बागलुङ, १२ चैत – बेल्जियमबाट कतारहुँदै बागलुङ आएकी बगलुङ नगरपालिकाकी एक महिलालाई कोरोना संक्रमणको आशंकामा स्वाब परीक्षणका लागि पोखरा पठाईएको छ । बुधबार धौलागिरी अञ्चल अस्पताल र स्वास्थ्य कार्यालय बागलुङका चिकित्सकहरुको समुहले उनको घाँटीको स्वाब निकालेर कोरोना परीक्षणको लागि प्रादेशिक प्रयोगशाला पोखरामा पठाएको हो । उक्त नमुना प्रादेशिक प्रयोगशालाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा पठाउने छ । बिहिबारसम्म उक्त नमुना परीक्षणका लागि सम्बन्धित ठाउँमा पुग्ने स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए ।
केही दिनदेखि ज्वरो आउने, रुघाखोकी लगायतका समस्याबाट ग्रसित महिलालाई संक्रमण भएनभएको पुष्टि गर्न नमुना संकलन गरेर परीक्षणका लागि पठाईएको हो । मंगलबार नै बिरामीले परीक्षणका लागि नमुना संकलन गरिदिन परिवारले आग्रह गरेको भए पनि स्वास्थ्यकर्मी तथा बिरामीले प्रयोग गर्ने पर्सनल प्रोटेक्टीभ इक्युपमेण्ट (पिपिई) को अभाव हुँदा संकलन प्रभावित भएको थियो ।
पिपिईको अभावका कारण गत चैत ५ गते बेल्जियमबाट कतारहुँदै नेपाल आएकी उनको नमुना संकलन गर्न सकिएको थिएन । मंगलबार बेलुका स्वास्थ्य मन्त्रालयले उपलव्ध गराएका दुई र सामाजिक बिकास मन्त्रालयले उपलव्ध गराएका तीन वटा पिपिई प्राप्त भएपछि बुधबार उनको घाँटीको स्वाब निकालिएको हो । प्राप्त पाँचथान सुरक्षा कवच समेत पुरा नरहेकाले नेपाली सेनाको सहयोगमा चस्मा र जुत्ताको व्यवस्था गरेर स्वास्थ्यकर्मीको समुह उनको घरमै पुगेर नमुना संकलन गरेको हो । उनी काठमाण्डौमा कोरोना संक्रमणको पुष्टि भएकी यवतीसँगै कतार एयरवेजबाट बागलुङ आएकी थिईन् ।
पिपिई नलगाई बिरामीलाई आईसोलेसनसम्म ल्याउन नमिल्ने र स्वास्थ्यकर्मी समेत बिरामीको नजिक जान नमिल्ने अस्पतालका डा. पुजन बल्लले जानकारी दिए । पाँच थान पिपिई प्राप्त भएसँगै शंकास्पद थप बिरामी आएपनि नमुना संकलन गर्न सकिने उनले जानकारी दिए । जिल्लामा शंकास्पद बिरामी देखिन थालेपछि ३० थान सुरक्षा कवच तत्काल खरिद गर्ने तयारीमा रहेको अस्पतालले जनाएको छ ।





