आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

अग्निलाई सभामुखको उम्मेदवार बनाउने निर्णय: को हुन् अग्नि ?

अग्निलाई सभामुखको उम्मेदवार बनाउने निर्णय: को हुन् अग्नि ?

चौतारा- ६ कुविण्डे सिन्धुपाल्चोकमा धनपति र तिलमायाको कोखबाट २०१४ साल फागुन २४ गते सापकोटाको जन्म भएको हो।


  • ढोरपाटन संवाददाता
  • माघ ५ २०७६, आइतबार

काठमाडौं, ५ माघ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी नेता अग्नि सापकोटालाई सभामुख उम्मेदवार बनाएको छ। नेकपा महासचिव विष्णु पौडेलका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले सापकोटालाई सभामुख उम्मेदवार बनाउने निर्णय गरेको हो।  नेकपाले उम्मेदवार टुंगो लगाएसँगै प्रतिनिधि सभाले सभामुख पाउने बाटो खुलेको छ। सिन्धुपाल्चोक जिल्ला चौतारा-६ कुविण्डे टोलमा धनपति र तिलमायाको कोखबाट सापकोटाको २०१४ साल फागुन २४ गते जन्म भएको हो। साविकको सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमा भारी मतान्तरले विजयी सापकोटा ०७४ को निर्वाचनमा क्षेत्र नम्बर १ बाट विजयी भएका हुन्।
२०३५ सालबाट राजनीतिमा सक्रिय सापकोटाले दुई वर्ष जेल जीवन बिताएका छन्। २०४८ सालमा संयुक्त जनमोर्चाकातर्फबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका सापकोटा पराजित भएका थिए। २०५१ सालमा पार्टी केन्द्रीय सदस्य बनेका सापकोटा माओवादी र सरकारबीच भएको दोस्रो वार्तामा वार्ता टोली सदस्यसमेत थिए।
समाजशास्त्रमा स्नातकोत्तर सापकोटा २०४४ सालमा नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय उपाध्यक्ष भएका थिए।  साँगाचोकस्थित जनजागृति माध्यमिक विद्यालयमा १५ वर्ष प्राध्यापन गरेका सापकोटाले शिक्षण पेशा छोडेर राजनीति गरेका हुन्।
२०५२ सालबाट भूमिगत भएका उनी माओवादी शान्तिप्रक्रियामा नआउँदासम्म भूमिगत थिए। सापकोटा २ पटक मन्त्री भइसकेका नेता हुन्। सापकोटाले सूचना तथा सञ्चार र वन मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिसकेका छन्। उनी अहिले नेकपा स्थायी समिति सदस्य हुन्।
प्रधानमन्‍त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबार बिहान भएको तीन घन्टा लामो छलफलपछि सभामुख चयनको विषय अनुमोदन नेकपा सचिवालय बैठक बसेको थियो । तत्कालीन माओवादीको भागमा सभामुख भएकोले तत्कालीन माओवादीबाटै सभामुख चयन गर्ने सहमति दुई अध्यक्षबीच भएको थियो । त्यसलाई औपचारिकता दिन बसेको सचिवालय बैठकले सापकोटाको नाम अनुमोदन गरेको हो ।
बालुवाटार वार्तापछि अध्यक्ष प्रचण्डले पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायतसँग परामर्श गरेका थिए । सभामुख चयनमा पार्टीभित्रको आन्तरिक किचलोका कारण झन्डै एक महिना संसद बन्धकजस्तै भएको छ।
पार्टी सचिवालयले सभामुखको नाम टुंगो लगाएपछि स‌ंसदको भोलिको बैठकमा सभामुख निर्वाचनसम्बन्धी कार्यक्रम पेस हुनेछ । सभामुखका लागि नेकपाभित्रैबाट सुवास नेम्वाङ, उपसभामुख शिवामाया तुम्बाहाङफेको नाम पनि चर्चामा थियो । सभामुखका लागि दाबेदारी गर्दै आएकी उपसभामुख शिवामायालाई राजीनामा दिन पार्टीले औपचारिक रुपमा निर्देशन दिएको थियो । उनले पार्टीले सभामुख टुंगो लगाएपछि मात्र राजीनामा दिने अडान लिएकी थिइन् । संसद‌्‌को हिउँदे अधिवशेन पुस ४ गते प्रारम्भ भए पनि नेकपाले सभामुख उम्मेदवार चयन गर्न नसक्दा लगातार पुस ११, १७ र २७ गते तीन सूचना टाँसेर बैठक स्थगित भएको थियो । निवर्तमान सभामुख कृष्णबहादुर महरा बलात्कार प्रयासको आरोपमा पुर्पक्षका लागि जेल चलान भएपछि सभामुख पद खाली छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->