बागलुङ, २७ फागुन÷जिल्लाको जैमिनी नगरपालिकामा रहेको प्रसिद्ध हाँहीकोट धुरीको प्रचार प्रसारका लागि स्थानीय युवाको सक्रियता बढाएका छन् । पर्यटकीय सम्भावना रहेर पनि हाँडीकोट ओझेलमा परेको भन्दै युवाहरुले सक्रियता बढाएका हुन् । हाँडीकोटको बिकासका लागि स्थानीय, प्रदेश र केन्द्र सरकारको ध्यानाकर्षण गराउनका लागि बिबिध गतिविधि सञ्चालन गर्ने योजनामा रहेको हाँडिकोट सामुदायीक विकास केन्द्रका अध्यउक्ष नगेन्द्र श्रीसले बताए ।
जैमिनी नगरपालिका–१० राङखानीमा पर्ने धुरीको प्रचारका लागि केन्द्रले प्रथम हाँडीकोट महोत्सव सम्पन्न गरेको छ । फागुपूर्णिमाको अवसरमा केन्द्रले सामुन्द्रिक सतहदेखि १७ सय मिटरको उचाईमा पहिलोपटक महोत्सव गरेको हो । महोत्सवमा जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाका सर्बसाधारण लगायत जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिको समेत उल्लेख्य सहभागिता रहेको श्रीषले बताए ।
‘हामीले हाँडीकोटको प्रचार गर्ने र यसको महत्व दर्शाउने प्रयास गरेका छौं’ उनले भने ‘महोत्सवले सबैको चासो बढाएको छ ।’
महोत्सवको उद्घाटनका लागि हाँडीकोट पुगेका जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानाले हाँडीकोट जिल्लाकै पर्यटन क्षेत्रमा प्रभाव राख्न सक्ने क्षेत्र भएकाले यसको बिकासका लागि पहल गर्नुपर्ने बताए । घुम्नेहरुका लागि उत्कृष्ट गन्तव्य भएको भन्दै उनले हाँडीकोटको प्रकृति, धार्मिक पर्यटन र यहाँको जडिबुटीको पहिचान र प्रयोगमा जोड दिए ।
भुरे टाकुरे राजाका पाला बनेको दरबारका अवशेष हाँडीकोटमा छन् । यहाँ रहेको शिवको मन्दिर धार्मिक पर्यटकका लागि उपयुक्त गन्त्व्य हो । हाँडिकोटबाट सविकको पश्चिमाञ्चल विकास क्षेत्रका अधिकांश जिल्लाहरुका उच्च भू–भाग खुल्ला आँखाले देख्न सकिने भएकाले पर्यटकको गन्तव्य बनाउन सकिने जैमिनी नगरपालिकाका उप प्रमुख लिला राना बताउँछन् ।
यहाँबाट १६ भन्दा धेरै हिमश्रृंखला देख्न सकिन्छ । पर्यटकीय स्थल प्रवद्र्धन गर्नकै लागि आयोजना भएको पहिलो महोत्सवमा बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले आफ्नो तर्फबाट सक्ने सहयोग गर्ने बताए । बरेङ र जैमिनी दुवैको पर्यटकीय स्थलको रुपमा हाँडिकोटलाई प्रयोग गर्न सकिने उनको धारणा थियो ।
हाँडीकोटको बिकासका लागि जैमिनी नगरपालिकाले पछिल्ला दुई बर्षमा १६ लाख रुपैयाँ खर्चेको छ । नगरपालिकाको वडा नं. १० राङ्खानीबाट हलहलेसम्म ७ लाख ५० हजार खर्चेर सवारी चल्ने सडक निर्माण गरेको उपप्रमुख रानाले बताए । त्यस्तै व्यार्थलादेखि हाँडीकोटसम्म पदमार्ग निर्माणको काम समेत चलिरहेको छ । पछिल्ला दुई आर्थिक बर्षमा ८ लाख ५० हजार खर्चेर ५ सय मिटरभन्दा लामो पदमार्ग निर्माण भैसकेको उनले बताए । यो पदमार्ग पुरा गर्नका लागि हरेक बर्षको बजेटले सम्बोधन गर्ने उनको धारणा थियो । व्यार्थलाबाट झण्डै ३ किलोमिटर पैदलयात्रा गरेर हाँडीकोट पुग्न सकिन्छ । यहाँको बिकासका लागि स्थानीय सरकारसँग मिलेर योजनाबद्ध काम गरिने केन्द्रले जनाएको छ ।





