पोखरा, १३ चैत– अन्नपूर्ण पदयात्रा मार्गमा रहेका पर्यटकहरुलाई स्वदेश फर्काउने पहल थालिएको छ । सम्बन्धित देशका दूतावासहरुले नै आफ्ना नागरिकबारे चासो राखेपछि स्थानीय प्रशासन र टे«किङ एजेन्सिज अफ नेपाल (टान) सँगको समन्वयमा उनीहरुलाई स्वदेश फर्काउन लागिएको हो ।
‘अहिले मुक्तिनाथबाट आउनेहरु विभिन्न देशका करिब ६० जना छन्, वरपर ३०÷३५ जना थिए, उनीहरुलाई मुस्ताङ झारेर स्वास्थ्य परीक्षणको सबै विधि अपनाएर जोमसोम वरपर भएकाहरुलाई पनि जम्मा गरेर २ वटा बसमा ल्याउन लागिएको छ’, टान पश्चिमाञ्चलका वरिष्ठ उपाध्यक्ष सुशील पौडेलले भने, ‘उनीहरुलाई सोझै काठमाण्डौ लैजाने हो ।’ उनका अनुसार कास्की जिल्लाको विभिन्न पदयात्रामा रहेकाहरुको भने तथ्यांक संकलन भइरहेको छ । अहिले घान्द्रकुमा १५ जनाजति विदेशी पर्यटक रहेको जानकारी आएको छ । तीमध्ये ४ जना जर्मन नागरिक रहेका छन् । जर्मन दूताबासले आफ्ना नागरिकहरुलाई जहाज चार्टर्ड गरेर जर्मन लैजाँदै छ । अहिले बिरेठाँटीमा पनि फ्रान्सेली र जर्मनहरु रहेका छन् ।
जिल्ला प्रशासनले सवारी पास नदिँदा उनीहरुलाई बिरेठाँटीबाट पनि कसरी ल्याउने भन्ने समस्या रहेको टान वरिष्ठ उपाध्यक्ष पौडेलले बताए । मुक्तिनाथबाट हिँडेकाहरु साँझसम्म पोखरा आउनेछन् । बसमा मुक्तिनाथबाट आएकाहरुको सामान पोखराकै होटलमा रहेको अवस्थामा उनीहरुलाई कसरी ‘लगेज’ लिने र कसरी लैजाने भन्नेबारे छलफल भइरहेको उनले बताए ।
अहिले अन्नपूर्ण क्षेत्रमा रहेकाहरुलाई भने त्यहाँको झिँनु भन्ने ठाउँमा जम्मा गरिएको छ । उनीहरुलाई अहिले झिँनुमा रोकिएको छ । अन्नपूर्ण बेसक्याम्पबाट अझै ८ जना विदेशीहरु तलतिर झर्दैछन् । उनीहरु झिँनु आएपछि बल्ल सबैलाई तल झारिनेछ ।
‘शुक्रबारसम्म यो क्षेत्रको पदयात्रामा रहेका सबै पोखरा आइपुग्छन्, अनि उनीहरुलाई कसरी लैजाने भन्ने निर्णय हुन्छ’, वरिष्ठ उपाध्यक्ष पौडेलले भने, ‘पदयात्रामा रहेका सबै नागरिकहरु आफ्नो दूतावासको सम्पर्कमा छन्, उनीहरुमध्ये केही यहाँ बस्न पनि चाहन्छन् । उनीहरुबारे के गर्ने भन्ने छलफल हुँदैछ ।’ अहिले पोखरा र अन्नपूर्ण क्षेत्रमा फ्रेन्स, जर्मन, बेल्जियम, कोरिययन लगायतका पर्यटक छन् ।
यता, नेपालस्थित कोरियन दूतावासका राजनीतिक सल्लाहकार अर्जुन राई पनि आफ्ना देशका नागरिकको जानकारी लिन पोखरामा छन् । उनले यही मार्च २० तारिखमा आफ्ना नागरिकलाई कोरियाले विमान चार्टर्ड गरि लैजाने भएकाले होटल तथा टे«किङ एजेन्सीहरुलाई कोरियन नागरिकको जानकारी दिन आग्रह गरेका छन् ।
यस्तै आग्रह फ्रान्सको दूतावासले पनि गरेको छ । पोखरामा बुधबारबाटै कुनै पनि विमान कम्पनीले उडान भरेका छैनन् । यहाँ रहेका पर्यटकहरुलाई काठमाण्डौ फर्काउन आ–आफ्ना दूताबासले विमान कम्पनीहरुसँग पनि समन्वय थालेका छन् ।





