मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

मलेसियामा मिर्गौला फेल भएका परियार एक बर्षदेखि अस्पतालमा

मलेसियामा मिर्गौला फेल भएका परियार एक बर्षदेखि अस्पतालमा


  • संजय रेग्मी
  • पुष २५ २०७६, शुक्रबार

पर्वत,२५ पुस – दुवै मिर्गौला फेल भएर एक बर्षदेखि उपचाररत अवस्थामा रहेका पर्वतको कुस्मा नगरपालिका १२ ठूलीपोखरीका बिष्णु परियारको परियारले सहयोगको अपिल गरेको छ ।
परिवारको आर्थिक अवस्था कमजोर रहेकै बेलामा दुबै मिर्गौला फेल भएको तथा उपचारको लागि आर्थिक समस्या परेका कारण सबैसँग आर्थिक सहयोगको अपिल गरिएको बिष्णुकी श्रीमती लक्ष्मी परियारले बताईन् । ठूलीपोखरी स्थित चोरकाटे भन्ज्याङका ४२ वर्षीय विष्णु परियार बैदेशिक रोजगारीको शिलशिलामा २०७१ सालमा मलेसिया पुगेर सुरक्षा गार्डका रुपमा कार्यरत रहेका थिए । चौथो बर्षमा काम गरिरहेको अवस्थामा उनका दुवै मिर्गौला फेल भएपछि नेपाल फर्किएका थिए । उनको अहिले काठमाडौँ स्थित बुलन्दसिद्धि ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
२०७५ सालको असोजबाट अस्पतालमा भर्ना भएर उपचार गराइरहेका बिष्णुको एक हप्तामा तीन पटक मिर्गौलाको डायलाईसिस हुँदै आएको छ । घरको आर्थिक अवस्था उपचारकै कारण नाजुक बन्दै भएका कारण थप उपचारमा समस्या हुँदै आएको बिष्णुले बताए ।
श्रीमानलाई बचाउनको लागि लक्ष्मीले आफ्नै मिर्गौला दिने सोच बनाएको भएपनि आर्थिक अभावका कारण आफ्नो  मिर्गौलाको परीक्षण गर्न तथा प्रत्यारोपणका लागि पनि खर्च नभएको लक्ष्मीले जानकारी दिईन् । आफ्नो मिर्गौला श्रीमानको शरीरमा मिल्छ वा मिल्दैन भन्ने परीक्षणका लागि कम्तीमा पनि ५० हजार रुपैयाँ आवश्यक पर्ने तर त्यही रकम पनि आपू्mसँग नभएका कारण श्रीमानको जीवन र मरणको दोसाँधमा बसिरहनुपरेको उनको भनाई छ । ‘मेरो शरीरको रगत र मिर्गौला दिएर उहाँलाई बचाउन चाहन्छु ।’ लक्ष्मी भन्छिन्, ‘जाँच नगरी दिन नमिल्ने रहेछ, तर जाँच गराउने पैसा समेत छैन् । भगवान् पनि दुःखी माथि मात्रै किन लाग्ने रहिछन् ?’
विष्णुकी श्रीमती लक्ष्मी परियारले आपूmसँग भएका सबै गरगहना बेचिसकेकी छिन् । श्रीमानलाई बचाउन पाए उनको लागि गहना त के आपूmलाई नै मेटाउनु पनि ठूलो कुरा छैन । तर ज्यान दिन तयार रहँदैमा श्रीमानलाई निको हुँदैन् । ‘म के गरूँ ? म मरेर मेरो उहाँलाई निको हुने भए मलाई मेरो ज्यानको माया छैन ।’ उनले भनिन, ‘अहिलेसम्म १० लाख रुपैयाँ सकियो । नाक कानमा लगाएका गहना पनि बेचेर सकिए, अब के बेचेर उपचार गराउने ?’
लक्ष्मीका अनुसार विष्णुलाई काठमाडौँमा भाडाको कोठा खोजेर राखिएको छ । डाईलाईसिस, भ्याक्सिन, कोठा, खाना सबै गर्दा महिनामा कम्तीमा पनि ३० हजार रुपैयाँ चाहिन्छ । अहिलेसम्म यो खर्चलाई जसोतसो व्यवस्थापन गरेको भए पनि अब भने उनको सामर्थ्य सकिएको छ ।
२०७५ असोजबाट उपचाररत विष्णुलाई बचाउन अपिल गर्दै सहयोग सङ्कलन भएको भए पनि त्यो पैसा सबै सकिएको छ । ‘वडा देखि चिनेका इष्टमित्रहरूले सबैले सकेको सहयोग गरिसक्नु भएको छ । तर त्यो सबै पैसा सकिएको छ ।’ लक्ष्मी भन्छिन्, ‘अब फेरि उहाँहरूसँग सहयोगको अपिल गर्ने कुरा भएन, पैसा नभई भएको छैन ।’ एक वर्षको अवधिमा सहयोग स्वरूप आएको झन्डै १० लाख रुपैयाँ सबै सकिएको उनले बताइन् । अहिले सामान्य घर खर्ची चलाउन र विष्णुलाई पैसाको अभाव भएको बेलामा थपथाप गर्ने सामान्य खर्च जापानमा बस्दै आएका लक्ष्मीका भाइ कृष्ण परियारले पठाउँदै आएका छन् । श्रीमान् उपचाररत रहेको बेलामा लक्ष्मीलाई पिडा त छँदै छ त्यसमाथि पनि कुस्मामा बस्दै आएका आपूm, छोरा र छोरीलाई कसरी लालन पालन गर्ने? भन्ने चिन्ता पनि उत्तिकै छ । सानो खालको ‘टेलरीङ सप’ बाट अलि अलि आम्दानी भएको पैसा उपचारमा नै खर्चिनुपर्दा छोराछोरी पाल्न नै धौ भएको उनको भनाई छ ।
मिर्गौला पीडित विष्णुलाई उनकै ५५ बर्सिया आमा मनबुजाको मिर्गौला मिलेपछि आमाकै मिर्गौला प्रत्यारोपण गर्ने तयारी भएको थियो । आमा मिर्गौला दिन तयार पनि भइन तर जुन बेला प्रत्यारोपणको अन्तिम तयारी हुँदै थियो त्यो बेलामा गाउँ गएर फर्किन्छु भनेर अस्पतालबाट बाहिरिएकी आमा अहिलेसम्म पनि अस्पताल नगएकाले समस्या भएको लक्ष्मीको भनाई छ । ‘आमा मिर्गौला दिन तयार हुनुभएको थियो, ५० हजार तिरेर उहाँको मिर्गौलाको स्याम्पल भारत पठाएर जाँच भयो, सबै मिल्यो तर मिर्गौला फेर्ने बेला हुनै लाग्दा आमा गाउँमा आउनुभयो, खै के सोच्नुभयो मिर्गौला दिन मान्नुभएन ।’ आमाले मिर्गौला दिन्छु भनेपछि त्यसैको तयारीमा झन्डै ४ लाख खर्च भएको तर त्यो सबै खेर गएको लक्ष्मी बताउँछिन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->