बागलुङ,२४ माघ – बागलुङ नगरपालिका वडा नं. ३ ले वडामा बसोबास गर्ने अपाङ्गता भएकाहरुलाई सहायता सामाग्री हस्तान्तरण गरेको छ । वडा कार्यालयले चालु आर्थिक वर्षमा तय गरेको कार्यक्रम अनुसार ‘क’ वर्गको कार्ड प्राप्त पूर्ण अपाङ्गता भएकाहरुलाई सहायता सामग्री हस्तान्तरण गरिएको हो ।
वडा अध्यक्ष लक्ष्मी बास्कोटाका अनुसार नगरपालिकाका तीन जनालाई ह्वीलचियर, पाँच जनालाई कमट ट्वाइलेट, दूई जनालाई ब्लाइण्ड स्टीक र चार जनालाई डिसेवल स्टीक प्रदान गरिएको छ । वडाले चालु आर्थिक वर्षमा ५० हजार रुपैयाँ अपाङ्गता भएकाहरुका लागि सहायता सामग्री प्रदान गर्नेगरी बजेट व्यवस्था गरेको थियो ।
अपाङ्गता भएका कारण हिड्डुल गर्न नसक्नेहरुका लागि ह्वील चियर, शौचालय समेत जान नसक्ने अवस्थामा रहेकालाई कमोड ट्वाइलेट, दृष्टिबिहीनहरुका लागि ब्लाइण्ड स्टीक र अन्य हिड्डुलमा समस्या भएकाहरुलाई डिसेवल स्टीक प्रदान गरिएको अध्यक्ष बास्कोटाले जानकारी दिए । सहायता सामग्री प्राप्त भएपछि आफूहरुलाई धेरै सहज भएको अपाङ्गता भएकाहरुले खुसी व्यक्त गरेक थिए ।





