पोखरा, १३ चैत – विश्वव्यापी रुपमा देखिएको कारोना भाइरस (कोभिड १९) संक्रमणको कारण देखिएको संकटले घरभाडामा रहेका व्यवसायीमा मर्र्का परेको भन्दै पोखरा १० का एक घरधनीले भाडा सहुलियत गर्ने बताएका छन् ।
हस्पिटल चोकमा रहेको उमासाई भवनका घरधनीले आफ्नो भवनमा रहेको ४ वटा सटर भाडामा सहुलियत प्रदान गर्ने बताएका हुन् । उक्त भवनमा हाल गुरुङ सिटी फार्मेसी, विमा फार्मेसी, गण्डकी परी फार्मेसी र रिदम फार्मेसी सञ्चालनमा रहेका छन् ।
चैत महिना शुरु सँगै कोरोना भाइरसले जनजीवनलाई प्रभावित बनाएपछि त्यसले पेशा व्यवसायमा पनि असर पारेको छ । तोकिएको समयमा तोकिएको भाडा दिन असहज भएको बेला घरधनीले हाल ५० प्रतिशत भाडा मिनाहा गरिदिएकोमा आफुहरुलाई राहत महसुस भएको फार्मेसी व्यवसायी राम पौडेलले बताए ।
औषधि व्यवसायी संघका जिल्ला महासचिव पूर्णकाजी बस्नेतले विश्वभर कोरोना भाइरसका कारण आर्थिक क्षेत्र अस्तव्यस्त भएको अवस्थामा व्यवसायीको समस्या बुझेर भाडा सहुलियत दिएकोमा उमासाई भवनका धरधनी धन्यवादको पात्र भएको बताए । उनले भने “अहिले व्यवसायिकता भन्दा पनि सामाजिक उत्तरदायित्व महत्वपूर्ण हो । घरधनीले व्यवसायी साथिहरुलाई दिएको प्रतिवद्धताले साथीहरुलाई राहत भएको छ ।” यस्ता कार्यको अनुशरण अरु घरधनीले गर्न आवश्यक रहेको उनको भनाइ छ ।





