रो हुन्छ । दसैं भनेको पारिवारिक मेलमिलाप, पूजापाठ, मनोरञ्जन गर्ने र अग्रजसँग आशीर्वाद लिने–दिने पर्व हो । महंगा र नयाँ लुगा लगाउने, मदिरा सेवन र जुवा खेल्ने पर्व होइन भन्ने सम्झनासाथ खर्च स्वतः कम हुन्छ ।




