बागलुङ, १२ चैत – संसारभरको संक्रमणपछि नेपालमा पनि कोरोना देखिन थालेपछि देश लक डाउन छ । यो समयमा सरकारी कार्यालय देखि सार्वजनिक महत्वका सबै संघसंस्थाले काम छाडेका छन् । सबैलाई घरघरमा बसेर सुरक्षित भएर बस्न बनिएको छ । यसको आर्थिक सामाजिक क्षेत्रमा असर त पर्नेनै भयो । तर यो असर सँगै सुरक्षाको जिम्मा पहिलो हो । त्यसैले यो बर्षको चैतेदशैको पहिलो दिन बागलुङ सुनसान छ । यो समस्या नआएको भए आजदेखि कालीका मन्दिरमा औपचारिक रुपमा चैत्राष्ठमी मेलाको थालनी हुन्थ्यो । कालीका भगवतीको पूजाका लागि सयौं मानिस आउँथे । बजारमा चहलपहल हुन्थ्यो ।
बिशेषगरी बागलुङको गाउँगाउँमा बस्नेले बनाउने हस्तकलाको सामानहरु बेच्ने आर्कषक गन्तव्यनै चैतेदशै मेला हुन्थ्यो । बजारका सबै होटल खचाखच हुन्थे । ग्रामीण क्षेत्रका किसान र घरेलु उद्यमीले तयार पारेका सामानहरुले राम्रो बजार पाउने गथ्र्यो । सामान्यतया चैत शुक्ल प्रतिपदाबाट कालीका भगवतीको पूजा सुरु भएपछि छिमेकी जिल्लाबाट पनि पूजागर्नेहरु आउने गर्थे । कालीका भगवती गुठी व्यवस्थापन समितिले बिज्ञप्ती प्रकाशित गरेर यो बर्ष मेला नगर्ने भनिसकेको छ । कोरोना प्रभावले लकडाउन समेत भएकोले यतिबेला आम भक्तजनलाई घरमै बसेर भगवतीको पूजा गर्न पनि आग्रह गरिएको समितिका अध्यक्ष राजु खड्काले बताए । जानकारहरुका अनुसार कम्तिमा ५ सय बर्ष अघिदेखि कालीका मन्दिरमा मेला र भब्य पूजा हुने गरेको थियो ।
गुठीले आम नागरिकलाई घरमै बसेर घरघरमै पूजा गर्न भनेको थियो । मन्दिरका पूजारी र समितिका पदाधिकारीले मन्दिरमा पुगेर औपचारिक पूजा मात्र गरेको जनाइएको छ । चाहेर पनि मन्दिरमा आउ भन्न नसकेको उनले बताए । किंवदन्ती अनुसार पर्वतका राजा प्रतापी नारायण मल्लले पाल्पाका राजा मणी मुकुन्द सेनकी राजकुमारी विश्रवादेवी स“ग विसं १५९१ मा विवाह गर्दा ल्याएको दाइजो स्वरुप कालीका मुर्ति स्थापना गरेपछि कालीका भगवती मन्दिरमा पूजा सुरु भएको थियो । त्यसपछि यहा“ मन्दिर स्थापना गरेर पूजा गर्न थालिएको बताइएको छ । बागलुङका पुवार खड्काहरुले मन्दिर व्यवस्थापन समितिमा बसेर काम गर्दै आउका छन् । समितिको अन्य सदस्यमा भने सबै जातका मानिस बसेका छन् । तत्कालिन पश्चिमाञ्चल र हालको गण्डकी प्रदेशमै बागलुङ कालीका मन्दिरमा लाग्ने चैत्राष्ठमी मेला ठूलो मानिन्छ ।
गाउँका किसानले बनाउने डोको, डाला जस्ता हस्तकलाका सामान किन्न पाउने भएर पनि छिमेकी जिल्लाका मानिस समेत चैतेदशै पारेर बागलुङ आउने गर्छन् । कालीका भगतवीको पूजा र दर्शनपछि उनीहरुले बेच्ने कुटो कोदालो, नाङलो, काठका ठेकी समेत बेचिन्थ्यो । कालीका मन्दिरकै क्षेत्रमा आयोजना गरिएपनि अन्य मेला महोत्सव जस्तो टिकट काट्ने व्यवथा भने गरिंदैन । स्वतस्फूर्त लाग्ने मेलामा गुठीले सामान्य व्यवस्थापन गरिदिने चलन थियो । मेलाकै अबसर पारेर भलिबल प्रतियोगिता र अन्य रमाइलो मेला पनि चल्ने गरेका थिए । बिशेषगरी झाम्रे जस्ता लोक गीत र दोहोरी गाउने मेलाको रुपमापनि चैतेदशैलाई लिइन्छ ।





