पोखरा, २५ फागुन – कास्कीमा क्रियाशिल राजनीतिक दलहरुले कोरोना भाइरस (कोविड १९ ) को सन्त्रास बढेकाले दलहरु तथा संघ÷संस्थाका भेला, गोष्ठी र सम्मेलन स्थगित गर्न आग्रह गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीका अध्यक्ष कृष्ण थापा, नेपाली कांग्रेसका सभापति कृष्ण केसी, समाजवादीका अध्यक्ष गिरिप्रसाद गुरुङ, जनमोर्चाका अध्यक्ष शंकर बराल, राप्रपा कास्कीका कार्यवाहक अध्यक्ष गणेश ढकालद्धारा शनिबार जारी विज्ञप्तिमा जोखिमसँग सतर्कता अपनाउन एक आपसमा हात नमिलाउने, धेरै भीडभाडवाट टाढा रहन र विद्यार्थीको परीक्षाका विषयमा उपयुक्त समय मिलाएर व्यवस्था गर्न आग्रह गरिएको छ ।
नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले नोवेल कोरोना भाइरस (कोविड १९) बाट जनतामा त्रास फैलिएको, यसैका नाउँमा अनियन्त्रित मूल्यवृद्धि गर्ने, दैनिक उपभोग्य सामानहरुको अभाव सृजना गरी विचौलियाहरु सक्रिय भएको अवस्थाप्रति चासो देखाएको छ ।
बैठकले संक्रमणको रोकथामका लागि कास्कीमा रहेका स्वास्थ्य संस्थाहरुलाई सक्रिय गराई यसको नियन्त्रण, रोकथाम र जनचेतनाका लागि संघ, प्रदेश र स्थानीय तह ३ वटै तहका सरकारको ध्यानाकर्षण पनि गराइएको छ ।





