नवलपुर,१० फागुन – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकासँग गरिएको मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) परिमार्जनसहित अनुमोदन हुने बताएका छन्।
शनिबार बिहान नवलपुरमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले अध्ययन कार्यदलले शुक्रबार अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको भन्दै अहिले त्यसको अध्ययन भइरहेको बताए। उनले एमसीसी अध्ययन गरेर परिमार्जनसहित अनुमोदन गरिने बताए।अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली पनि एमसीसी परिमार्जन गर्नुपर्छ भन्ने पक्षमा रहेको बताउँदै उनले यथास्थितिमै सो सम्झौता अनुमोदन नहुने बताए।
‘हाम्रो पार्टीको केन्द्रीय समितिमा पनि यो पूरै नेगेटिभ पनि होइन्, चुपचाप पास गरिहाल्नुपर्छ भन्ने पनि होइन्, राम्रोसँग बुझेर अध्ययन गरेर राष्ट्रको हितमा हुनेगरी टुंग्याउनुपर्छ भन्ने मत आएपछि कार्यदल बनाएका हौँ’, प्रेस संगठन नेपाल नवलपुरले आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने।उनले हिजोमात्रै प्रधानमन्त्रीले नेपाल भ्रमणमा आएको अमेरिकन रिपब्लिकन र डेमोक्रेटिक पार्टीको टोलीसँग परिमार्जनका विषयमा कुरा गरिसकेको जनाकारी दिए।
‘एमसीसी बाइबल होइन, यसलाई परिमार्जन गरेर अघि बढाउन सकन्छि, संशोधनका पक्षमा प्रधानमन्त्री पनि सकारात्मक नै रहनु भएको छ’, प्रचण्डले भने।उनले कार्यदलले बुझाएको प्रतिवेदन आफूहरुले अध्ययन गरिनसकेको रअध्ययनपछि यसबारे निर्णय गरिने बताए।
अध्यक्ष प्रचण्डले सरकारको कामका विषयमा आजदेखि शुुरु हुने सचिवालय बैठकले समीक्षा गर्ने बताए। वर्तमान सरकारले गरेका धेरै राम्रा कामहरुलाई पनि केही नराम्रा कामले छोपेको भन्दै उनले यस विषयमा समीक्षा गरेर अघि बढ्ने बताए।फरक प्रसंगमा उनले नेकपाभित्र आन्तरिक विवाद नरहेको पनि स्पष्ट पारे।





