काठमाडौं, १ पुस – सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) मा संवैधानिक व्यवस्था अनुसार समावेशी अभ्यास नभएको भन्दै दुईजना महिला नेतृहरुले लिखित प्रस्ताव पेश गरेका छन्। आइतबारदेखि जारी नेकपाको स्थायी समितिको बैठकमा स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्य र पम्फा भुसालले विधान संशोधन गरेर केन्द्रीय समितिदेखि वडातहसम्म नै अनिवार्य महिला उपाध्यक्षको व्यवस्था गरिनुपर्ने मागसहित विधान संशोधन प्रस्ताव पेश गरेका हुन्।
‘संवैधानिक व्यवस्था अनुुसार पार्टीभित्र महिला नेतृत्वमा छैनन्, सचिवालय सदस्यमा पनि पुरुषमात्रै छन्’ शाक्यले भनिन्, पार्टीभित्र समावेशीको कुरालाई जोडदार रुपमा उठाउनुपर्छ। हामीले हिजो मौखिकरुपमा कुरा राखेका थियौँ। आज लिखितरुपमै राखेका छौँ।’ उनले सचिवालयमा दुईजना महिलाको प्रतिनिधित्वको मागसहित अर्की नेतृ भुसाल र आफूले विधान संशोधन प्रस्ताव गरेको जानकारी दिइन्।
४५ जना सदस्य रहेको सत्ताधारी नेकपाको स्थायी समितिमा पनि २ जनामात्रै महिला रहेका छन्। ७ जनाको सचिवालयमा पनि महिलाको उपस्थिति शून्य छ। उनीहरुले सचिवालयमा महिलालाई थपेर १५ सदस्यीय बनाउनुपर्ने लिखित माग गरेका छन्।
नेकपाभित्र पनि संविधान अनुसार समावेशी अभ्यास नभएको नेतृ भूसालले प्रतिक्रिया दिइन्। स्थायी समितिको बैठकमा पनि उनले पार्टी नेतृत्वले संवैधानिक व्यवस्था अनुसारको महिलालाई ल्याउने कुरालाई लत्याएको आरोप लगाइन्। पाटीभित्रको नेतृत्व तहमा महिला समावेशीतालाई नअटाएकोमा उनले विरोध गरिन्।
‘सत्ताधारी दलबाट पनि संवैधानिक व्यवस्थाको अवहेलनमा भएको छ । अरुबाँट कसरी आश राख्ने?,’ उनले भनिन्। पार्टी नेतृत्व तहमा अनिवार्य महिला सहभागिता बढाउनुपर्ने माग उनीहरुले गरेका छन्। पार्टीको स्थायी समितिमा पनि महिलाको संख्या बढाउनुपर्ने उनीहरुले माग गरेको छन्।
नेकपाको सचिवालय बैठकमा पनि पुरुषहरुले मात्रै बस्नु लाजमर्दो भएको उनीहरुले प्रष्टाए। सचिवालयमा पनि महिलालाई समावेश गरी १५ जनाको बनाउन उनीहरुले माग गरेका छन्। उनीहरुले पार्टीको नेतृत्व तहदेखि तल्लो तह कमिटीसम्ममा संवैधानिक व्यवस्था अनुसार समावेशी सिद्धान्त अनिवार्य रुपमा लागू गराउनुपर्ने बताएका छन्। उनीहरुले आफ्नो मागलाई सम्बोधन गराउन मंगलबारको स्थायी समितिको बैठकमा पार्टीको विधान संशोधनको प्रस्ताव लिखित रुपमा पेश गरेका हुन्।
स्थायी कमिटी बैठककको तेस्रो दिन पनि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत गरlएको राजनीतिक प्रतिवेदनको टिप्पणीमै सकिएको छ। २ दिनमा टुंग्याउने गरी सुरु भएको बैठक बुधबार बिहान बस्ने गरी सकिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार बैठकको तेस्रो दिन अध्यक्षद्वय ओली र प्रचण्डको राजनीतिक प्रतिवेदनमा सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, घनश्याम भुसाल, मणि थापा लगायतका नेताहरुले टिप्पणी गरे । महासचिव विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमा सुझावसहित धारणा राख्ने क्रम अघि बढेको छ।





