बागलुङ, ३० फागुन–भ्रमणका लागि बागलुङ आएको अन्तराष्ट्रिय शाकाहारी समुह ‘भेगन’ले धौलागिरी अञ्चल अस्पतालमा उपकरण सहयोग गरेको छ । बिरामीको धड्कन जाँच गर्ने मेसिन ‘स्थेषकोप’ तीन थान र बच्चाहरुको चेकजाँचका लागि प्रयोग हुने ‘डप्लर’ मेसिन दुईथान सहयोग गरेको हो ।
अस्पतालमा कार्यरत चिकित्सकहरुले माग गरेकै आधारामा आँफुहरुले सामग्री सहयोग गरेको भेगन समुहकी सदस्य सोफना युसीले बताईन् । उनीहरुले थप आवश्यक सामग्रीको समेत प्रबन्ध गरिदिने बचन दिएका छन् । ‘घुम्न आएकाहरुले हामीलाई सहयोग गरे, उनीहरुले दिएका समग्री बिरामीको चेकजाँचमा चिकित्सकहरुका सहारा बन्नेछन्’ अस्पताल व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले भने ‘सामग्रीभन्दा ठुलो कुरा उहाँहरुको इच्छाशक्ति हो ।’
शुक्रबार अस्पताल परिसरमा आयोजना गरिएको एक कार्यक्रममा भेगन समुहका तीन सदस्यले अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. शैलेन्द्र बि. पोखरेललाई हस्तान्तरण गरेका थिए । उक्त समुह बागलुङको भकुण्डे भ्रमणका लागि यहाँ आएको हो ।





