बागलुङ,६ चैत – नेपालमा कोरोना भाईरस (कोभीड–१९) को संक्रमण भित्रिन नदिन यहाँका युवाहरुले सचेतना अभियान थालेका छन् । अधिकांश युवाहरुको सहभागिता रहेको ‘हाम्रो संसार’ नामक संस्थाको सकृयतामा बागलुङका बिभिन्न स्थानमा सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको हो ।
जिल्ला सदरमुकाम बागलुङ बजार, जैमिनी नगरपालिकाको केन्द्र कुश्मीशेरा बजार, गल्कोट नगरपालिकाको हटिया बजार, ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजार लगायतका क्षेत्रमा युवाहरुले कोरोना सचेतना सामग्रीहरु वितरण तथा पर्खालमा टाँस्ने अभियान चलाएका हुन् । उनीहरुले बजारका विभिन्न चोक, सार्वजनिक स्थल, सरकारी कार्यालय, सवारी साधन, संघसंस्था तथा शैक्षिक संस्थाहरुमा कोरोना भाइरस सम्बन्धि सचेतनामुलक पोष्टर र स्टिकर टास्नुका साथै घरदैलो सचेतना अभियान कार्यक्रम सम्पन्न गरेको अभियान्ता नवराज पौडेलले बताए । उनीहरुले कोरोना भाइरसको जानकारीकासाथै यसबाट बच्ने उपाय र सावधानीका विधि समेटिएका सामग्री सडकका चोक, घर र व्यक्ति समक्ष पुगि वितरण गरिएको हाम्रो संसारका अध्यक्ष समेत रहेका अभियान्ता पौडेलले बताए चैत ३ गतेदेखि संचालित कार्यक्रम जिल्लाका दशवटै स्थानीय तहका मुख्य बजार क्षेत्र र घना बस्ती रहेको ठाउँमा सञ्चालन भैरहेको उनले बताए । यो कार्यक्रम पोखरा, चितवन र नवलपुरमा रहेको शाखाले पनि सन्चालन गर्ने संस्थाका सचिव सन्तोष सापकोटाले जानकारी दिए । उक्त कार्यक्रम हाम्रो संसारका संस्थापक सदस्य तथा केन्द्रिय सदस्य कृष्ण सापकोटाले संयोजन गरेका थिए । उनीहरुको कार्यक्रमलाई ट्राफिक प्रहरीले सघाएको थियो ।





