सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

हुर्जा मानवअधिकार पुरस्कारका पाँचै प्रतिभा छनौट

हुर्जा मानवअधिकार पुरस्कारका पाँचै प्रतिभा छनौट


  • Dhorpatan News
  • फाल्गुन १९ २०७६, सोमबार

पोखरा,१९ फागुन – मानवअधिकार पत्रकार संघ हुर्जा गण्डकीले प्रत्येक अधिवेशन सन्दर्भमा प्रदान गर्ने हुर्जा मानवअधिकार पुरस्कारका पाँचजना प्रतिभा छनौट गरेको छ ।
हुर्जाका अनुसार यशकुमारी जिसी स्मृति मानवअधिकार पुरस्कार यस पटक क्ब्होलासोथर गाउँपालिका–९ गिलुङ लमजुङकी ८१ वर्षिया सानुमाया गुरुङलाई अर्पण गरिने भएको छ ।
संस्थाको विनियम अनुसार प्रदेशस्तरमा आह्वान गरिएको ३५ दिने सूचनाका आधारमा प्राप्त आवेदनमध्ये गुरुङलाई छनौट गरिएको हो ।
कुनै पनि राजनीतिक पद धारण नगरी कम्तीमा १० वर्षदेखि अधिकारका क्षेत्रमा काम गरेका महिला हुनुपर्ने प्रावधान राखेर संस्थाले सूचना प्रकाशित गरेको थियो । सोही आधारमा अनलाइन आवेदन दिएका तीन दर्जन ज्यादा प्रतिभामध्येबाट चार छनौट गरी त्यसमा पनि उत्कृष्टताका आधारमा सानुमायालाई सम्मान अर्पण गर्ने निर्णय भएको प्रतिभा छनौट समितिका संयोजक पत्रकार कृष्णप्रसाद बास्तोलाले जानकारी दिए ।
१९९५ माघ १० गते बुबा बजिर गुरुङ र आमा चण्डी गुरुङका कोखकाट जन्मेकी सानुमाया २०४९ सालदेखि संस्थागत नेतृत्व लिएर अधिकारका क्षेत्रमा क्रियाशील छन् । उनी गिलुङ गाउँ विकास समितिको अध्यक्ष हुँदै नेपाल रेडक्रस सोसाइटी लमजुङकी सभापति भएर समाजसेवामा क्रियाशील थिइन् । गुरुङको पहलमा महिला सीप विकास भवन निर्माणका साथै आदर्श महिला सीप विकास केन्द्रको स्थापना गरेर त्यसको संरक्षक, अध्यक्ष हुँदै अक्षयकोष स्थापना गरी ४० लाख प्रदान गरेकी छन् । उक्त बालगृहको स्थायित्वका लागि एक करोड अक्षयकोष अभियानमा लागेकी उनको अभियान स्तुत्य रहेकाले छनौट समितिको सिफारिसलाई सर्वसम्मत अनुमोदन गरेको हुर्जाका अध्यक्ष राजेश पराजुलीले बताए ।
१५ हजार १५ राशि, सम्मानपत्र र दोसल्ला रहेको उक्त पुरस्कारबाट यस अघि मानवअधिकारकर्मी प्रमिला तझ्या पुरस्कृत भइसकेकी छन् ।
यसैगरी, मानवअधिकार पत्रकारिता पुरस्कारबाट मादी गाउँपालिका–४ निवासी अधिकारकर्मी श्रीकान्त सापकोटालाई सम्मान गरिने भएको छ । यस अघि उक्त पुरस्कारबाट पत्रकार श्याम कुँवर र स्मीता अधिकारी सम्मानित भइसकेका छन् ।
लामो समयदेखि मानवअधिकार, शिक्षा र वकालतमा क्रियाशील प्रतिभा भएकाले सापकोटालाई उक्त पुरस्कार प्रदान गर्न लागेको हुर्जाका उपाध्यक्ष असफल गौतमले बताए । उक्त पुरस्कारको राशि ११ हजार एक सय ११, सम्मानपत्र र दोसल्ला रहेको छ ।
यसैगरी मानवअधिकार समाजसेवी पुरस्कारबाट पोखरा–१९ का चन्द्रबहादुर गुरुङ सम्मानित हुने भएका छन् । यस्तै, हुर्जाले बालअधिकार क्षेत्रमा पनि पुरस्कार स्थापना गरेको छ । उक्त पुरस्कारबाट पोखरा १९ की एलिना श्रेष्ठ सम्मानित हुने भएकी छन् । श्रेष्ठ पोखरा महानगर बालमञ्चकी अध्यक्षसमेत रहेकी छन् । यी दुवै पुरस्कारको राशि ११ हजार एक सय ११ सम्मानपत्र र दोसल्ला रहेको छ ।
समाजसेवा, बालअधिकार र संस्थागत सम्मान पुरस्कार हाल स्थानीयस्तरका प्रतिभालाई प्रदान गरिने प्रावधान रहेको संस्थाका महासचिव विरेन्द्र सापकोटाले जानकारी दिए ।
यस्तै अधिकारका क्षेत्रमा उल्लेख्य योगदान दिँदै आएका संस्थालाई प्रदान गरिने संस्थागत सम्मान सयपत्री समाज नेपाललाई प्रदान गरिने भएको छ । संस्थागत सम्मान विशिष्ट प्रकृतिको भएकाले कुनै राशि नराखिएको संस्थाका कोषाध्यक्ष सुशील श्रेष्ठले बताए ।
संस्थागत सम्मानबाट यस अगाडि मानवअधिकार आयोग पश्चिमाञ्चल, इन्सेक, आदर्श समाज दैनिक, परिवर्तन नेपाललगायतका संस्था सम्मानित भइसकेका छन् ।
हुर्जाले अर्पण गर्ने पाँचै पुरस्कार फागुन ३० गते पोखरामा हुने हुर्जा गण्डकीको चौंथो अधिवेशन, १० औं वर्षगाँठ तथा स्मारिका लोकार्पण विशेष समारोहका बीच अर्पण गरिने संस्थाका निर्देशक कृष्ण अञ्जान ज्ञवालीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->