पोखरा,२१ फागुन – विश्वभर महामारीको रुपमा फैलिई रहेको नोवेल कोरोना भाइरसको जोखिम न्युनिकरणका लागि कास्कीमा उच्च सतर्कता अपनाइएको छ । कोरोना संक्रमण हुन नदिनको लागि पोखराका ४ ठुला अस्पतालमा ६० वटा आइसोलेसन बेड तयारी अवस्थामा राखिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।
यस्तै, ठुला सार्वजनिक कार्यक्रम पनि रोक्नका लागि जिल्ला प्रशासन कार्यालय कास्कीले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीका अनुसार पोखराको जिएमसीमा १५, मनिपालमा १५, चरक मेमोरियल अस्पतालमा २७ र पश्चिाञ्चल क्षेत्रीय अस्पतालमा ३ वटा आइसोलेसन बेड तयारी अवस्थामा राखिएको उनले सुनाए । ‘स्वास्थ्य निर्देशनालय, पोखरा महानगर, प्रदेश सरकारसंग समन्वय गरेर योजनाहरु बनाई रहेका छौं,’ उनले भने, ‘पोखरा एअरपोर्ट र जोमसोममा हेल्प डेस्क पनि स्थापना गरेका छौं ।’
कोरोना सतर्कताको अपनाउँनको लागि जनचेतनामुलक कार्यक्रमहरु पनि अघि बढाएको उनले बताए । ‘भिडभाड हुने कार्यक्रम नगर्न÷त्यस्ता किसिमका कार्यक्रममा नजान सर्वसाधारणलाई आग्रह पनि गरि रहेका छौं,’ उनले भने । प्रदेश सरकासंग पनि सहकार्य गरेर आफूहरु अघि बढ्ने उनले सुनाए ।
कोरोना भाइरसको प्रकोप विपतको रुपमा फैलिई रहेको हुनाले संवेदनशिल भएर आफुहरु लागि परेको उनको भनाई छ । मुख्यमन्त्री कार्यालयमा कोरोना भाइरसबारे जनचेतना जगाउँन छलफल पनि चलि रहेको उनले सुनाए ।
कोरोना भाइरसको कारण पोखरेली पर्यटन व्यवसायीहरु निकै मारमा परेका छन् । होटलको बुकिङ दर घटेर १० प्रतिशत भन्दा कम पुगेको पश्चिमाञ्चल होटल व्यवसायी संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए ।





