बागलुङ, १३ चैत – लकडाउनको तेस्रो दिन बागलुङ बजारमा बस्ने सर्वसाधारणले उपभोग्य बस्तुको खोजी गर्न थालेका छन् । सञ्चित उपभोग्य बस्तु सकिएपछि खोजीका लागि सर्वसाधारण सडकमा निस्किन थालेका हुन् । लकडाउनले दैनिकी चलाउन समेत कठिन भएको गुनासो सामाजिक सञ्जाल बढेपछि उद्योग बाणिज्य संघ र स्थानीय प्रसाशनले सर्तसहित उपभोग्य बस्तुको खरिदका लागि सर्वसाधारणलाई आव्हान गरेको छ ।
प्रहरी, प्रशासन र उद्योग बाणिज्य संघका प्रतिनिधि समेतको सहभागितामा दैनिक उपभोग्य वस्तुको बिक्रीवितरण हुने पसलहरुमा सेतो घेरा लगाईएको छ । अत्यावश्यकीय पसलमा पनि दूरी कायम गरेर संक्रमणबाट सुरक्षित गर्नका लागि घेरा लगाईएको व्यवसायी बताउँछन् । उपभोग्य पसलमा साँझबिहान भीडभाड हुन थालेपछि उद्योग बाणिज्य संघले जिल्ला प्रहरी कार्यालयसँगको पहलमा ग्राहकको लाइन बस्ने स्थानमा रेखांकन गरिएको जनाएको छ । रेखांकनपछि पसलमा पनि भीड नहुने र कोरोनाको जोखिम रोकथाममा सहयोग पुग्ने संघका अध्यक्ष युवराज राजभण्डारीको भनाई छ । बुधबार मात्रै बागलुङका १० ठाउँमा सेतो घेरा बनाईएको थियो ।





