बागलुङ,२८ फागुन – बर्षौं बित्दा समेत यहाँका भुकम्प पीडितले राज्यले घोषणा गरेको पुनःनिर्माण अनुदान नपाएको गुनासो गरेका छन् । बागलुङमा सूचिकृत भएकामध्ये केहीले दोस्रो र तेस्रो किस्ताको अनुदान पाउन कठिन भएको बताए ।
एकमुष्ट तीन लाख अनुदान पाउनुपर्नेको संख्या जिल्लाको जैमिनी नगरपालिका १ र २ वडामा धेरै छ । त्यो बाहेकका ६८ बनिसकेका घरलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले दिने अनुदान पाउन कठिन भएको हो । विशेष गरेर प्राधिकरणले प्राबिधिक पठाउनुअघि बनेका घरले अनुदान पाएका छैनन् । सूचिकृत भएर पहिलो किस्ता पाएका केही र दोस्रो किस्तासमेत पाएका धेरैको तेस्रो किस्ताको रकम रोकिएको प्राधिकरण जिल्ला कार्यान्वयन इकाई बागलुङले जनाएको छ । अनुदान नपाउनेहरुले आँफुहरु मर्कामा परेको गुनासो गरेका छन् ।
‘पालमुनी कहिले पानी कहिले चिसो, केटाकेटी त जोगाउनै प¥यो भनेर ऋणधन गरी घर बनाईयो’ जैमिनी नगरपालिका–१ कुश्मीशेराका प्रेम लम्सालले भने ‘कसैको आशा थिएन्, सरकारले हेर्ला नि ! भन्ने त थियो ।’ सरकारले उनीहरुको घर निर्माण गर्ने बेलासम्म पुनःनिर्माण प्राधिकरण गठन गरिएको थियो तर काम सुरु भएको थिएन् । घर बनाएर सकेको भोलिपल्टै मजदुरी गरी ऋण तिर्ने काममा लागेका लम्साल र नेपाली जस्ता कयौंले अझै ऋणको भारी बोकिरहेका छन् ।
सरकारले नीजि निवास पुनःनिर्माणको लागि अनुदान दिने घोषणा ग¥यो । सोही अनुसार राष्ट्रिय पुनःनिर्माण प्राधिकरण गठन भएर काम चलिरहेको छ । तर, उनीहरु जस्तै कयौं पीडितहरुले भने राहतभन्दा धेरै पीडा भोग्दै आएका छन् । पहिले सरकारले खटाएका प्राबिधिकले चेकजाँच गरेर सिफारिस भएका घरलाई मात्रै अनुदान दिने भनिएकोले उनीहरुका घर सरकारले बनाएको कार्यबिधिमा परेका थिएनन् । वास्तविक भुकम्प पीडित भएकाले पीडितको सूचिमा सूचिकृत भएर पहिलो किस्ताको रकम मात्रै त्यस्ता घरले पाएका थिए ।
‘प्राबिधिकले सिफारिस गरेअनुसार घर बनाउनुपर्ने भन्ने कुरा आयो, हाम्रो घर त बनिसकेको थियो’ लम्सालले भने ‘पछि पहिलै बनेका घरले पनि एकमुष्ट पाउने भन्ने सूचना आएकाले प्रकृया पुरा गरेर गयौं तर रकम पाईएको छैन् ।’ नीजि आवास पुनःनिर्माणको अनुदानका लागि धाउँदा समयको बर्बादी मात्रै भएको लम्साल बताउँछन् । उनीहरुले अहिलेसम्म दोस्रो र तेस्रो किस्ताको रकम पाएका छैनन् । जिल्लाको जैमिनी नगरपालिकामा मात्रै ४२ परिवारले प्राबिधिक आउनु पूर्वनै घर बनाएको भनेर निवेदन दिएका छन् । तर एकमुष्ट आउने भनिएको रकम अहिलेसम्म आएको छैन् ।
राष्ट्रिय पुनःनिर्माण निर्देशक समितिको २०७५ साल माघ ३ गते बसेको बैठकले पहिले नै घर बनाएकाहरुलाई थप समस्यामा पारेको छ । निर्णयको १ नम्बर बुँदामा उल्लेख भएको व्यवस्थाअनुसार जिल्लाभरका ६८ पीडित परिवारलाई रकम उपलव्ध गराउन नसकिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाई बागलुङका स्रोतव्यक्ति बिक्रम सापकोटा बताउँछन् ।
‘प्राबिधिक पुग्नु पहिलै घर बनेका, पहिलो किस्ता लिएका वा नलिएका सूचिकृत लाभग्राहीलाई एकमुष्ट रकम दिन सकिने’ बैठकको १ नम्बर बुँदामा उल्लेख छ । उनका अनुसार, प्राबिधिक आउनुपूर्व घर बनाईसकेका ३ सय ७७ परिवारले एकमुष्ट ३ लाख भुक्तानी पाएका छन् । ‘निर्णय अनुसार कार्यबिधि बनेको छ, कार्यबिधिले रोकेको कुरा हामीले गर्न मिलेन’ सापकोटाले भने ‘बाँकी पीडितहरुको अवस्थाबारे रिपोटिङ भएको छ, माथिबाटै निर्णय होला ।’ अनुदानको भुक्तानी लिएकामध्ये अधिकांश प्राबिधिक पुग्नु अगावै घर बनाएका तर प्राबिधिककै सिफारिसमा दोस्रो किस्ताको रकम पाएका छन् ।
पीडितहरु प्राबिधिकको लापर्वाहीका कारण आँफुहरुले पाउने रकम रोकीएको बताउँछन् । ‘यदी प्रकृया नपुगेको हो भने किन दोस्रो किस्ता दिईयो, होईन भने तेस्रो किस्ताको रकम रोक्ने बिधि हो की व्यक्ति’ बागलुङ नगरपालिका–१४ नारायणस्थानका लाल प्रसाद शर्माले भने ‘प्राबिधिक र जनप्रतिनिधिले मनलाग्दी गरेका कारण हामीलाई थप पीडा आईलाग्यो ।’ आशा देखाएको अनुदान नपाउँदा आँफुहरुलाई थप पीडा भएको उनीहरुको गुनासो छ ।
यता जिल्ला कार्यान्वयन इकाईले भने प्रकृया पुरा भएका कसैको पनि अनुदान नरोकीएको जनाएको छ । ‘यस बर्ष बजेट नपुगेकाले प्रकृया पुगेकाको पनि रकम पठाउन सकिएको छैन्’ इकाईका सूचना अधिकारी चुर्ण बहादुर कार्कीले भने ‘दोस्रो किस्ता पाउनु भनेको प्राबिधिक हिसाबले पास भएरै पाउनु हो, भवनले के कसरी काम गरिरहेको छ थाहा भएन् ।’
चालु आर्थिक बर्षमा बागलुङमा नीजि निवास पुनःनिर्माणको लागि मात्रै १२ करोड रुपैयाँ बजेट थियो । जिल्लामा सूचिकृत भएका २ हजार ६ सय ३१ पीडित छन् । पीडितमध्ये २ हजार २ सय २६ जनाले पहिलो किस्ता, १ हजार ५ सय ९९ जनाले दोस्रो किस्ता र १ हजार ३ सय २९ जनाले तेस्रो किस्ताको रकम पाएका छन् । पूर्णक्षति नभएर प्रवलिकरण गर्नुपर्ने १ सय ६१ परिवारमध्ये हालसम्म ८७ परिवारले सम्झौता गरेर पहिलो किस्ता लगिसकेको कार्कीले बताए । २ जनाले दोस्रो किस्ताको रकम समेत पाएका छन् ।





