बागलुङ, २१ फागुन– विश्वभरी फैलिएको कोरोना भाईरसबाट नेपाल प्रभावित भएपनि भाईरसभन्दा धेरै चलेका हल्लाले सर्वसाधारण त्रसित भएको बागलुङका सरोकारवालाले औल्याएका छन् । बुधबार जिल्ला प्रशासन कार्यालयले कोरोनाको संक्रमणबाट जोगिन आवश्यक पूर्वतयारीका लागि डाँकेको सरोकारवालाको बैठकमा सहभागीले सर्वसाधारणमा रहेको त्रास ठुलो समस्या भएको बताए ।
नेपालमा शंका गरिएको भएपनि प्रमाणित हुनेगरी कसैमा पनि कोरोनाको संक्रमण नदेखिएको भन्दै त्रासको अवस्था नरहेको उनीहरुको भनाई थियो । ‘हामी अहिलेसम्म सुरक्षित छौं, आत्तिनु पर्ने कुनै कारण छैन्’ धौलागिरी अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. शैलेन्द्र बि. पोखरेलले भने ‘साबधानी अपनाउँ तर आतंकित बन्ने अवस्था छैन् ।’ उनले इबोला, स्वाईनफ्लु जस्ता भाईरसको सामना गरेको भन्दै कोरोना ति भाईरसभन्दा कमजोर भएकाले नआत्तिन सर्वसाधारणलाई आग्रह गरे ।
प्रमुख जिल्ला अधिकारी गौलोचन शैंजूको अध्यक्षतामा बसेको बैठकले बिद्यालयहरुलाई शिक्षा मन्त्रालयले तोकेकै समयमा परीक्षा सम्पन्न गर्न आग्रह गर्ने, होली लगायतका पर्वमा आयोजना हुने मेला र होलीका बेला रंग पानीको प्रयोगले संक्रमणलाई सघाउन सक्ने भन्दै त्यस्ता क्रियाकलाप नगर्न आग्रह गर्ने निर्णय गरेको छ । सभा सम्मेलनका लागि अनुमति पाएका संघ संस्थालाई स्थगन गर्न आग्रह गर्ने र नयाँ अनुमति नदिन÷नलिन आग्रह गर्ने निर्णय समेत बैठकले गरेको छ । भीड हुने खालका कुनैपनि कार्यक्रम नगर्न नगराउन र सहभागी नहुन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।





