पोखरा,२० फागुन – कास्कीको माछापुच्छे« गाउँपालिकामा झोलुङ्गेपुलका पिताको नाममा परिचित समाजसेवी मनिलाल गुरुङको जन्मघरलाई संग्रहालय बनाइएको छ ।
गाउँको शिक्षा, आर्थिक र पूर्वाधार विकासको अभियन्ताका रुपमासमेत चिनिने समाजसेवी तथा विकास प्रेमी गुरुङको स्मृतिमा जन्मथलो कास्कीको माछापुच्छ«े गाउँपालिका– ९, इमुमा रहेको घरलाई मनिलाल संग्रहालयको रुपमा स्थापना गरिएको हो ।
स्वर्गीय मनिलालको सम्झनामा उनका ५ भाइ छोरा तथा गाउँको पहलमा संग्रहालय तथा मनिलाल प्रतिष्ठानको स्थापना गरिएको हो ।
पर्यटकीय क्षेत्रको रुपमा रहेको माछापुच्छ«े गाउँपालिकामा पर्ने सेती नदीदेखि माछापुच्छे«को फेदसम्म विकास तथा शिक्षाको लागि अतुलनीय भूमिका खेलेका मनिलाल अझै पनि गाउँका सबैको मन मस्तिष्कमा जिवितै छन् । १९७७ साल मंसिरमा जन्मिएका उनको मृत्यु जनआन्दोलनको बेला पोखरामा भएको थियो । क्यान्सर पीडित समेत रहेका मनिलाल आफ्नो क्यान्सर लुकाएरै लोकतन्त्रको लागि आवाज उठाउने क्रममा २०६२ सालमा मृत्यु भयो । नेपाली कांग्रेसका समेत नेता मनिलाल क्यान्सरका बावजुत पनि पोखरामा लोकतन्त्रको लागि आमरण अनसनमा समेत सक्रिय थिए । तत्कालिन पञ्चायती समयमा २५ वर्ष सम्म निरन्तर निर्विरोध प्रधानपञ्चको रुपमा रहेर गाउँको विकासको लागि सधैँ क्रियाशिल थिए । मनिलालले तत्कालीन समयमा हेम्जामा रहको सेती नदीदेखि माच्छापुच्छ«ेको फेदसम्म बाटो निर्माणदेखि झोलुङ्गेपुल हाल्नेसम्मका काम गरेका कारणले उनलाई झोलुङ्गे पुलको पिताको रुपमा समेत रहको स्थानीयहरुको भनाइ रहेको छ ।

संग्रहालयमा मनिलाले प्रयोग गरेका जिवनकालका विभिन्न सामग्रीहरु राखिएको छ । संग्रहलयमा घरेलु जिवनमा प्रयोग हुने सामग्रीहरुलाई प्रदर्शनीमा समेत राखिएको छ । मनिलालका काइँला छोरा तेजबहादुर गुरुङले आफ्नो बुबाले सामाजिक, शिक्षा र गाउँको विकासको लागि आफ्नो जीवन सुम्पेको कारणले पनि संग्रहलय खोलेको बताए । त्यस्तै मनिलाल प्रतिष्ठानका सचिव पूर्णबहादुर गुरुङले संग्रहलयमा कृषिमा प्रयोग हुने तथा गुरुङ संस्कृतिमा हुने विभिन्न पुरातात्विक सामग्रीहरु राख्ने योजना रहेको बताए । स्थानीय कुलप्रसाद अधिकारीले मनिलालले शिक्षाको क्षेत्रमा आफै लागेर अतुलनीय योगदान दिएको बताए । मनिलालले गाउँमा विधालय स्थापना गर्न निकै कसरत गरि पोखराका घर घरमा शिक्षकको खोजी गर्दै शिक्षक लगेर गाउँलाई शिक्षित बनाउने काम गरेको उनले स्मरण गरे ।‘सेती कटेपछिका पुराना झोलुङ्गेपुलहरु सबै उहाँले नै ल्याउनुभएको हो यतिमात्र होइन हेमजादेखि बाटो खन्न एक्लै लाग्ने व्यक्ति समेत उहाँ हो’, अधिकारीले भने । संग्रहलयको उद्घाटन भने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरेका थिए ।





