पोखरा,२० फागुन – नेपाल दशनामी युवा समिति कास्कीले पोखरा १४ वाच्छी वुडुवामा अवस्थित वात्स्यायन वृद्धाश्रममा मंगलबार निःशुल्क स्वास्थ्य शिविर संचालन गरि वृद्धहरुको स्वास्थ्य परिक्षण गरेको छ । सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै समितिले शिविर गरेको हो ।
दुःख पाएका, खान लाउन नसकेका, सडकमा भौतारिएका वृद्धहरुलाई यहाँ ल्याएर सेवा गर्न पाउँदा खुसी प्राप्ती हुने वृद्धाश्रमका अध्यक्ष बोधराज कार्कीले बताए । वृद्धाश्रममा रहने कोहीलाईपनि कुनै पक्षपात नगरि खुसीसाथ राखिएको कार्कीले बताए । उनले भने– ‘वृद्धीहरुलाई रमाईलो बनाउन नाँचगान, भजन किर्तन, नियमित व्यायामलगाएतका कार्य गराउँदै आएका छौं । सबै जना खुसी साथ बस्नुभएको छ । कतिपयका छोराछोरी वा आफन्तले थाहा पाएर यहाँ सम्पर्क पनि गर्नुभएको छ । यस्तो अवस्थामा उहाँहरुको परिवारसँग मिलन पनि गराएका छौं ।’
सेवा सुविधा राम्रो भएकाले वृद्धहरुले घरनै विर्सिएका उनको भनाई छ । समाजसेवी व्यक्ति, संघसंस्थालगाएतको सहयोगद्वारा वृद्धाश्रममा खानपिनको खर्च चलिरहेको उनले बताए । उनले भने– ‘वृद्धहरुलाई जोखिमपूर्ण स्वास्थ्य समस्या आएमा गण्डकी मेडिकल कलेज र पश्चिमाञ्चल क्षेत्रिय अस्पतालले निःशुल्क उपचारका लागि लाने गरेका छौं । बजारबाट केही टाढा भएकाले अस्पतालसम्म लैजान अलि कठिन भैरहेको छ । भाडावाला ट्याक्सीद्वारा नै अस्पतालसम्म लैजाने गरेका छौं ।’
शिविर अघि औपचारिक कार्यक्रममा बोल्दै नेपाल दशनामी युवा समितिका केन्द्रीय उपाध्यक्ष अर्जुन गिरीले सेवा नै धर्म को भनाईलाई आत्मसाथ गर्दै कास्की समितिले गरेको कार्यको प्रशंसा गरे । साथै समाजसेवाका लागि सधै अग्रसर रहन आग्रह गरे ।
कास्की समितिका अध्यक्ष प्रेम गिरीले समाजसेवाका कार्यका साथमा अन्य क्षेत्रमा समितिले कार्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।
१९ जना वृद्ध रहेका वृद्धाश्रममा स्वास्थ्य चेकजाँजको शहजीकरण समितिकै सरस्वती पुरी र अञ्जली गिरीले गरेका थिए । औपचारिक कार्यक्रममा स्वागत मन्तव्य समितिका उपाध्यक्ष राजु गिरीले राखेका थिएभने संचालन सचिव आशिष पुरीले गरेका थिए ।
समितिले सामान्य स्वास्थ्य समस्यामा प्रयोग गरिने औषधि तथा फलफूल समेत वृद्धाश्रमलाई हस्तान्तरण गरेको थियो ।





