बागलुङ,४ चैत – बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिमा व्यवस्था भएका सूचकहरु पुरा गर्दै गलकोट नगरपालिका बालमैत्री नगर घोषणाको चरणमा प्रवेश गरेको छ । चालु आ.व.मा बालमैत्री नगर घोषणा कार्यक्रमलाई प्राथमिकतामा राखेको नगरपालिकाले चैत महिनाभित्रै गलकोटलाई पहिलो बालमैत्री नगर घोषणा गर्दैछ ।
‘तोकिएका सूचकहरु पुरा गर्न गरिएको मेहनत सफल हुँदैछ’ नगर प्रमुख भरत शर्मा गैरेले भने ‘उपयुक्त समय तोकेर बालमैत्री नगर घोषणा हुन्छ ।’ भौतिक बिकासका काममा मात्रै ध्यान दिने परिपाटीको अन्त्य गर्दै मानविय बिकासका सूचकहरु पुरा गर्न नगरपालिका लागिरहेको उनले बताए ।
‘बालबालिकाका हकअधिकारको संरक्षण गर्दै सभ्य नागरिक बनाउन नगर प्रतिबद्ध छ’ उनले भने ‘मानव तथा सामाजिक बिकासमा जिल्लाकै नमुना भएर देखाउने धुनमा छौं ।’ बालमैत्री नगर बनाउन बालबालिकाका अधिकारका अलवा सामाजिक समस्या र तिनको समाधानमा समेत नगरले कार्ययोजना बनाएर काम गरिरहेको उनले बताए ।
बालमैत्री नगर घोषणाले सामाजिक बिकृतिको न्यूनिकरणमा समेत सहयोग पुग्ने अपेक्षा नगरपालिकाले राखेको छ । ‘हामीले तयार गरेको सामाजिक बिकासको योजनाले हरेक क्षेत्रलाई सुधार गर्छ’ प्रमुख प्रसाशकीय अधिकृत शिशिर पौडेलले भने ‘कयौं चुनौतीका बाबजुद हामी सफलताको बिन्दुमा छौं ।’ नगरपालिकाले चुनौतीपूर्ण सूचक तथा मापदण्ड पूरा गर्दै बालबालिकाको अधिकारलाई स्थानीय नीति, नियम, कार्यक्रम र बजेटमा समावेश गर्ने जनाएको छ ।
अहिले प्रत्येक वडामा अध्यक्षको नेतृत्वमा समिति गठन गरेर रणनीतिमा ब्यबस्था भएका सूचकहरुको अवस्थाबारे जानकारी संकलन गर्ने काम सकिएको छ । वडा तहबाट आएको प्रतिवेदनको आधारमा पुरा नभएका सूचकहरु पुरा गर्न नगरपालिका लागिरहेको योजना शाखाका अधिकृत राजन कंडेलले जानकारी दिए ।
बालबालिकाको शिक्षा, स्वास्थ्य, पुर्णखोप, स्तनपान, पोषण, सामाजिक क्रियाकलापमा सहभागिता, बाल श्रमको अन्त्य लगाएत सूचकहरु अनिवार्य पुरा गर्नुपर्ने व्यवस्था छ । गलकोट नगरपालिकाले नगर प्रमुख शिशु तथा मातृ स्वास्थ्य तथा पोषण कार्यक्रम, बाल विकास केन्द्रको स्थापना लगायत बालबालिका सम्बन्धि विभिन्न कार्यक्रम नीति तथा कार्यक्रममा समाबेश गरि सञ्चालन गरिरहेको उनले बताए ।
बालमैत्री नगर घोषणाका लागि सवै जनप्रतिनिधि, कर्मचारी, शैक्षिक संस्था, प्रहरी, बालक्लब, नागरिक समाज, सञ्चारकर्मी लगायतका प्रतिनिधिले सामुहिक प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् । बालमैत्री नगर घोषणा र दिगोपनका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सक्रिय सहभागीता जनाउँदै बालबालिकालाई केन्द्रमा राखेर कार्य गर्ने प्रतिबद्धतामा उल्लेख छ ।





