आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

राष्ट्रियसभा निर्वाचनमा तीन दलका पाँचजनाको उम्मेदवारी

राष्ट्रियसभा निर्वाचनमा तीन दलका पाँचजनाको उम्मेदवारी

मुलुकको विकासको लागि बुढाहरुले पनि काम गर्नुपर्छ - रेग्मी


  • ढोरपाटन संबाददाता
  • पुष २० २०७६, आइतबार

पोखरा, २० पुस – माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र गण्डकी प्रदेशसभाको तेश्रो ठुलो संसदीय दल राष्ट्रिय जनमोर्चाका पाँचजना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।
राष्ट्रियसभाको गत चुनावमा कांग्रेसबाट निर्वाचित राष्ट्रियसभा सदस्य सुरेन्द्रराज पाण्डे र वृन्दादेवी आलेको दुइवर्षे कार्यकाल सकिन लागेको छ । सोही पदका लागि आइतबार जिल्ला निर्वाचन कार्यालय कास्कीमा उम्मेदवारहरुले मनोनयन दर्ता गराएका हुन् ।
निर्वाचन आयोगको कार्यतालिका अनुसार आइतबार उम्मेदवारहरुको मनोनयन दर्ताको कार्यसूची थियो । सो अनुसार निर्वाचनका लागि सत्तारुढ नेकपाबाट नेकपा सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले –अन्य सदस्य) र भगवती न्यौपाने (महिला सदस्य) ले मनोनयन दर्ता गराएका हुन् ।
श्रेष्ठ गत प्रतिनिधिसभा चुनावमा समाजवादी पार्टी संयोजक बाबुराम भट्टराईसँग पराजित भएका थिए । श्रेष्ठको प्रस्तावकमा प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेत र समर्थकमा प्रदेशसभा सदस्य दिलमाया रोका मगर रहेका छन् । न्यौपानेलाई प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रस्ताव र मञ्जु गुरुङले समर्थन गरेकी छन् ।
मनोनयनपछि पत्रकार महासंघ कास्कीले गरेको पत्रकार सम्मेलनमा न्यौपानेले सदस्य पदमा गण्डकी प्रदेशबाट आफ्नो उम्मेदवारी निर्णय गर्नुमा आफ्नो राजनीतिक जीवनको मूल्यांकन भएको बताइन् ।
२०४८ देखि अनेरास्ववियु, अनेमसंघ हुँदै पार्टीमा लामो समय बिताएको उनले बताइन् । व्यवस्था परिवर्तनको आन्दोलनमा निभाएको भूमिकालाई अहिले पार्टीले निर्णय गरेको उनको भनाइ छ । राजकीय भूमिका दिने अवसरका लागि उनले पार्टीप्रति आभार व्यक्त गर्दै निर्वा्चित भएपछि कानुन, देश विकासको विषयमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाइन् ।
अर्का उम्मेदवार नारायणकाजी श्रेष्ठले पनि पार्टीलाई धन्यवाद दिँदै माघ ९ को निर्वाचनमा सबै मतदातालाई मतदान गर्न आग्रह गरे । देश र जनताको सेवामा समर्पित हुन, आवश्यक परिवर्तन गर्न राजनीतिमा आएको उनले बताए ।
“पद नै आवश्यक त हुँदैन तर पद जिम्मेवारीका रुपमा रहन्छ,“ उनले भने, “सचिवालय सदस्य, पार्टी प्रवक्ता हुँदै अरु पदले तात्विक असर गर्दैन तर, आर्थिक क्रान्तिको विषयमा संसदबाटै भूमिका निभाउने अवसर, निर्देशन र विश्वास दिएको हो ।”
संविधानमा उल्लेख समाजवाद उन्मुख जनताको जनवादका आधारमा सामाजिक, आर्थिक रुपान्तरण गरिने उनले बताए । यही प्रक्रियाका निम्ति आफ्नो उम्मेदवारी एउटा इँटा थप्ने काम मात्र भएको श्रेष्ठले बताए ।
मुलुकको विकासको लागि बुढाहरुले पनि काम गर्नुपर्छ
मतभारको गणित हेर्दा माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनमा गण्डकी प्रदेशमा कांग्रेसको हार सुनिश्चित छ । यद्यपी निर्वाचन आयोगको कार्यतालिका अनुसार गण्डकीका दुई पद (अन्य र महिला) मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि उम्मेदवारी दियो ।
कांग्रेसले अन्य पदमा स्याङजाका ७१ वर्षीय सूर्यप्रसाद रेग्मी र महिला पदमा म्याग्दीकी एकल महिला विमला गौचनलाई उम्मेदवार बनाएको थियो ।
उम्मेदवारी दर्ता पश्चात पत्रकारसँग बोल्दै रेग्मीले भने, “मुलुकको विकासको लागि बुढाहरुले पनि काम गर्नुपर्छ । देशको विकासको लागि मैले घुस खान्न, मेरो नाममा एक इञ्च जग्गा छैन्, मेरो खातामा एकहजार रुपैयाँ पनि छैन् ।”
देश विकासका लागि वयोवृद्ध एकसाथ भएर हिँड्नुपर्ने र आफ्नो उम्मेदवारी पनि देशको विकासकै लागि भएको उनले बताए ।
“देश विकासको सहयोगको लागि, हामी त मुलुकको लागि भनेर हिँडेको हो नि । व्यक्तिको लागि हिँडेको भए, कमाइन्थ्यो होला, जागिर खाइन्थ्यो होला । मैले देशकै लागि भनेर जागिर पनि खाइन ।” उलने भने ।
जनता नै परमात्मा भएको हुँदा परमात्माकै सेवा गर्न पाए हुने उनले बताए ।
“परमात्माको सेवा गर्न पाए पुग्यो अब मलाई । मुलुकका जनता परमात्मा हुन् ।” चुनावी चुनौतीबारे उनले आफूले चुनौती नै नमानेको प्रतिक्रिया दिए ।
“मैले चुनौती मानेकै छैन्, परमात्माको भर परेपछि सकियो त । टिकट पनि मागेर ल्याएको होइन, परमात्माले दिलाएका हुन् ।” उनले भने ।
कांग्रेसले महिला पदमा उठाएका उम्मेदवार गौचन एकल महिला पनि हुन् । उनले समाज परिवर्तनको खातिर उम्मेदवारी दिएको बताइन् ।
“पार्टीले मलाई आजको दिनमा टिकट दियो त्यसका लागि म खुशी छ । गण्डकीमा म पार्टीलाई कसरी जिताउने भन्दा पनि समाजमा कसरी परिवर्तन गर्ने र समृद्ध नेपाल कसरी बनाउने भन्ने सन्दर्भ आएको छ ।” गौचनले भनिन् ।
अहिले राज्यका विभिन्न स्थानमा भएका जनप्रतिनिधीहरुको कार्यशैली पनि केलाउनुपर्ने अवस्था आएको उनले बताइन् ।
उम्मेदवार रेग्मीले गण्डकी प्रदेशसभा सदस्य भागवतप्रकाश मल्लको प्रस्ताव र भीरकोट नगरपालिकाका प्रमुख छायाँराम खनालको समर्थनमा उम्मेदवारी दर्ता गराएका थिए ।
गौचनलाई जलजला गाउँपालिकाका उपप्रमुख सीमा गर्बुजा पुनले प्रस्ताव र भीरकोट नगरपालिकाका उपप्रमसख सीमा कर्माचार्यले समर्थन गरेकी थिइन् ।
जनमोर्चाको एकल उम्मेदवारी
प्रदेशसभामा सरकारलाई समर्थन गर्दै प्रतिपक्षमा बसेको तेश्रो ठुलो संसदीय दल राष्ट्रिय जनमोर्चाले पनि उम्मेदवारी दिएको छ । जनमोर्चाले यहाँबाट अन्य पदमा मात्रै उम्मेदवारी दिएको हो ।
जनमोर्चाबाट कास्कीका शंकरप्रसाद बराल उम्मेदवार बनेका छन् । उनलाई गण्डकी प्रदेशसभा सदस्यद्वय कृष्ण थापाले प्रस्ताव र पियारी थापाले समर्थन गरेका थिए ।
प्रदेशमा प्रत्यक्षतर्फ दुई र समानुपातिकमा एक सहित कुल तीन प्रदेशसभा सदस्य राजमोका छन् । यस्तै, बाग्लुङ बरेङ गाउँपालिकाको अध्यक्ष÷उपाध्यक्ष र काठेखोला गाउँपालिकाको उपाध्यक्ष गरि तीन मतदाता पनि राजमोका छन् ।
यस प्रदेशमा राजमोको कुल मतभार भने १९८ रहेको छ ।
सोमबार उम्मेदवारको विरोधमा उजुरी दिने, २२ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने र २३ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको आयोगद्वारा जारी सूचनामा उल्लेख छ ।
२४ गते उम्मेदवारले नाम फिर्ता लिने, २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र निर्वाचन चिह्न प्रदान कार्यक्रम रहेको आयोगले जनाएको छ । माघ ९ गते बिहान १० देखि १६ बजेसम्म मतदान कार्यक्रम तोकिएको छ । आयोगका अनुसार मतदान सकिएलगत्तै मतगणना सुरु हुनेछ ।
प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन तर्फको उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति राष्ट्रिय सभाको उम्मेदवार हुन नपाउने कानुनी व्यवस्था छ । सम्बन्धित दलले नाम फिर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएर बन्दसूचीबाट नाम हटाएको खण्डमा भने उम्मेदवार हुन पाउने नियम छ ।
निर्वाचनका लागि आयोगले निर्वाचन केन्द्र नै तोकिसकेको छ । गण्डकीको चुनाव जिल्ला निर्वाचन कार्यालय कास्कीमा केन्द्र तोकिएको छ ।

यहाँ ६० प्रदेशसभा सदस्य र ८५ स्थानीय तहका १७० प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्षले मतदान गर्नेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->